इलाममा दुई सय वर्षअघिको इतिहास खोजी : ‘निशान पदमार्ग’ विकास गरिँदै

इलाम । इलाममा दुई सय वर्ष अघिको युद्ध इतिहास खोज्न थालिएको छ । अंग्रेज–नेपाल युद्धपछि १८७२ फागुन २० मा भएको सुगौली सन्धिपश्चात् नेपाली सेनाले इलाम सदरमुकामसम्म निशान ल्याउन प्रयोग गरेको मार्ग पहिचान गरी ‘निशान पदमार्ग’ को रूपमा प्रवद्र्धन र विकास गरिने भएको छ ।

इलाम सदरमुकामस्थित नेपाली सेनाको रणसार्दुल गणको पहलमा भारतको मिरिकस्थित नागरीगढीदेखि करफोकको पूर्णेडाँडा, नामसालिङ हुँदै इलाम नगरपालिका–७ स्थित माइस्थान मन्दिरमा निशान ल्याउन प्रयोग भएको नेपाली भूभागको मार्ग पहिचान गरी ‘निशान पदमार्ग’ का रूपमा विकास गर्न लागिएको हो ।

रणसार्दुल गणका गणपति प्रलाद घलेको पहलमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहित सुरक्षा निकायका प्रमुख, पदमार्गले छुने पालिकाहरू इलाम नगरपालिका, सूर्योदय नगरपालिका र माइजोगमाई गाउँपालिकाका प्रमुखहरूको बैठकले त्यस्तो निर्णय गरेको गणपति घलेले जानकारी दिए ।
‘सम्बन्धित स्थानीय तहहरूको पहलमा जनप्रतिनिधि र स्थानीय बासिन्दासँगको समन्वयमा निशान ल्याउँदा प्रयोग भएको मार्गलाई निशान पदमार्गको रूपमा विकास गर्न आआफ्नो क्षेत्रभित्र पर्ने इलाकाको पहिचान गर्न सम्बन्धित पालिकाहरूले नेतृत्व गर्ने निर्णय भएको छ’, गणपति घलेले भने, ‘सो बाटोकको पहिचान गर्न एक समिति गठन गरी कार्य प्रारम्भ भएको छ ।’

समितिले पहिचान गरेको स्थानहरूमा ऐतिहासिक महत्व झल्किने किसिमका प्रवद्र्धनात्मक सामग्रीहरू तयार गर्न पालिका र नेपाल पर्यटन बोर्डसँग समन्वय गरिनेसमेत उनले बताए । ‘निशान पदमार्ग’ का लागि पर्यटन बोर्डले १० लाख रुपैयाँ विनियोजनसमेत गरेको उनले जानकारी दिए ।

इलामको ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदाको खोज, पहिचान, संरक्षण तथा प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले निशान पदमार्गलाई विकास गर्न खोजिएको गणपति घलेले बताए । ‘इतिहासको संरक्षणमा ठोस योगदान पुग्नेछ, इलामबासीको धार्मिक र सांस्कृतिक आस्थाको केन्द्रको रूपमा रहेको माईस्थान मन्दिर क्षेत्रको महत्व बढ्नेछ’, उनले भने, ‘समग्रमा इलामको पर्यटन व्यवसायमा सकरात्मक प्रभाव पार्नेछ ।’

‘निशान पदमार्ग’ निर्माणका लागि इलाम नगरपालिका, सूर्योदय नगरपालिका र माईजोगमाई गाउँपालिकाले समेत चासो देखाएका छन् । सूर्योदय नगरपालिका उपप्रमुख दुर्गाकुमार बरालले आफ्नो नगरपालिकाका भूभागभित्र निशान ल्याइएको मार्ग पहिचान गर्न प्रारम्भिक अध्ययन सुरु गरिएको बताए । ‘हामीले एक पटक समन्वय बैठक बसेर निशान ल्याइएको मार्ग पहिचान गर्न अध्ययन सुरु गरिसकेका छौँ’, बरालले भने, ‘पमदमार्गसहित गढीसमेत राख्ने पहल गरिरहेका छौँ ।’

माईजोगमाई गाउँपालिका अध्यक्ष कुशबहादुर थेवेले विस्तृत योजना बनाएर अगाडि जानुपर्नेमा जोड दिए । ‘पदमार्गले अकुपाई गर्ने जग्गा व्यवस्थापन गर्ने जिम्मा सम्बन्धित पालिकालाई दिएर जानुपर्छ’, अध्यक्ष थेबेले भने, ‘इतिहासको खोजी गरी पर्यटनको विकासमा समेत टेवा पु¥याउने यस्तो काममा माईजोगमाई गाउँपालिका सधैँ तत्पर छ ।’

तत्कालीन अंग्रेज–नेपाल युद्धपछि १८७२ फागुन २० मा भएको सुगौली सन्धिले पूर्वमा मेची नदीलाई नेपाल–भारत सीमा कायम भयो । त्यसपछि मिरिकस्थित नागरीगढीमा रहेको श्रीनाथ सिंह पल्टन अहिलेको इलाम सूर्योदय नगरपालिकाको करफोकस्थित पूर्णेडाँडामा आएर बसेको इतिहास छ ।
मेचीदेखि नागरीगढी हुँदै टिस्टासम्मको भू–भाग ४० दिनभित्र गढी खाली गर्न सम्झौता भयो । सम्झौता कार्यान्वयन गर्दै सुब्बा जयन्त खत्रीले नागरीगढी खाली गरी सदरमुकाम करफोक ल्याएका थिए ।

पूर्णेडाँडा भारतीय सीमानजिक भएको र अंग्रेजले जुनसुकै बेला आक्रमण गर्न सक्ने भएकाले मुकाम खडा गर्नेक्रममा माइजोगमाई गाउँपालिकाको नामसालिङस्थित हात्तीटार हुँदै श्रीनाथ सिंह पल्टन इलाम नगरपालिका–७ स्थित माईस्थान मन्दिर ल्याइएको थियो । माईस्थान मन्दिर १८८० सालमा स्थापना भएको अनुमान छ । हाल निशान सोही मन्दिरमा संरक्षण गरी राखिएको छ ।

प्रतिक्रिया