आफैँले उपलब्धि मानेको संविधानलाई प्रचण्डले भने अपूरो

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मङ्गलबार समाजवादी मोर्चा नेपालद्वारा आयोजित ‘नेपाली विशेषताको समाजवाद’ विषयक बृहत् अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै । तस्बिरः प्रदिपराज वन्त / रासस

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०७२ सालमा बनेको संविधान सम्झौताको दस्तावेज रहेको भन्दै पूर्ण नरहेको बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले अहिलेको संविधान सम्झौताकै दस्ताबेज भएकाले पूर्ण नरहेको बताएका हुन् ।
‘हामीले बनाएको संविधान पूर्ण छ भनेर हामीले कहिल्यै पनि भनेका छैनौँ,’ उनले भने, ‘यो सम्झौताकै दस्ताबेज हो । त्यहाँ थुप्रै पुँजीवादका विशेषता पनि छन् ।’

आफ्नै नेतृत्वमा भएको १० बर्से सशस्त्र युद्धको मुख्य उपलब्धि नै गणतन्त्रको स्थापना र संविधानसभाबाट संविधान बनेकोलाई बताउँदै आएका प्रचण्डले मंगलबार भने यो संविधान पूर्ण नरहेको बताएका हुन् । यद्यपि हालको संविधानलाई प्रगतिशील कार्यान्वयन गर्न आपसी एकतालाई सुदृढ गर्दै अघि बढ्नुपर्ने धारणा राखे ।

समाजवादी धार र प्रवृत्तिका पार्टीहरूले जित्दै जाँदा संविधान समाजवादतिर अझ अग्रसर हुँदै जाने भन्दै उनले पुँजीवादी र प्रतिक्रियावादीहरूले जित्दै गए संविधान अझ प्रतिगामी हुँदै जाने खतरा रहेको बताए ।

यस्तै, प्रधानमन्त्री प्रचण्डले जनताको आकांक्षालाई सम्बोधन गर्ने लक्ष्यलाई सम्बोधन गर्ने उद्देश्यसहित सुशासन, सामाजिक न्याय र समृद्धिलाई वर्तमान सरकारले विशेष ध्यान दिएको बताए । उनले पछिल्लो पटक भएको समीकरण सत्ताका लागि नभएको भन्दै समाजवादको आधार तयार पार्ने उद्देश्य र नेपालको राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्नुपर्ने आवश्यकताअनुसार नयाँ समीकरण बनाएको बताए ।

‘जोखिम मोलेर नै आफूले देशभक्त र वामपन्थी शक्तिलाई एक ठाउँमा ल्याउने जमर्को गरेको हो,’ उनले भने । समाजवादको जन्म कहाँबाट हुन्छ ? भन्ने तर्क आउने गरेको उल्लेख गर्दै उनले भने, ‘अन्ततः समाजवाद जन्मने भनेको सडकबाटै हो, किनकि जनता सडकमा हुन्छन् । पहिलो प्राथमिकता सडकले नै पाउनुपर्छ । समाजवाद जन्माउने जनताले हो ।’
देशभक्त, प्रगतिशील र समाजवादी शक्तिबीच एकता र सहकार्यको आवश्यकता औँल्याउँदै उनले थुप्रै चुनौतीका बीचबाट सुशासन, सामाजिक न्याय र समृद्धिलाई अगाडि बढाइएको उनको भनाइ थियो ।

जनताको आकांक्षा सम्बोधन गर्न पुरानो गठबन्धनबाट सम्भव नदेखेपछि गठबन्धन फेर्नुपरेको उनले बताए । भ्रष्टाचारविरुद्ध अभियान, सरकारी सम्पत्ति हडप्ने र तस्करीविरुद्ध सचेत अभियान चलाइएको भन्दै प्रचण्डले भने, ‘नेपाल यस्तो परिस्थितिमा छ, यहाँका समाजवादी एवं देशभक्त र राष्ट्रवादी एक ठाउँमा नभई समाजवाद अगाडि नबढ्ने देखेर मैले केही जोखिम र चुनौती मोलेरै भए पनि देशभक्त वामपन्थीहरूलाई एकतामा ल्याउने जमर्को गरेको हुँ ।’

पार्टीहरू जनतासँग जोडिए मात्रै शक्तिशाली हुने उल्लेख गर्दै उनले समाजवादको तयारीका लागि सरकार, सदन र सडकलाई अधिकतम उपयोग गर्नुपर्ने तर्क राखे ।

प्रतिक्रिया