एसइईको दोस्रो दिन पनि सर्लाहीमा दुई जना निरीक्षकलाई जिम्मेवारीबाट हटाइयो

लालबन्दी । बिहीबारबाट सुरु माध्यमिक शिक्षा परीक्षा (एसइई) को दोस्रो दिन पनि सर्लाहीमा दुई जना निरीक्षकलाई जिम्मेवारीबाट हटाइएको छ ।

अनुगमनका क्रममा नेपाली विषयको परीक्षा भइरहेको कक्षाकोठा भित्र परीक्षाको मर्यादा विपरीत गतिविधि भएको पाइएपछि सुनिलकुमार दत्त र रामदेव भारतीलाई जिम्मेवारीबाट हटाइएको हो ।

दत्त चक्र जनता शहीद गंगा माध्यमिक विद्यालय बरहथवा– ५ को परीक्षा केन्द्रमा खटिएका थिए भने भारती सरस्वती माध्यमिक विद्यालय बरहथवा– ३ हजरिया परीक्षा केन्द्रमा निरीक्षकको जिम्मेवारीमा रहेका थिए ।

एसइईमा दोस्रो दिन सर्लाहीका ३८ वटा परीक्षा केन्द्रबाट १० हजार ७५९ परीक्षार्थीले परिक्षा दिए । जिल्लामा पहिलो दिन बिहीबार अनिवार्य अङ्ग्रेजी विषयको परीक्षामा बलरा र गोडैता नगरपालिकाको ६ वटा परीक्षा केन्द्रबाट अमर्यादित कृयाकलाप गर्ने १० जना निरीक्षकलाई जिम्मेवारीबाट हटाइएको थियो ।

सर्लाहीमा परीक्षालाई मर्यादित बनाउन प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला, सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे र शिक्षा विकास तथा समन्वय इकाईका निमित्त प्रमुख रामबृक्ष महतोको नेतृत्वमा ३ ओटा टोली बनाएर परिचालित गरिएको छ ।

प्रतिक्रिया