प्रसिद्ध ईशनाथ महादेव मन्दिरको विकास ओझेलमा

राकेश यादव

रौतहट जिल्लाको औरैयामा रहेको हजारौँ वर्ष पहिला स्थापना भएको ईशनाथ महादेव मन्दिर संरक्षणको पर्खाइमा रहेका छन् । बिक्रम सम्वत १११४ मा स्थापना भएको सो महादेव मन्दिरको विकास गर्भमै रहेको हो ।

जिल्लाको प्रसिद्ध धार्मिक मन्दिरहरूमा पुरानो शिव मन्दिरको रूपमा चिनिएका ईशनाथ महादेवमा मन्दिरको उचित संरक्षण नहुँदा मन्दिरको अस्तित्व नै संकटमा देखिएको छ ।

महादेव मन्दिर स्थापना भएको बेला ईशनाथ महादेव मठ राज गुठी औरैया नामकरण भएको थियो । मठको नवाँै महन्थको रूपमा रहेका श्री हुलासनाथ गिरीको पालामा गुठी सस्थानमा रहेको २०१० सालको औरैया मठ गुठी तरफको लगतबाट औरैया मौजामा साविक जग्गा १ हजार १४ बिघा ३ कट्ठा ३ धुर कायम भएको इतिहास रहेको छ ।

रौतहट, बारा, सर्लाही जिल्लामै सबैभन्दा बढी अचल सम्पति भएको मठको रूपमा परिचित रहेका ईशनाथ महादेव मन्दिरको अहिलेको अवस्था दयनीय भएको छ ।

मठको तत्कालीन पुजारी काठमाडांै निवासी काशीनाथ दीक्षित रहेको गाउँलेहरू बताउँछन् । पुजारी दीक्षितको छोरा नरेन्द्रमणि दीक्षितले मठको नाममा रहेको १ हजार १४ बिघा जग्गा कीर्ते कागजको आधारमा अंशबन्डा गराएर विभिन्न व्यक्तिको नाममा बिक्री वितरण गरेपछि अहिले मन्दिरको हकभोगमा मठ स्थापना भएको ६ बिघा जग्गा मात्र रहेको पुजारी श्रीभगवान दासले बताए ।

रौतहट जिल्लाको सदरमुकाम गौर देखिपछि औरैयामा स्थापित रहेको महादेव मन्दिरमा पूजा गर्ने महन्थ, पुजारीलाई बस्ने घरको आभावसमेत रहेको छ ।

तत्कालीन पुजारी काशीनाथ दीक्षितको छोरा नरेन्द्रमणि दीक्षित, प्रदीपमणि दीक्षित र मृगेन्द्रमणि दीक्षितले मठको जग्गा निजी नाममा गराएर बिक्री वितरण गर्न लागेपछि ईशनाथ महादेव मठ व्यवस्थापन समितिले मठको नाममा रहेको जग्गा मठकै कायम हुनु पर्ने भनी २०७४ जेठ १ गतेमा गुठी सस्थान केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा निवेदन पत्र दिएको व्यवस्थापन समितिका कोषाध्यक्ष पपुकुमार गिरीले जानकारी दिएका छन् ।

मुद्दा दायर भएपछि बिक्री गरेको जग्गाको लिखत बदर हुने फैसला भई हाल मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको गिरीले बताए ।

१११४ सालमा स्थापना भएको महादेव मन्दिर जीर्ण हुँदा २०२६ सालमा पुनर्निर्माण गरिएको थियो । पुनर्निर्माण गरिए पनि पर्यटन भित्र्याउने प्रयास गरिएन । चर्चित महादेव मन्दिरको रूपमा रहेका ईशनाथ महादेवको नाउमा ईशनाथ नगरपालिका बनाइएको छ ।

पहिलो स्थानीय तहको निर्वाचनमा नगरपालिकाको प्रमुखमा सन्तोष मेहता निर्वाचित हुँदा सौन्दर्यीकरण गर्ने प्रयास गरेका थिए । मठको नाममा रहेको जग्गामा खनिएको पोखरीमा सूर्य मन्दिर निर्माण गरिएको छ ।

करिब ९६६ वर्षअघि निर्माण गरिएको ईशनाथ महादेव मन्दिरको भौतिक संरचना फेरिएको छैन । पूर्व प्रदेश सांसद नागेन्द्र प्रसाद सिन्हाले मन्दिरको कम्पाउन्डवाल निर्माण गराएको तथा नयाँ निर्माण भएको मन्दिरको रंगरोगन अहिलेको नगरप्रमुखले गराएको बुझिएको छ ।

महादेव मन्दिर परिसरमा संघीय सरकारको सहरी विकास मन्त्रालयको ६ करोडको लागतमा धर्मशालाको निर्माण कार्य जारी रहेको छ । पुजारीको बास, पूजाआजा गर्ने ठाउँ तथा बाहिरबाट दर्शन गर्न आउने भक्तजनका लागि उचित बसोबासको व्यवस्थापन गर्नुपर्ने जरुरी रहेको छ । जिल्लामा रहेको शिवनगर महादेव मन्दिर, गौरमा रहेको बानेश्वर महादेवस्थान, पतौरामा रहेको महादेवस्थानमा हजाराँैको संख्यामा भक्तजनहरू जाने गरेको देखिन्छ ।

प्रचारप्रसार नभएको कारण ओझेलमा परेका ईशनाथ महादेव मन्दिरको विकास आकर्षक रूपमा गर्न स्थानीय तहले ध्यान दिनै पर्ने जरुरी रहेको छ ।

पूर्वमा बंजरहा, पच्छिममा मठिया, उत्तरमा डुमरिया र दक्षिणमा भारत विहार पूर्वी चम्पारण चारकिल्ला विचमा अवस्थित रहेका ईशनाथ महादेव मन्दिरको पहिलो महन्थ मंसानाथ गिरी रहेका थिए । अहिलेसम्म १९आँै महन्थको रूपमा माधव गिरी रहेको अभिलेख छ ।

दोस्रो महन्थ राजेन्द्रनाथ गिरी, तेस्रो यमुनानाथ गिरी, मृको ईश्वर गिरी, कल्याण गिरी, मंगल गिरी, भवानी गिरी, शिवनाथ गिरी, हुलासनाथ गिरी, लक्ष्मण गिरी, अतक गिरी, विश्वनाथ गिरी, कृष्ण गिरी, नारायण गिरी, अमर गिरी, उप महन्थ ईश्वर गिरी, लक्ष्मण गिरी, महावीर गिरी, लक्ष्मीनारायण गिरी र माधव गिरी मूल महन्थको रूपमा मठको रेखदेख गरिसकेको अभिलेख रहेको छ ।

गुठी संस्थानले तत्कालको लागि राहुल झालाई मन्दिरको रेखदेख पूजापाठ गर्नका लागि महन्थको जिम्मेवारी दिइएको ईशनाथ महादेव मन्दिरको विकासमा स्थानीय तहले पर्यटनको रूपमा संरक्षण गर्ने कार्यमा सक्रियता नदेखाएको गुनासो स्थानीयहरूको रहेको छ ।

वर्षाै पुरानो महादेव मन्दिरको रूपमा रहेका ईशनाथ महादेव मठको चौतर्फी विकासको लागि लगानी गर्नुपर्ने जरुरी रहेको छ । स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले पर्यटन विकासका लागि धार्मिक स्थलको मर्मतसंभार गर्न लगानी गर्नुपर्ने नीति लिए पनि सोतर्फ जिम्मेवार व्यक्तिले कुनै चासो देखाउन नसकी वितरणमुखी कार्यक्रममा बढी केन्द्रित भएकोले रौतहटमा चर्चित र इतिहास बोकेका ठाउँहरू अहिलेसम्म ओझेलमा रहेको छ ।

प्रतिक्रिया