बारा । जीतपुरसिमरा उपमहानगरपालिका–३ बजनीमा आयोजना हुन लागेको जीतपुरसिमरा महोत्सव–२०८० को सम्पूर्ण तयारी पूरा भएको छ ।
बिहीबार महोत्सवस्थल बजनीमा पत्रकार सम्मेलनको आयोजना गरेर महोत्सवको तयारीबारे जानकारी दिएको हो । महोत्सवको शुक्रबार मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले उद्घाटन गर्ने कार्यक्रम छ ।
जीतपुरसिमरा–३ स्थित मालपोत कार्यालय नजिकको खुला चौरमा १८ देखि २९ फागुनसम्म महोत्सव आयोजना गर्न लागिएको हो । ‘कृषि, पर्यटन, खेल, उद्योग र व्यापार, जीतपुरसिमरा, बारा मधेस समृद्धिको मुख्य आधार’ को नारासहित जीतपुरसिमरा महोत्सव र पहिलो जीतपुरसिमरा एक्स्पो २०२४ हुन् लागेको छ ।
जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको नेतृत्वमा पहिलोपटक महोत्सवको आयोजना गर्न लागेको हो । संघले १२ दिने महोत्सवले सुस्त रहेको व्यावसायिक क्षेत्रलाई चलायमान बनाउने अपेक्षा लिएको छ । संघका अध्यक्ष मोहन शर्मा लामिछानेले आर्थिक मन्दीका कारण ठप्प व्यावसायिक क्षेत्रलाई एकै थलोमा उभ्याउने र चलायमान बनाउन प्रवद्र्धन तथा प्रोत्साहन गर्ने उद्देश्यले महोत्सवले गर्न लागिएको बताए ।
महोत्सवलाई करिब एक लाखभन्दा बढीले अवलोकन गर्ने लक्ष्य रहेको नगर उद्योग वाणिज्य संघले राखेको छ । महोत्सवमा प्रवेशका लागि विद्यार्थीले २५ र अन्यले ५० रुपैयाँ शुल्क तिर्नुपर्नेछ भने अपांगता र ज्येष्ठ नागरिकले निःशुल्क अवलोकन गर्न सक्नेछन् ।
‘हाम्रो लक्ष्य सबैलाई एकै थलोमा उभ्याउने, व्यावसायिक संस्था वा व्यक्तिले उत्पादन, कला, सेवाको प्रवद्र्धन गर्न वातावरण बनाउने हो’, लामिछानेले भने, ‘पक्कै पनि यो महोत्सव उहाँहरूका लागि एउटा प्लेटफर्म बन्नेछ र मन्द अवस्थामा रहेको व्यावसायिक क्षेत्रलाई चलायमान बनाउन कोसेढुंगा सावित हुनेछ ।’
लामिछानेले महोत्सवमा आर्थिक, शैक्षिक, पर्यटन, कृषिलगायत विभिन्न क्षेत्रको प्रदर्शनी रहने जनाएका छन् । महोत्सव अवलोकन गर्न आउने नागरिकले ती व्यावसायिक क्षेत्रका बारेमा बुझ्न पाउने र आवश्यकता अनुसारका सामग्री खरिद तथा सेवाबारे परामर्श लिन सक्ने लामिछानेले बताए ।
महोत्सवलाई सफल बनाउनका लागि स्थानीय, प्रदेश र संघीय सरकार, निजी क्षेत्रबाट सहयोगको अपेक्षा संघले राखेको लामिछानेले बताएका छन् । महोत्सव आयोजनाका लागि स्थानीय सरकार, प्रशासन र सम्बन्धित क्षेत्रबाट स्वीकृति प्राप्त भइसकेको लामिछानेले जानकारी दिए ।
महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको उपस्थितिमा दैनिक सांस्कृतिक कार्यक्रम, कुस्ती प्रतियोगिता, बाल उद्यानलगायत विभिन्न मनोरञ्जनका क्षेत्रलाई समेटिने संघका महासचिव प्रकाश गिरीले बताए ।
बारा
प्रतिक्रिया