प्रभु बैंकबाट करोडौँ रकम अपचलन गरेर फरार शाह पक्राउ

आठबिसकोट । बैंकको करोडौँ रकम अपचलन गरेर फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । रुकुम पश्चिमको आठविसकोट नगरपालिका– ९ राडी बजारमा रहेको प्रभु बैंकबाट करोडौँ रकम अपचलन गरेर फरार रहेका बैकका कर्मचारी निरज विक्रम शाहलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले बैंकको अपरेशन ईन्चार्ज पदमा कार्यरत कर्मचारी निरज शाहलाई शुक्रबार पत्रकार सम्मेलन गरेर प्रहरीले सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १५ स्थित जमुनाहबाट शाहलाई पक्राउ गरिएको हो । प्रहरी निरिक्षक धर्मेन्द्र खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले चैत ८ गते बिहीबार शाहलाई पक्राउ गरेको थियो ।

उनले बैंकमा रहँदा बैंकको खाताबाट एक करोड ३१ लाख २५ हजार रुपैयाँ अपचलन गरेको भन्दै प्रभु बैंकका कर्णाली प्रदेश प्रमुख शरद राज तिमिल्सिनाले मुद्दा दर्ता गराएका थिए । शाहलाई उच्च अदालत सुर्खेतबाट सात दिन थुनामा राख्ने अनुमति लिएर आवश्यक अनुसन्धान सुरु गरिएको छ ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया