५३ जनालाई ‘टोम्याटो सस’ बनाउने तालिम

लालबन्दी । सर्लाहीको लालबन्दीमा टमाटरको सस (केचब) बनाउने तालिम समापन भएको छ । लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र त्रिपुरेश्वर काठमाडौंको आर्थिक सहयोगमा लालबन्दी नगरपालिकाले आयोजना गरेको तालिममा नगरका १५ वटा वडा (७ र १४ बाहेक) का ५३ जनाको सहभागिता रहेको थियो ।

यहि फागुन १६ देखि २० गतेसम्म पहिलो समूह र २१ देखि २५ गतेसम्म दोस्रो समूहलाई व्यावसायिक टोम्याटो केचब बनाउने सीप विकास तालिम प्रदान गरिएको हो । घरेलु तथा साना उद्योग विकास समितिका पूर्वउपनिर्देशक रामबहादुर श्रेष्ठले तालिममा सहभागीलाई प्रशिक्षण दिएका थिए ।
तालिममा सहभागीलाई प्रमाणपत्र प्रदान गर्दै तालिमको समापन गरिएको नगरपालिकाको गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) शाखाका बरिष्ठ उद्यम विकास सहजकर्ता समिर सुवेदीले जानकारी दिए ।

तालिम समापन कार्यक्रममा लालबन्दी नगरपालिकाका प्रमुख (मेयर) बासुदेव अधिकारी, उपप्रमुख कल्पनामाया पाख्रिन, प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपाने, विभिन्न वडाका वडाध्यक्ष र स्थानीय सञ्चारकर्मीको सहभागीता रहेको थियो ।

सहभागी शान्ति लामाले तालिम आफूहरूका लागि कोसेढुंगा सावित भएको बताइन् । उनले देशभरमै सबैभन्दा बढी गोलभेँडा उत्पादन हुने ठाउँमा गोलभेँडाकै सस बनाउने तालिमको आयोजना गरेकोमा आयोजकप्रति कृतज्ञता प्रकट गरिन् ।

तालिमले आफूहरूलाई उद्यमी बनाउने भन्दै लामाले यहाँ उत्पादन हुने आँप, मेवाजस्ता फलफूलबाट पनि यस्तै केही बनाउन सकिने भए त्यस्तो तालिम पनि आयोजना गर्न लालबन्दी नगरपालिकासँग आग्रह गरिन् ।

त्यसैगरी वडा–१५ का वडाध्यक्ष गोरख बलले नगरपालिकाभित्र पटकपटक यस्ता किसिमका सीपमूलक तालिमको आयोजना गरिएको भए पनि त्यसबाट उपलब्धि हासिल नभएकोमा यो तालिमले केही आशा जगाएको धारणा राखेका थिए । तालिमलाई समापन गर्दै नगरप्रमुख अधिकारीले सहभागीको हौसला र जाँगर देखेर आफूलाई खुसी लागेको बताउँदै अब लालबन्दीमै सस बन्नेमा आफू आशावादी भएको बताए ।

प्रतिक्रिया