मधानी महायज्ञमा सहयोग गर्नेहरुलाई मौलापुरले गर्यो सम्मान

मधेस ब्यूरो । मधानी महायज्ञमा सक्रिय रुपमा सहयोग गर्नेहरुलाई रौतहटको मौलापुर नगरपालिकाले सम्मान गरेको छ । मधानी महोत्सव २०८० मा आ–आफ्नो तर्फबाट महत्वपूर्ण योगदान दिने विभिन्न पेशा र क्षेत्रका व्यक्तिहरुलाई सम्मानित गरिएको हो ।

बुधबार मधानी महायज्ञको समीक्षा तथा सम्मान कार्यक्रमको आयोजना गरिएको थियो । नगरप्रमुख रिना कुमारी साहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा ८१ जना जनप्रतिनिधि, कर्मचारी, शिक्षक, सात जना पत्रकारहरु एवं स्थानीयबासीहरुलाई सम्मान गरिएको मधानी महायज्ञका आयोजकले जनाएका छन् । मौलापुर नगरपालिकाकी नगरप्रमुख साहले अबिर तथा गम्छा ओढाएर सम्मान गरेकी थिइन् ।

उक्त कार्यक्रममा विभिन्न क्षेत्रमा जिम्मा लिएका व्यक्तिहरूले आ–आफ्नो जिम्मेवारीमा भएका कामहरुको बारेमा समिक्षा प्रस्तुत गरेका थिए । कार्यक्रममा समीक्षा मन्तव्य राख्दै मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले १० बुँदामा मधानी महायज्ञको बारेमा आफ्नो धारणा राखेका थिए ।

उनले बिगतका वर्षभन्दा यस वर्ष बढी व्यवस्थित र दर्शकहरूको बढी सहभागीता रहेको दाबी गरे । यस वर्षको महायज्ञमा विशेषरुपमा शिवबरात निस्केको बारेमा चर्चा गरेका थिए । साथै, लगातार पाँच दिन फरक–फरक ढंगले कार्यक्रम प्रस्तुत गरी दर्शकहरुलाई मन जित्न सफल भएको उनको भनाइ थियो ।

कार्यक्रमलाई समापन गर्दै मौलापुर नगरपालिकाकी नगरप्रमुख साहले मौलापुर पुरातात्विक महादेव मन्दिरलाई देशको सय गन्तव्यस्थलमा (दर्ज) समावेश गराइसकेको र अब विश्व सम्पदा सूचिमा सूचिकृत गराउने आफ्नो लक्ष्य रहेकाले यसमा साथ सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।

मौलापुर नगरपालिकाले हजारौँ वर्ष पुरानो पुरातात्विक महादेव मन्दिरलाइईविश्व सम्पदाको सूचिमा सूचिकृत गराउने एवम् मधानी महायज्ञलाई देश तथा विदेशमा स्थापित गराउने उदेश्यले वि.स २०७६ सालदेखि निरन्तररुपमा मधानी महायज्ञ आयोजन गर्दै आएको छ । यस वर्षको मधानी महायज्ञ गत फागुन २२ गतेदेखि २६ गतेसम्म चलेको थियो ।

यस वर्षको मधानी महायज्ञमा भारतीय चलचित्रका चर्चित अभिनेता गोविन्द आहुजा, नेपाली चलचित्रका अभिनेता पल शाह, भारत बिहारका पूर्वराज्य मन्त्री एवं भोजपुरी सुप्रसशद्ध गायक विनय बिहारी, भोजपुरी सिनेमाकी नायीका निलम गिरी लगायत नेपाल र भारतका दर्जनौँ प्रशद्ध कलाकारहरुले सांस्कृतिक प्रस्तुती दिएका थिए ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया