रौतहट । देशको आर्थिक नगरीको रूपमा परिचित वीरगञ्जका व्यवसायीहरूले व्यापार थलिँदै गएकोमा चिन्ता व्यक्त गरेका छन् । वीरगञ्जमा हुने सबै किसिमको व्यापार अपेक्षाभन्दा निकै घटेकोले व्यावसायीहरू चिन्तित देखिएका हुन् । वीरगञ्जका न्यु राम फर्निचरका सञ्चालक रामले ५० प्रतिशतभन्दा बढीले व्यापार घटेको बताएका छन् । उनले भने, ‘अहिले विवाहको लगनको समयमा त व्यापारको यस्तो हालत छ त्यसमाथि पहिलेको तुलनामा स्तरीय फर्निचर सामानको माग त झन् घटेको छ ।’
वीरगञ्जको मुटु भनेर चिनिने घन्टाघरमा ‘महावीर प्रसाद शर्मा कपडा पसल’का सञ्चालक रंजित शर्माले अहिले व्यापार २५ प्रतिशतमा झरेको दाबी गरेका छन् । ‘कोरोना कालपछि व्यापारले लय समात्न थालेको थियो । कम्तीमा ७० प्रतिशत व्यापार हुन थालेकोमा अहिले लगनको समयमा आएर २५ प्रतिशतमा सीमित भएको छ’, शर्माले भने, ‘खुला सिमानाका कारण छिमेकी भारतीय सहर रक्सौलमा ग्राहकहरू सामान किन्न जाने गरेका छन् । आफूहरूको व्यापार सुकेर आर्थिक मन्दीको अवस्थामा पुगेको छ ।’
फर्निचर र कपडाको मात्र नभई वीरगञ्जमा दैनिक उपभोग्य सामानको पनि व्यापार घटेको छ । वीरगञ्जको अलौमा रुपेश किराना पसल सञ्चालन गरेका विनय गुप्ता भन्छन्, ‘अहिले व्यापार एकचौथाइमा सीमित भएको छ । व्यापार व्यवसाय चौपट भएको देख्दा आफू निकै चिन्तित भएको छु ।’ ग्राहकले किन्ने क्षमता गुमाएको हो कि दैनिक उपभोग्य वस्तुको उपभोग नै कम गरेको हो ? उल्टै प्रश्न गर्दै गुप्ता भन्छन्, ‘किराना व्यवसायीमा पनि निराशा आउनु आफैँमा समस्या भएको छ ।’
वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधवराज पालले गत वर्षको भन्दा वीरगञ्जको समग्र व्यापारमा ७० प्रतिशतले कमी आएको बताएका छन् । वीरगञ्ज र पर्सा क्षेत्रमा सञ्चालनमा रहेको उद्योग तथा व्यवसाय ३० देखि ३५ प्रतिशतको हाराहारीमा मात्र सञ्चालन भएको दाबी गरेका छन् ।
राष्ट्र बैंकको नीति तथा भन्सारको मूल्यांकन समेतको समस्याले गर्दा उद्योग तथा व्यापार निकै घटेको उपाध्यक्ष पालको भनाइ छ ।
हाउजिङको काममा आएको सुस्तता, सरकारले सञ्चालन गर्ने विकास निर्माणको काममा सुस्तता र सरकारले ठेकेदारको भुक्तानी समयमा नहुँदा बजार सुस्त बनेको उपाध्यक्ष पाल बताउँछन् । सरकारले ठेकेदारलाई रकम भुक्तानी गर्दा बजारमा ठूलो परिमाणमा रकम प्रवाह भई बजारमा केही सुधार आउने विश्वास पनि उपाध्यक्ष पालको रहेको छ । भन्सार मूल्यांकन पनि एउटा समस्याको रूपमा रहेको पाल दाबी गर्छन् ।
ग्राहकलाई सामान दिन भ्याइनभ्याइ हुनुपर्ने लगनको समयमा आर्थिक नगरीका अधिकांश व्यापारीहरू ग्राहकलाई कुरेर बसेका देखिन्छन् । पसलमा ग्राहकहरू पसे पनि मोलाइ गरेर फर्किनेको संख्या बढी भएको व्यवसायीहरूको भनाइ छ । लगातार व्यापार खस्किइरहँदा आर्थिक नगरीमा निराशा देखिएको छ ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया