मुलुक अर्थतन्त्र सुधारको बाटोमा लागिसक्यो : प्रधानमन्त्री दाहाल

हेटौँडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुक अर्थतन्त्र सुधारको बाटोमा लागेको बताएका छन् । शुक्रबारदेखि हेटौँडामा सुरु भएको निर्माण व्यवसायी महासंघको २५औँ साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले मुलुकको अर्थतन्त्र संकटमा नरहेको बताएका हुन् ।

प्रधानमन्त्री दाहालले अघिल्ला अर्थमन्त्रीकै कारण कतिपय समस्या निम्तिएकोतर्फ संकेत गर्दै नयाँ सत्ता समीकरणसँगै अर्थतन्त्रले गति लिएको उल्लेख गरे । उनले भने, ‘प्रधानमन्त्री एकातिर कुद्ने, अर्थमन्त्री अर्कोतिर कुद्न चाहने हुँदा निकै जटिलता थियो, अब नयाँ अर्थमन्त्री आइसकेपछि म तपाईँहलाई विश्वास दिलाउन चाहन्छु, निर्माण व्यवसायीको बक्यौता रहन दिइने छैन ।’

पूर्वाधार विकासका दृष्टिले कतिपय ऐनकानून बाधक देखिएको भन्दै प्रधानमन्त्री प्रचण्डले पर्यावरणको रक्षाप्रति सचेत रहँदै प्रचलित कानुनहरुलाई विकासमैत्री बनाउनका लागि प्रक्रिया सुरु भइसकेको बताए । प्रधानमन्त्री प्रचण्डले कतिपय निर्माण व्यवसायीहरुले बढी लाभका लागि इमानदारीपूर्वक काम नगरेकाले आम जनताले निर्माण व्यवसायीलाई हेर्ने दृष्टिकोण गलत हुन गएको धारणा राखे ।

सम्झौता बमोजिम समयमै गुणस्तरीय काम नहुँदा समस्या सिर्जना भएकाले निर्माण व्यवसायीहलाई आफ्नो कामप्रति जिम्मेवार बनाउन महासंघले नेतृत्वदायी भूमिका खेल्ने विश्वास प्रधानमन्त्रीले व्यक्त गरेका छन् । आगामी वर्षको लागि नीति कार्यक्रम तथा बजेट निर्माणको पूर्वसन्ध्यामा हुँदै गरेको साधारणसभा अर्थपूर्ण रहेको उल्लेख गर्दै उनले यसको प्रत्यक्ष प्रभाव आगामी बजेट महसुस गर्न सकिने समेत बताए ।

प्रतिक्रिया