मेयरको आदेश कुर्दा करोडौँको काठ जलेर स्वाहा

रौतहट । जाडो मौसम सकिएसँगै तराईमा गर्मी सुरु भएको छ । प्रचण्ड घाम र पश्चिमी तातो हावाले वनमा रुख बिरुवाका सुकेको पातको चाङ लागेको छ । वनमा सुकेका पातले घाँसपात ढाकेपछि गोठालेहरूले वनमा आगो लगाइदिने गरेका छन् । वनमा नयाँ घाँस पलाओस् भनेर अनधिकृत रूपमा वनमा प्रवेश गर्ने गोठालाले आगो लगाउँदा बर्सेनि डढेलोले वन जंगल सखाप पर्ने गरेको छ ।

यति बेला बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरीलगायत जिल्लामा रहेको चुरे तथा वन क्षेत्रमा जताततै डढेलो लागेको देखिन्छ । तर, सम्बन्धित निकायले डढेलो नियन्त्रण गर्न हेलचेक्र्याइँ गर्दा वनमा डढेलोले ठूलो क्षति पु¥याइरहेको छ ।

समयमा डडेलो नियन्त्रण गर्न नसकिँदा रौतहटको चन्द्रपुर नगरपालिकास्थित वन क्षेत्रमा घाटगद्दी गरी राखिएको काठ सोमबार जलेको छ । पूर्वपश्चिम राजमार्गकै छेउमा घाटगद्दी गरिएको काठमा आगो लागेको खबर पाउने बित्तिकै डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्रकुमार मिश्रसहितको टोली घटनास्थलमा पुगेर आगलागी नियन्त्रणको प्रयास गरेका थिए ।

डडेलो नियन्त्रण बाहिर पुगेकाले निभाउनका लागि चन्द्रपुर नगरपालिकाको वारुणयन्त्रसँग आग्रह गरिएकोे डिभिजन अधिकृत मिश्राले जानकारी दिए । घाटगद्दीमा लागेको आगलागीको घटनाबारे इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस सन्तपुरलाई समेत जानकारी गराइएको उनले बताए ।

‘सशस्त्र प्रहरी सन्तपुरकै जिम्मामा रहेको चन्द्रपुर नगरपालिकाका वारुणयन्त्र बाहिर निकाल्न चन्द्रपुर नगरपालिकाका मेयरको आदेश चाहिने रहेछ’, डिभिजिनल अधिकृत मिश्राले भने, ‘मेयरको आदेश कुर्दाकुर्दै सशस्त्र प्रहरीले वारुणयन्त्र निकाल्न करिब दुई घण्टा ढिलो ग¥यो ।’ उता वारुणयन्त्र मेयरको आदेश कुरेर बस्यो, यता काठ जलेर नष्ट भयो ।

समयमा नगरपालिकाको दमकल आगलागी नियन्त्रण गर्न घटनास्थलमा नपुग्दा हेर्दाहेर्दै घाटगद्दीको अधिकांश काठ जलेर नष्ट भएकोे उनले सुनाए । ‘काठमा लागेको आगो बल्दै गरेको दृश्य आफूहरूले टुलुटुलु हेर्न वाध्य भयौँ’, उनले भने, ‘तर तातो हावाले फैलाएको आगोले एकैछिनमा घाटगद्दीको अधिकांश काठ खरानी भयो हामीले केही गर्न सकेनौँ’, उनले भने ।

चन्द्रपुर नगरपालिकाका मेयर संजय काफ्लेसँग प्रतिक्रिया लिन उनको मोबाइलमा पटकपटक फोन सम्पर्क गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् । चन्द्रपुर नगरपालिका, गौर नगरपालिका, हरिअवन नगरपालिका, कोल्हवी नगरपालिका र निजगढ नगरपालिकाबाट आएको वारुणयन्त्रको सहायतामा आगलागी नियन्त्रणमा लिएको लिइयो ।

प्रतिक्रिया