समर्थन फिर्ताको धम्की दिएर मन्त्रीको शपथ !

काठमाडौं । हाम्रो नेपाली पार्टी (हानेपा) का सांसदलाई मन्त्री बनाएपछि शालिकराम जम्कट्टेल नेतृत्वको बाग्मती सरकार सुरक्षित भएको छ । बाग्मती प्रदेशमा सत्ता गठबन्धनमा रहेका ४ दलबीच बिहीबार ५ बुँदे सहमति भएसँगै धरमरमा परेको शालिकरामको पद सुरक्षित भएको हो । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबीच बिहीबार सहमति भएको हो ।

राजनीतिक स्थायित्व दिएर प्रदेशसभालाई पूर्ण कार्यकाल चलाउने, मन्त्रिपरिषद्को संख्या छलफल गरेर टुंग्याउने, केन्द्रको निर्णयअनुसार प्रदेशको नेतृत्व पनि सहकार्य (आलोपालो) गर्ने सहमति भएको हो । आलोपालो नेतृत्वबारे कसले कति समय भन्ने विषय उल्लेख छैन । सरकार सञ्चालनका लागि प्रदेशस्तरीय संयन्त्र बनाउने र साझा न्यूनतम नीति कार्यक्रम बनाउने पनि सहमति भएको छ ।

सहमतिपत्रमा एमाले बाग्मती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया, माओवादी संसदीय दलका नेता शालिकराम जम्कट्टेल, एकीकृत समाजवादीका डा. राजेन्द्रमान श्रेष्ठ र हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यले हस्ताक्षर गरेका छन् ।

४ दलबीच सहमति भएपछि पछि हानेपाबाट प्रदेश सांसद शैलेन्द्र बज्राचार्य संस्कृति, पर्यटन तथा सहकारी मन्त्री बनेका छन् । मन्त्री बज्राचार्यले बिहीबार नै शपथ ग्रहण गरेका छन् ।
हानेपा सरकारमा सहभागी भएसँगै शालिकराम नेतृत्वको सरकारलाई बहुमत पुगेको छ । गत फागुन २३ मा नेपाली कांग्रेसले आफ्ना ६ जना मन्त्रीलाई फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि जम्कट्टेलाई विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्था छ ।

बाग्मती प्रदेशमा हाल ११० जना प्रदेशसभा सदस्य छन् । सरकार गठन गर्न बाग्मतीमा ५६ सांसदको समर्थन चाहिन्छ । संघको सत्ता गठबन्धनमा आबद्ध दलको मात्रै बहुमत छैन । त्यसकारण शालिकरामको सरकार जोगाउन १ सांसद तान्नैपर्ने थियो । यहाँ एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपाको सभामुखबाहेक १२ र नेकपा एसको ७ सिट छ । हानेपाको समर्थन नभएको अवस्थामा गठबन्धनसँग ५५ सिट मात्रै थियो । सरकार टिकाउन १ सिट नपुगिरहेको अवस्थामा २ सांसद रहेको हानेपालाई सहभागी गराएसँगै अब सरकारको पक्षमा ५७ सांसद पुगेका छन् ।

यसअघि हाम्रो नेपाली पार्टी (हानेपा) ले बाग्मती प्रदेश सरकारबाट समर्थन फिर्ता लिने घोषणा गरेको थियो । हानेपाले सरकारको देतृत्वमा दाबी गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएको थियो ।

हानेपा संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले समर्थन फिर्ताको सबै तयारी पूरा भएको र औपचारिक पत्र लिएर बिहीबार बिहानसम्म आउने बताएका थिए । तर बिहीबार नै उनले मन्त्रीको शपथ लिएका छन् ।

हानेपा अध्यक्ष भन्छन्– सांसद अपहरण गरियो

यसैबीच, हाम्रो नेपाली पार्टी (हानेपा) का अध्यक्ष अनन्तराज घिमिरेले भने सत्ताको दुरुपयोग गरेर आफ्नो सांसद अपहरण गरेको आरोप लगाएका छन् । उनले बाग्मती प्रदेशको राजनीतिक अवस्था र पार्टीको भूमिकालाई लिएर आफ्नो पार्टीका सांसदसँग छलफल गर्ने कार्यक्रम रहेको तर छलफलअघि नै पार्टीका सांसद शैलेन्द्रमान बज्राचार्य सम्पर्कविहीन भएको बताएका छन् ।

सत्ता पक्षले आफ्नो पार्टीका सांसद बज्राचार्यलाई अपहरण गरेको उनको आरोप छ । सरकारमा सहभागी हुनेबारे पार्टीभित्र कुनै छलफल नभएको र पार्टीले सहमति प्रदान नगरेको पनि उनको भनाइ छ । ‘हाम्रो पार्टीले सरकारको नेतृत्व गरेरै जाने भन्ने बटमलाइन हो,’ उनले भने, ‘त्यसबाहेक अरू निर्णय पार्टीले गरेको छैन ।’

प्रतिक्रिया