होलीमा रंगीन बन्दै मधेस

मधेस ब्यूरो । मधेसको गाउँ होलीमय भएको छ । मधेसमा मुख्य होली सोमबार रहेको भए पनि केही दिनदेखि संघसंस्थाहरूले औपचारिक रूपमा नै होली मनाइरहेका छन् । सबै प्रकृतिका संगठनले औपचारिक तथा अनौपचारिक रूपमा शुभकामना आदानप्रदान गर्दै अबिर लगाएर गम्छा ओढाउँदै सम्मान गर्ने चलन बढेको छ ।

मधेस केन्द्रित दल मात्र नभएर चर्चामा रहेका करिब सबै राजनीतिक दलहरूले गत एक हप्तामा होलीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिसकेका छन् । सबैले आयोजना गर्ने शुभकामना आदानप्रदान कार्यक्रममा सयौँको उत्साहपूर्ण सहभागिता रहने गरेको छ ।


यसै क्रममा नेकपा एकीकृत समाजवादी मधेस प्रदेश सदस्य बृजकिशोर यादवले शनिबार आफ्नै निवास गरुडा नगरपालिका–५ महम्मदपुरमा होलीको शुभकामना आदानप्रदान गर्दै करिब पाँच सय जनालाई गम्छा ओढाएर अबिरले स्वागत तथा सम्मान गरे । सो अवसरमा यादवले मुख मिठ्याउन सबैलाई खिर पनि खुवाएका छन् ।

यसैगरी गरुडा नगरप्रमुख कन्थमनि प्रसाद कल्वारले गरुडा–४ स्थित निवासमा होलीको परम्परागत गीत बजाउँदै आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा हजारौँले सहभागिता जनाएका थिए । नगरप्रमुख कल्वारले सबैलाई गम्छा ओढाउँदै अबिर दलेर मिष्ठान्न पखुवाएका थिए ।
यस्तै जसपाले पूर्वमन्त्री गोविन्द चौधरीको आतिथ्यमा गरुडामा होली मिलन समारोहको आयोजन गरी शुभकामना आदानप्रदान गरेको छ । जिल्ला अध्यक्ष श्यामबिहारी यादवको व्यवस्थापनमा भएको कार्यक्रममा सहभागीलाई गम्छा ओढाएर सम्मान गर्दै अबिर दलेर सामाजिक सद्भाव कायम गर्नुपर्ने बताएका छन् ।

मुस्लिम समुदायको रमजान चलिरहेको भए पनि औपचारिक कार्यक्रमहरूमा भने मुस्लिम समुदायका अगुवाहरूको सहभागिता हुने गरेको छ । मुस्लिम अगुवाहरूले पनि होलीको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भई होलीलाई सामाजिक सद्भावको पर्वको रूपमा प्रमाणित गरिरहेका छन् । यसले आपसी सद्भाव बढाउनुको साथै सामाजिक एकतासमेत प्रस्तुत गराएको छ ।

मुस्लिम समुदाय होलीमा सहभागी हुँदा कतिपयले अबिर लाउने तथा कतिपयले अबिर लाउने चलन नभएको भन्दै संस्कृतिलाई मनाउन सहयोग गर्ने गरेका छन् । पछिल्लो दिनमा यस्ता एक अर्काे समुदायमो पर्वमा एक अर्को समुदायले सहभागिता जनाउने गरेका छन् । यसले सदभाव बढाउँदै संस्कृति जोगाउन सहयोग पुग्ने देखिन्छ ।

तराईमा पहाडिया सममुदायले आइतबार होली मनाए पनि मधेसी समुदायले सोमबार मनाउँदै छन् । यद्यपि मधेसमा बसोबास गर्ने सबैजसो समुदायले प्रायः दुवै दिन होली बनाउने गरेका छन् ।

मधेसको पुरानो होली मेला

मधेस प्रदेशमै होलीको अवसरमा लाग्ने सबैभन्दा पुरानो मेलाको मुख्य दिन फागुपूर्णिमा समनपुरको रहेको छ । २०९ वर्षदेखि लाग्दै आएको रौतहटको गढीमाई नगरपालिकाको समनपुरस्थित बैरिया फागु मेला आइतबार भव्यतापूर्वक लागेको छ । चार दिनसम्म चल्ने ऐतिहासिक मेलाको मुख्य दिन फागुन पूर्णिमा रहेको गढीमाई नगरपालिकाका नगरप्रमुख श्यामप्रसाद यादवले बताए । नेपाल–अंग्रेज युद्धमा स्थानीयले अंग्रेजलाई हराएको दिन सन् १८१५ देखि हरेक वर्ष लाग्दै आएको बैरिया मेलाको उद्घाटन शुक्रबार संघीय सांसद देवीप्रसाद तिमल्सिना र नगरप्रमुख यादवले संयुक्त रूपमा गरे । सो अवसरमा उनीहरूले स्थानीयको होली आवश्यकता पूरा गर्नुका साथै ऐतिहासिकतालाई पनि स्मरण गराएको बताएका थिए ।

प्रदेश राज्यमन्त्री शेखअबुल कलाम आजादले बैरिया मेला नेपाल–अंग्रेज युद्धसित जोडिएकोले यसको संरक्षण गर्नुपर्ने बताए । नेपाल–अंग्रेज युद्धको क्रममा सन् १८१४ को डिसेम्बर ३१ मा स्थानीयले अंग्रेज फौजमाथि आक्रमण गरी हराएका थिए । त्यसपछि करिब अढाई महिनासम्म हरेक वर्ष मेला लाग्दै आएकोमा समय क्रममा खुम्चिँदै अहिले चार दिनमा सीमित भएको स्थानीयले बताए ।

समनपुरका स्थानीय समाजसेवी कामेश्वर सहनीले आफूहरूले १०–१२ दिनसम्म मेला लाग्ने गरेको देखेको बताए । पहिले भारतको विभिन्न ठाउँबाट व्यापारीहरू आउनुका साथै सिन्धुली, मकवानपुर, बारा, सर्लाही र रौतहटका मानिसहरू होली पर्वमा खपत हुने सामग्री किन्न आउने गरेकोमा अब चार दिन मात्र मेला लाग्ने गरेको सहनीले बताए । समनपुरको ऐतिहासिक मेलाको मुख्य दिन फागुन पूर्णिमामा एक लाखभन्दा बढी मानिस पुग्ने गरेको अनुमान रहेको छ ।

समनपुर युद्धको स्मृतिमा नेपाली सेनाले युद्ध स्मारकको निर्माण गरेको छ । यसबाहेक अन्य कुनै पनि काम हुन नसकेकोले स्थानीयले नगरपालिकाप्रति असन्तुष्टि जनाउने गरेका छन् । कार्यक्रममा नेपाली सेनाले विभिन्न राष्ट्रवादी भावनाका प्रस्तुति दिएका थिए ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया