सप्तरीका प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा टोलीद्वारा एसइई परीक्षा अनुगमन

सप्तरी । सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाको नेतृत्वमा एसइई परीक्षालाई मर्यादित एवं अनुशासित बनाउनका लागि सहयोग पुर्याउने उद्देश्यका साथ अनुगमन गरिएको छ ।

संयुक्त अनुगमन गर्ने क्रममा जिल्ला प्रहरी सप्तरीका प्रमुख एसपी गजु सिद्दी ब्रजाचार्य, राष्ट्रिय अनुसन्धान विभाग सप्तरीका प्रमुख एसपी सुरेन्द्र कोइराला, सशस्त्र प्रहरीका प्रहरी निरीक्षक, शिक्षा विकास तथा समन्वय इकाइका सप्तरी प्रमुख विजयकुमार मण्डल, इलाका प्रशासन कार्यालय बोदे बर्साईनका प्रमुख दिनेश कुमार राउत लगायतले संयुक्त अनुगमन गरेका थिए ।

अनुगमन गरेका परीक्षा केन्द्रहरु जस्तै माध्यमिक विद्यालय पातो, श्री चन्द्रा नमुना माध्यमिक विद्यालय बोदे बर्साईन, श्री ५ महेन्द्र चुनी माध्यमिक विद्यालय मानराजालगायतका विद्यालयमा अनुगमन गरेका थिए । अनुगमनका क्रममा उनीहरुले केन्द्राध्यक्षहरुलाई परीक्षा व्यवस्थित र मर्यादित बनाउन निर्देशन दिएका छन् । उनीहरुले परीक्षा केन्द्रमा पुगेर परीक्षार्थीहरुलाई शुभकामना पनि दिए ।

एसइई परिक्षा सञ्चालन अवस्था तथा परीक्षा, विषयवस्तु, विद्यार्थीका बारेमा परीक्षा केन्द्राध्यक्षसँग सोधपुछका साथै कक्षागत रुपमा अवलोकन समेत गरिएको थियो । परीक्षाको दोस्रो दिन परीक्षार्थीलाई परीक्षा केन्द्रको गेटमै चेकजाँच गरी भित्र प्रवेश गर्न दिइएको छ । केन्द्रमा परीक्षार्थी र गार्ड शिक्षकलाई समेत मोबाइलमा प्रतिबन्ध लगाएको छ । सुरक्षाकर्मीहरु बाहिरबाटै सुरक्षा दिने व्यवस्था केन्द्रहरुमा मिलाइएको छ ।

अनुगमन गर्ने क्रममा परिक्षा केन्द्रहरुमा शान्तिपूर्ण वातावरणमा दोस्रो दिन अनिवार्य नेपाली विषयको परीक्षा सम्पन्न भएको सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए । चैत १५ गतेदेखि २७ गतेसम्म देशैभर एसइई २०८० परीक्षा चलिरहेको छ । झण्डै पाँच लाखको हाराहारीमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरू एसइई २०८० मा सहभागिता रहेको छ ।

७७ जिल्लामै यतिखेर परीक्षासम्बन्धी कार्य तीव्र गतिमा भइरहेको छ । नयाँ पाठ्यक्रम अनुसार ७५ पूर्णांकको सैद्धान्तिक तथा २५ पूर्णांकको आन्तरिक परीक्षा हुने छ । सबै विषयको सैद्धान्तिक र आन्तरिक मूल्यांकन नयाँ पाठ्यक्रमले तोकेको हो । सैद्धान्तिकतर्फ उत्तीर्ण हुनको लागि कम्तीमा ३५ प्रतिशत अंक ल्याउन पर्दछ । ग्रेडिङ प्रणालीमा मूल्यांकन गरिने यस परीक्षाको महत्व अतिनै रहन्छ ।

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षा प्रणाली विश्वभर यतिखेर ग्रेडिङ प्रणालीमा लागु छ । नेपालमा पनि बिक्रम सम्वत २०७२ सालदेखि ग्रेडिङ प्रणालीमा एसइई परीक्षा सञ्चालन हुँदै आएको प्रमुख जिल्ला अधिकारी थापाले बताए ।

प्रमुख थापाले भने, ‘परीक्षा शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रुपमा सम्पन्न गराउन सरोकारवाला सबैमा आह्वान गर्दछौँ ।’ प्रमुख थापाका अनुसार सबै परीक्षा केन्द्रका लागि केन्द्राध्यक्ष नियुक्ती, सुरक्षा व्यवस्था, जनशक्ति परिचालन, प्रश्नपत्र र उत्तर पुस्तिका पुर्याउनेलगायतका सबै काम जिम्मेवारीपूर्वक आफूहरुले व्यवस्थापन गरिरहेका छन् ।

त्यस्तै सप्तरीलगायत प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारी, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख सदस्य सचिव, जिल्लाका सुरक्षा निकायका प्रमुखहरुलगायत रहने गरी गठन गरिएको जिल्ला परीक्षा समन्वय समितिले परीक्षा केन्द्रमा केन्द्राध्यक्ष नियुक्ति, सरोकारवालालाई प्रशिक्षण गर्ने, प्रश्नपत्र प्रहरी निकायसम्म पुर्याउने, उत्तरपुस्तिका परीक्षा केन्द्रसम्म पुर्याउने र आवश्यक समन्वय गर्ने कामसमेत नियमपूर्वक पूरा गरी दोस्रो दिनको परिक्षा अनिवार्य नेपाली सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी थापाका अनुसार बिगतमा एसएलसी परीक्षालाई परिमार्जित गरी एसइई नामाकरण गरिएको हो । माध्यमिक शिक्षा परीक्षा दिने विद्यार्थीहरू यतिखेर जोडतोडका साथ परिक्षा दिने कार्यमा तयारी गरिरहेका छन् । प्रमुख थापाले एसइइलाई भयरहित शान्त वातावरणमा मर्यादित परीक्षा सञ्चालन गर्न परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाई र प्रदेश सामाजिक विकास मन्त्रालयहरू यतिखेर परीक्षासम्बन्धी कार्यहरूमा लागिपरेको बताए ।

एसइई परीक्षा तथा अन्य कुनै पनि परीक्षालाई मर्यादित तथा अनुशासित गर्नलाई लामो समयसम्म परीक्षामा रही कार्य गर्ने अनुभवबाट सिक्न सकिन्छ । कुनै पनि परीक्षालाई हाउगुजी बनाउनु हुँदैन । विद्यार्थीहरूले आफ्नो ज्ञान र सीपको मापन गर्न सहज वातावरणमा परीक्षा सञ्चालन आवश्यक छ । लोभ लालच तथा अन्य कुनै पनि प्रकारका गैरकानुनी कार्यहरु परीक्षामा खटिने कर्मचारीहरुले गर्नु हुँदैन ।

अमर्यादित तथा परीक्षा विधि विपरीत कार्य गर्ने विद्यार्थी वा कर्मचारीलाई प्रचलित ऐन कानुन अनुसार कारबाही गर्नेछ । यस्तै, सप्तरीबाट ९ हजार ३२३, सिरहाबाट १० हजार ९२३, महोत्तरीबाट ९ हजार चार सय ३१, सर्लाहीबाट १० हजार ८९६, रौतहटबाट ९ हजार ४६९, बाराबाट ९ हजार ४४४ र पर्साबाट १० हजार ६८ परीक्षार्थी सहभागी भएका छन् ।

प्रतिक्रिया