काठमाडौं । नेपाल उद्योग परिसंघ, अमेरिकन चेम्बर अफ कमर्स र नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आइ.टी सर्भिसेस कम्पनीले विद्युतीय व्यापार विधेयकमा गरिनुपर्ने सुधार सम्बन्धी सुझाव सरकार र संसदीय समिति समक्ष पेश गरेका छन् ।
परिसंघसहित तीन संस्थाले सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा र संसदीय शिक्षा, स्वास्थ्य तथा प्रविधि समिति सभापति भानु भक्त जोशीलाई भेटी प्रस्तावित विधेयकमा गरिनुपर्ने सुधार सम्बन्धी तीन महलेसहितको सुझाव पेश गरेका हुन् ।
परिसंघको सूचना प्रविधि परिषद् सभापति अजित विक्रम शाहसहितको टोलीले मन्त्री शर्मासँग भेट गरी विद्युतीय व्यापार सम्बन्धी व्यवस्था सकारात्मक भए पनि विधेयकको परिभाषा, विद्युतीय व्यापार सम्बन्धी पक्षहरुको दायित्व, सजायको व्यवस्था, अन्तर्राष्ट्रिय बजारमा पहुँच जस्ता प्रमुख पक्षहरुमा स्पष्ट गर्न आग्रह गरे । साविकमा भएको व्यवस्था, संशोधन गर्न प्रस्ताव गरिएको व्यवस्था र संशोधन गर्नुपर्ने कारणसहित तीन महले ढाँचामा सुधार गर्नुपर्ने सुझावहरु दिइएको छ । सो अवसरमा नेपालमा ठूला लगानीकर्ताले सूचना प्रविधि क्षेत्रमा लगानी गर्ने वातावरण बनाउन आग्रह गरिएको थियो ।
सुझाव लिदै मन्त्री शर्माले सरकार सूचना प्रविधि र साइबर सुरक्षालगायतका आवश्यक कानुन निर्माणको प्रक्रियामा रहेको बताइन् । उनले सरकारको नीति तथा कार्यक्रम र बजेटमा सूचना प्रविधि क्षेत्रका सम्बन्धमा सरकारलाई लिखित सुझाव दिन आग्रह गर्दै आगामी लगानी सम्मेलनमा प्रस्तुत गर्न सूचना प्रविधि क्षेत्रका परियोजना तयारी गर्न निजी क्षेत्रलाई आग्रह गरिन् ।
यसैगरी संसदीय शिक्षा, स्वास्थ्य तथा प्रविधि समिति सभापति जोशीलाई विद्युतीय व्यापार विधेयकमा गरिनुपर्ने सुधारका लागि सुझाव पेश गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया