८३ वर्षीया वृद्धाको सुन लुटपाटपछि हत्या

काभ्रे । लागुऔषध प्रयोगकर्ता युवकले एक वृद्वाको सुन लुटपाट गरी हत्या गरेका छन् । गत फागुन १८ गते दिउँसो १ बजे काभ्रे जिल्लाको धुलिखेल नपा–९ घर भई हाल बनेपा नपा–१३ भैँसेपाटीस्थित बसन्त श्रेष्ठको घरमा एक्लै डेरा लिई बस्ने ८३ वर्षीया लक्ष्मी तामाङलाई सोही घरमा डेरा लिएर बस्ने धरान उपमहानगरपालिका–८ सुनसरी जिल्ला स्थायी घर भएका २९ वर्षका सन्तोष आचार्जुले ती वृद्धा महिलाको हत्या गरेको इलाका प्रहरी कार्यालय बनेपाले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

वृद्वा महिला आफ्नै डेरामा मृत अवस्थामा फेला परेको, मृतकले कानको लगाएको सुनको रिङ (मुन्द्रा) समेत नरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बनेपाबाट अनुसन्धानको विशेष टोली सहितको घटनास्थलमा गई सुक्ष्म अध्ययन गरी घटनास्थल तथा लासको मुचुल्काको कार्य सम्पन्न गरिएको र सो क्रममा प्रारम्भिक अनुसन्धानमा शवको प्रकृति हेर्दा शंकास्पद देखिएको, मुखबाट रगत आई सुकेको र घाँटी लल्याकलुरुक अवस्थामा रहेकोले प्रहरीले हत्याको अनुमान लगाएको थियो ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार मृतक लक्ष्मी तामाङ विगत एक वर्षदेखि बसन्त श्रेष्ठको घरको भुइँतलामा एक्लै डेरा लिई बस्दै आएकी थिइन् । फागुन १८ गते उक्त घरको माथिल्लो तल्लामा बस्नेले लक्ष्मी तामाङको चालचुल नदेखेपछि ढोका खोली हेर्दा खाटमा सिरक ओढी सुतिरहेको अवस्थामा देखी बोलाउँदा नबोल्ने र चलमलसमेत नगर्दा शंका लागि मृतकको परिवारलाई खबर गरेका थिए ।

सोही घरको भुइँतलामा २९ वर्षको एक युवक विगत तीन÷चार वर्षदेखि मृतक लक्ष्मी तामाडको कोठासँगै रहेको अर्को कोठामा एक्लै बस्दै आएको बुझिएपछि प्रहरीले अनुसन्धान शुक्ष्म तरिकाले सुरु गरेको थियो । बुझ्दै जाँदा उक्त युवक लागुऔषध सेवनकर्ता रहेको र घरपरिवारबाट अलग बस्ने गरेको बुझिएको सुवेदीको भनाइ छ ।

घटनामा युवकको संलग्नताको विषयमा प्रहरीले अनुसन्धान गर्दा मृत वृद्वा लक्ष्मी तामाङसँग रातको समयमा पानी, खानेकुरासमेत माग्नुका साथै धम्काउने समेतका क्रियाकलाप गर्ने गरेको, आफूलाई असुरक्षित महसुस भएको भनी आफ्नो छोराछोरीलाई बताएको भनी खुल्न आएको बुझिनँ आएपछि प्रहरीको टोलीले युवक लक्षित अनुसन्धान आगाडि बढाएको थियो ।

उक्त घटनापश्चात युवक कोठामा आउन छोडेको, निजको गतिविधिहरू शंकास्पद पाइनुका साथै निजको साथीहरूसँग बुझ्दा आरोपी युवकले अन्य समयभन्दा पैसा धेरै खर्च गर्ने गरेको र ऋणसमेत तिरेको भन्ने बुझिन आएको थियो । प्रहरीले मृतकको शव परिक्षण प्रतिवेदनमा मृतकको बायाँ साइडको चार इन्चदेखि सात इन्च रिबस फ्रयाक्चर रहेको र घाँटीमा सुन्नेको भनी खुल्न आएको थियो ।

प्रहरीले आरोपी युवकलाई १३ चैतमा धुलिखेलबाट पक्राउ गरिएको र जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान गरिएको बताइएको छ । पक्राउ परेका आचार्जुमाथि प्रहरीले सोधपुछ गर्दा घटनाबारे आफूले २०८० फागुन १७ गतेका दिन बिहान मृतकको कोठामा छिरी सुतेको अवस्थामा फेला पारी घुँडाले छातीमा थिची, मुखसमेत धुनी हत्या गरी दुबै कानमा लगाएको सुनको रिड लुटी लिइगएको भनी स्वीकार गरेको समेत प्रहरीले जनाएको छ ।

लुटेको सुनको रिङ बनेपा नपा–८ चारदोबाटोस्थित विवेक रत्न सुनचाँदी पसलमा ३६ हजार रुपैयाँमा धितो राखी नगद लिएको प्रहरीसामु अनुसन्धानको क्रममा आरोपीले बताएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया