चन्द्रनिगाहपुरमा होटलका कामदार मृत भेटिए, होटल सञ्चालक फरार

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका– ५ मा सञ्चालन रहेको एक होटलमा काम गर्ने कामदार मृत अवस्थामा फेला परेका छन । स्थानीय मुस्कान होटलमा काम गर्दै आएका चन्द्रपुर नगरपालिका– ६ निवासी ५० वर्षीय कृष्णप्रसाद घिमिरेको शव होटलमा झुण्डिएको अवस्थामा भेटिएको हो ।

उक्त होटलमा मजदुरी गर्दै आएका घिमिरे मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरका प्रहरी नायव उपरीक्षक गौरव महतले जनाकारी दिए । मृतकको शव परिवारको सहमतिमा पोस्टमार्टमको लागि काठमाडौं पठाउने तयारी भइरहेको प्रहरी नायव उपरीक्षक महतले बताए ।

मृतक घिमिरेका परिवारले आत्महत्या नभई हत्या भएको दाबी गरेका छन् । होटल सञ्चालकले चार महीनाको तलब नदिएको भन्दै सोमबार इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी दिएका घिमिरे होटलमा नै मंगलबार झुण्डिएको अवस्था फेला परेकाले घटना शंकास्पद रहेको परिवारको भनाइ छ ।

मृतक घिमिरेको अनुहारलगायतमा केही चोटपटक समेत देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताइएको छ । तर पनि सो चोटपटक नयाँ या पुरानो भन्ने एकिन भने नभइसकेको भन्दै प्रहरी नायव उपरीक्षक महतले उक्त घटनालाई गम्भीरतापूर्वक हेरिरहेको र पोस्टमार्टम रिपोर्ट आएपछि घटनाको तथ्य पत्ता लाग्ने बताए ।

मृतक परिवारले होटल सञ्चालक हबीब मियाँ अन्सारीविरुद्ध आत्महत्या दुरुत्साहनसम्बन्धी जाहेरी दिएपछि फरार भएका अन्सारीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया