एनआरएनएलाई नारायणकाजीले भने- ‘तपाईँहरु मिल्नुस्, अब त लाज नै भइसक्यो’

काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र गैरआवसीय नेपाली संघ (एनआरएनए)को प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । संघका अध्यक्ष विनोद कुँवरको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मन्त्रीसँग भेटेको हो ।

भेटमा एनआरएनएको टोलीले संघमा देखिएको विवाद समाधानका उपाय, विचारधिन अवस्थामा रहेको मुद्दा, बार्षिक साधारणसभा, नागरिकता, लगानीमैत्री वातावरणलगायतका विषयमा सुझाव दिएको भेटवार्तामा सहभागी संघकी सचिव जुनु गुरुङले जानकारी दिइन् ।

अध्यक्ष कुँवरले आफूहरु नेपालीमा लगानी गरेर रोजगारी सिर्जना गर्न तयार रहेको बताउँदै त्यसको लागि लगानीमैत्री वातावरण बनाउन सरकारसँग आग्रह गरेका थिए ।

भेटवार्ताको क्रममा परराष्ट्रमन्त्री श्रेष्ठले संघ विभाजित हुनु दुःखद् भएको भन्दै तीनवटै पक्षलाई मिल्न सुझाव दिँदै त्यसको लागि आफूले खेल्नुपर्ने भूमिका खेल्ने प्रतिवद्धता जाहेर गरे ।

‘तपाईँहरु मिल्नुस्, अब त लाज नै भइसक्यो । तपाईँहरुलाई मिल्नको लागि वातावरण बनाउन के गर्नुपर्छ म तयार छु’ श्रेष्ठले भने ।

प्रतिक्रिया