सकियो प्रदेशस्तरीय महिला उद्यमी प्रदर्शनी

हेटौँडा । ‘पर्यटन, कृषि, लघु उद्यमशिलता–महिला सहभागिता आजको आवश्यकता’ भन्ने नाराका साथ चैत २ गतेदेखि सुरु भएको आठौँ बागमती प्रदेशस्तरीय महिला उद्यमी प्रदर्शनी २०८० सम्पन्न भएको छ ।

बागमती प्रदेशको राजधानी हेटौँडामा मकवानपुर उद्योग वाणिज्य संघ, महिला उद्यामी विकास समितिको आयोजनामा सम्पन्न प्रदर्शनीको समापन कार्यक्रममा बोल्दै हेटौँडा उपमहानगरपालिकाका प्रमुख मिना कुमारी लामाले महिलाहरुले कृषि तथा मौलिक हस्तकलालाई पर्यटनसँग जोडेर लैजान सके दिगो आर्थिक विकास हासिल गर्न सकिने धारणा राखेकी थिइन् ।

प्रदर्शनीमा सहभागी मकवानपुर, सिन्धुली, काठमाडौं, चितवन, नुवाकोटलगायतका जिल्लाका महिला उद्यमीहरुले कृषि, हस्तकला, लघु उद्यम तथा परम्परागत पोशाक एवं खानासम्बद्ध सामग्री प्रदर्शनमा राखेका थिए ।

प्रदर्शनीमा सफल महिला उद्यमीहरुका सफलताको कथा प्रस्तुत गर्नुका साथै महिला उद्यमशिलता एवं कृषि उद्यमका विषयमा छुट्टाछुट्टै बहस सञ्चालन भएका थिए । यस्तै प्रत्येक दिन स्थानी कलाकारहरुबाट मनोरन्जनात्मक प्रस्तुती समेत राखिएको थियो ।

स्टल व्यवस्थापन संयोजक प्रतिमा श्रेष्ठका अनुसार प्रदर्शनीमा महिला उद्यमीहरुबाट उत्पादित वस्तु तथा सेवाहरु ४५ वटा स्टलमार्फत प्रदर्शनी तथा बिक्री गरिएको थियो ।

प्रतिक्रिया