हेटौँडामा एउटा संस्थागत र दुईवटा सामुदायिक विद्यालयलाई बालमैत्री विद्यालय घोषणा

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले मंगलबार एकै दिन एउटा संस्थागत र दुईवटा सामुदायिक विद्यालयलाई बालमैत्री विद्यालय घोषणा गरेको छ ।

उपमहानगरपालिकाकी मेयर मिना लामाले हेटौँडा– ८ कमानेस्थित चन्द्रोदय माध्यमिक विद्यालय, हेटौँडा–१६ स्थित जनप्रिय प्राविधिक माध्यमिक विद्यालय र हेटौँडा– २ स्थित बालजागृति इङ्गलिस सेकेण्डरी स्कुललाई बालमैत्री विद्यालय घोषणा गरेकी हुन् ।

तीनवटै विद्यालयले उपमहानगरपालिकाले तोकेका ११ वटा सूचक अन्तर्गतका २६ वटा कार्य सम्पन्न गरेकाले बालमैत्री विद्यालय घोषणा गरिएको हो । उपमहानगरपालिका, स्थानीय सरकार र राष्ट्रिय सहजकर्ताको विभिन्न समयमा गरिएको अनुगमनपछि यी विद्यालयहरू बालमैत्री घोषणाको चरणमा पुगेका थिए ।

चन्द्रोदय माविले गत फागुन २ गतेनै बालमैत्री विद्यालय घोषणा मापदण्ड पूरा गरेको प्रमाणपत्र प्राप्त गरेको भए पनि विद्यालयको स्थापना दिवसको दिन घोषणा गरिएको हो । यस्तै, जनप्रिय प्राविधिक माविलाई पनि यही मंगलबार बालमैत्री विद्यालय घोषणा भएको छ ।

बालजागृति इङ्गलिस सेकेन्डरी स्कुल मंगलबारै बालमैत्री विद्यालय घोषणा गरिनुपूर्व बिहानै र्याली गरी नगरपरिक्रमा गरिएको थियो । हेटौँडा उपमहानगरपालिकामा ४७ वटा संस्थागत र ७३ वटा सामुदायिक विद्यालय रहेका छन् ।

रूपक कालिराज

मकवानपुर

प्रतिक्रिया