कार्य सम्पादनका आधारमा प्रधानाध्यापकलाई प्रोत्साहन भत्ता

हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकाले कार्यसम्पादन मूल्यांकनको आधारमा प्रोत्साहन भत्ता दिनका लागि विद्यालयका प्रधानाध्यापकहरूसँग कार्यसम्पादन सम्झौता गरेको छ । शैक्षिक क्षेत्र सुधारका लागि प्रधानाध्यापकलाई प्रोत्साहन गर्न कार्यसम्पादन मूल्यांकनका आधारमा २० हजारदेखि २४ हजारसम्म भत्ता दिने गरी गाउँपालिकाले कार्यक्रम ल्याएको हो ।

बिहीबार गाउँपालिकाको कार्यालयमा भएको सम्झौताअनुसार कार्यसम्पादन मूल्यांकनमा ४० देखि ६० प्रतिशत अंक ल्याउनेलाई २० हजार, ६० देखि ८० प्रतिशतलाई २२ हजार र ८० देखि १०० प्रतिशत कार्यसम्पादन अंक प्राप्त गर्नेलाई २४ हजार रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराइने शिक्षा शाखा प्रमुख प्रदीप पराजुलीले बताए । ४० प्रतिशतभन्दा कम अंक ल्याउने विद्यालयका प्रधानाध्यापकले भने कुनै पनि रकम नपाउने बताइएको छ । गाउँपालिकामा १८ वटा प्राथमिक विद्यालयहरू छन् ।

विद्यालयले विभिन्न १५ वटा बुँदाहरूमा स्वमूल्यांकन गरी पठाएको विवरणको आधारमा प्रोत्साहन रकम वितरण गर्न लागिएको गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले बताए । गाउँपालिका अध्यक्ष कालाखेती र प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीको रोहबरमा शिक्षा शाखा प्रमुख पराजुली र सम्बन्धित विद्यालयका प्रधानाध्यापकबीच कार्यसम्पादन सम्झौता गरिएको हो ।

प्रतिक्रिया