मकवानपुर बहुमुखी क्याम्पसमा डा.सिलवाल

हेटौँडा । प्रदेश विश्वविद्यालय बन्ने दौडमा रहेको मकवानपुर बहुमुखी क्याम्पसको प्रमुखमा डा. यम सिलवाल नियुक्त भएका छन् । शनिबार बिहान बसेको क्याम्पस सञ्चालक समितिको बैठकले सिलवाललाई नयाँ प्रमुखमा नियुक्त गरेको हो ।

निवर्तमान प्रमुख डा.शंकरप्रसाद उपाध्यायको चार वर्षे कार्यकालमा क्याम्पसको आर्थिक तथा शैक्षिक सुदृढीकरणमा उल्लेख्य काम भए पनि प्राध्यापक नियुक्ति लगायतका विषयमा सञ्चालक समितिसँग मतभेद बढेपछि उनले राजीनामा गरेका थिए ।

सञ्चालक समितिका कतिपय सदस्यहरूले उपाध्यायको नेतृत्व दोहो¥याउनुपर्ने बताइरहँदा ४ चैतदेखि लागू हुनेगरी उपाध्यायले राजीनामा दिएका हुन् । गत साउनमा चार वर्षे कार्यकाल सकिएपछि डा.उपाध्यायले कार्यबाहक प्रमुखको रूपमा कार्यभार सम्हाल्दै आएका थिए ।

आफूले नेतृत्व लिँदै गर्दा करोडौँ घाटामा रहेको क्याम्पसलाई नाफामा चलाउनुका साथै चार वर्षे अवधिमा विभिन्न संकायमा नेपाल प्रथम हुन सफल भएको उपाध्यायले बताउँदै आएका छन् ।

‘नितीनियम विपरीतका कुरामा जोसुकैले भने पनि मैले आफ्नो अडान परिवर्तन गरिनँ’, उपाध्यायले भने । उपाध्यायले राजीनामा दिएपछि सञ्चालक समितिका अध्यक्ष अनन्त पौडेलको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले सिलवाललाई प्रमुख नियुक्त गरेको हो ।

प्रादेशिक उच्च शिक्षा ऐन २०७८ कार्यान्वयन गर्दै बागमती प्रदेश सरकारले प्रादेशिक विश्वविद्यालय स्थापनाको पहल अगाडि बढाएपछि मकवानपुर बहुमुखी क्याम्पसलाई प्रदेशको केन्द्रीय विश्वविद्यालयका रूपमा लैजाने प्रयास भइरहेको छ ।

नवनियुक्त क्याम्पस प्रमुख डा.सिलवालले पदभार ग्रहण गर्दै वर्तमान परिवेश सुहाउँदो सूचनाप्रविधिमैत्री एवं रोजगारमुखी शैक्षिक कार्यक्रमहरूमा आफ्नो कार्यकालमा विशेष जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया