पक्राउ परेका दुवै जनामाथि कर्तव्य ज्यान मुद्दा दर्ता

बारा बिस्फोट

बारा । बाराको निजगढमा शंकास्पद बस्तु बिस्फोट घटनामा पक्राउ परेका दुई जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ । निजगढ नगरपालिका–७ सहिद चोकस्थित रोहित वर्कसपमा सोमबार भएको बिस्फोटको घटनामा पक्राउ परेका एक जना भारतीयसहित दुई जनामाथि कर्तव्य ज्यान मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

सोमबार भएको उक्त बिस्फोटमा परी तीन जनाले ज्यान गुमाइसकेका छन् । बिस्फोटमा परी ग्यारेज सञ्चालक ४५ वर्षीय रेशम मगर, भारत घर भएका ३५ वर्षीय राकेश जैसवाल र पर्सा वीरगञ्ज घर भएका २० वर्षीय रितु रजतको मृत्यु भएको छ । विस्फोटमा घाइते भएका ६ जनामध्ये तीन जनाको उपचारको क्रममा मृत्यु भएको हो । वर्कसपमा बिस्फोट भएको शंकास्पद वस्तु किन्ने र बिक्री गर्ने दुवै जनाविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दा दर्ता गरेर कारबाहीको प्रक्रिया अगाडि बढाइएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले बताए ।

निजगढ नगरपालिका–९ का कवाडी सञ्चालक राज जैसवालले ‘प्रोजोक्टाइल’जस्तै देखिने वस्तुमा भएको तामा निकाल्न ल्याएको र सो क्रममा उक्त वस्तु विस्फोट भएको प्रहरीको भनाइ छ । जैसवालले सुरुमा कवाडीमै तामा निकाल्न प्रयास गरे पनि नसकेपछि ग्यारेजको लेथमा ल्याएका थिए ।
लेथले काट्ने प्रयास गर्दा उक्त वस्तु बिस्फोट भएको थियो । प्रोजोक्टाइल मिसाइलमा प्रयोग हुन्छ । यो नेपालमा नपाइने प्रहरीले जनाएको छ । सो वस्तुमा इन्डियन फिल्ड गन १०५ एमएममा प्रयोग हुनेजस्तो देखिएको प्रहरीको भनाइ छ । बिस्फोटपछि कवाडी सञ्चालक जैसवाल र उनकी श्रीमती सुशीलादेवी जैसवाल एम्बुलेन्समार्फत भारततर्फ जाँदै गर्दा प्रहरीले पक्राउ गरेको छ ।

घटनाको अनुसन्धानको क्रममा भारत मोतिहारी बस्ने ४० वर्षका रमेश जयसवाल र निजगढ नगरपालिका–९ बस्ने २९ वर्षका टीकाराम पाख्रिनलाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ । बिस्फोटबाट कारखाना नजिकका घरहरूमा समेत क्षति पुगेको छ । घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय निजगढ र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको छ । वर्कसपमा बिस्फोट भएको शंकास्पद वस्तुलाई परीक्षणका लागि काठमाडौं प्रयोगशालामा पठाइएको छ ।

प्रतिक्रिया