होली सकिएपछि रौतहटका किसान बाली भित्र्याउन व्यस्त

रौतहट । रौतहट जिल्लाका किसानहरु बाली भित्र्याउन लागिपरेका छन् । फागुपूर्णिमा होली सकिएपछि तराई–मधेसका किसानहरू खेतमा लगाइएका तेलहन र दलहन बाली घरमा भित्र्याउनमा व्यस्त देखिएका हुन् । कृषिमा आधारित रहेका मधेसमा नगदे बालीको रुपमा रहेको मसुरी, बंगला, सरसो, तोरी, आलश, केराउलगायतका बाली घरमा सुरक्षित राख्नको लागि किसानहरु व्यस्त भएका छन् ।

होली सकिएपछि नगदे बाली भित्र्याउने समय रहेको स्थानीय राजदेवी नगरपालिका– ७ का किसान मदन यादवले बताउँछन् । सुख्खा मौसमको आगमन भएसँगै पानी पर्ने जोखिम उच्च रहेकाले छिटै बाली भित्र्याउने चिन्ता किसानहरुको हुने गरेको यादवको भनाई छ । पानी परेमा तेलहन र दलहन बालीमा असर पुग्ने स्थानीय किसान भिखारी यादवले बताए ।

वर्षा हुनुभन्दा पूर्व नै तेलहन, दलहन र गहुँ बाली घरमा राख्नुपर्ने किसान श्रीराम महतोको भनाइ छ । यसैगरी रौतहट जिल्लाको पश्चिमी भागमा चैते धान खेती पनि सुरु गरिएको छ । बारा जिल्लामा अधिक संख्यामा किसानहरूले चैते धानको खेती गर्ने गर्छन् । रौतहटमा भने मौलापुर नगरपालिका, बौद्धिमाई नगरपालिका, फतुवा विजयपुर नगरपालिकामा पनि चैते धान खेती गर्ने गरिन्छ ।

राजदेवी नगरपालिकाका– ७ मा केही किसानहरुले चैते धान खेतीको सुरुवात गरेको देखिन्छ। असार महिनासम्ममा भित्र्याउन सकिने चैते धानको बिउ लगाउने कार्य भइरहेको स्थानीय किसान पनालाल महतोले बताए । निरन्तर रुपमा पूर्वी हावा चलिरहेकाले मौसम परिवर्तन भएर कुन बेला वर्षात हुन सक्छ भन्ने चिन्ता किसानहरुको रहेको छ ।

प्रतिक्रिया