पनौती नगरपालिका– ५ बालश्रममुक्त वडा घोषणा

काभ्रे । जिल्लाको पनौती नगरपालिका– ५ लाई बालश्रममूक्त वडा घोषणा गरिएको छ । मंगलबार वडा कार्यालयमा आयोजित समारोहमा स्थानीय जनप्रतिनिधि, शिक्षक, आमा समूह, युवा क्लब, बालक्लब लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले बालबालिकाहरुलाई कानुन विपरितको बालश्रममा प्रयोग नगर्ने हस्ताक्षरित प्रतिबद्धतासहित पाँच नम्बर वडा लाई बालश्रममूक्त वडा घोषणा गरिएको हो । वडालाई पनौती नगरप्रमुख रामशरण भण्डारी, उपप्रमुख गीता बन्जरा र वडाध्यक्ष विनोद खत्रीले संयुक्तरुपमा वडालाई बालश्रममुक्त वडा घोषणा गरेका हुन् ।

कार्यक्रममा बोल्दै नगरप्रमुख भण्डारीले बालश्रम कानुन विपरितको कार्य र सामाजिक अपराध भएकाले बालबालिकाहरुलाई श्रममा लगाउने कामलाई पूर्णरुपमा निरुत्साहित गर्नुपर्ने बताए । उनले पनौती नगरपालिका नै बालश्रममूक्त नगरपालिका घोषणको तयारी भइरहेको भन्दै भोलिका दिनमा सबैले यसको पालना समेत गर्न आग्रह गरे ।

हरेक बालबालिकाहरुले परिवारसँग बस्ने, स्कुल जाने अधिकार पाउने भएकाले उनीहरुको आधारभूत अधिकारको रक्षा गर्दै उज्वल भविष्य निर्माणमा सघाउनु हरेक नागरिकको दायित्व भएको समेत भण्डारीले बताए । कार्यक्रममा उपप्रमुख गीता बन्जराले सबै वडाहरु बालश्रममुक्त वडा घोषणाको तयारीमा रहेको बताइन् । नगरले बालबालिकाहरुको क्षेत्रमा धेरै काम गरिरहेको बन्जराले बताइन् ।

घोषणा कार्यक्रममा वडाध्यक्ष विनोद खत्रीले वडाका हरेक श्रम हुने क्षेत्रलाई निगरानी गरिने र बालबालिकाहरुको प्रयोग भएको पाइएमा कानुनबमोजिम कारबाहीको प्रक्रियामा जाने भन्दै बालश्रममुक्त घोषणालाई व्यवहारिक कार्यान्वयनमा सम्बन्धित सबै सरोकारवालाहरुले ध्यान दिनुपर्ने बताए ।

यस पनौती– ५ मा अनुगमन गर्दा ९ जना बालबालिकाहरु वडा बाहिरको भेटिएकाले उनीहरुलाई पनि अहिले सबैलाई विद्यालय जाने वातावरण बनाएर विद्यालय गइरहेको उनले बताए । वडा नम्बर ५ मा रहेका होटल, उद्योगलगायतमा वडाले अनुगमन गरी वडा बालश्रममूक्त घोषण गरेको उनले बताए । उनले बालश्रममुक्त वडा निरन्तर कायम राख्न सबै वडाबासीको साथ आवश्यक रहने बताए ।

वडास्तरमा गरेको सर्वेक्षणको आधारमा बालश्रममा रहेका बालबालिकाहरु नभेटिएको र बालश्रमको जोखिममा रहेका बालबालिकाहरुलाई शैक्षिक सामग्री र स्टेशनरीलगायतका सामग्री सहयोग गर्ने गरी बालश्रममुक्त घोषणा अभियान सञ्चालन गरेको उनको भनाई थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य, नगरपालिकाका शिक्षा शाखा निर्देशक प्रणराज न्यौपाने लगायतले बालबालिकाहरुको अधिकार सुरक्षित गराउँदै उनीहरुलाई कानुन विपरितका श्रममा नलगाउन आग्रह गरेका थिए । बालश्रममूक्त घोषण सभामा वडामा सञ्चालन भएका होटल, कलकारखाना लगायतका सञ्चालकहरु एवं विभिन्न संसस्थाहरुलाई बालश्रममूक्त वडा घोषणमा सहयोग गरेवापत प्रसंशापत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा पनौती नगरपालिका बालसञ्जालका अध्यक्ष दीक्षित न्यौपानेले पनौती नगरपालिकाको सबै वडाहरू निरन्तर बालश्रममुक्त वडा घोषणा गर्दै गर्दा आफूले हरेक साथीहरुको सुन्दर भविष्य देखेको बताए । उनले बालश्रम र बाल कामबीचको फरकलाई हरेक बालबालिकाहरूलाई मनन गर्न पनि आग्रह गरे । कार्यक्रममा २०७९ सालमा एसइई परीक्षामा नगरपालिकाभित्र टप वडा नम्बर ५ का विद्यार्थी र वडाबासीको रूपमा रहेका प्रतिभा साहित्यकार रामसुन्दर देउजा लगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा स्वागत मतन्य वडाका महिला सदस्य उजेली मिजारले गरेकी थिइन् भने कार्याक्रम सञ्चालन गीता तिमल्सिनाले गरेकी थिइन् । कार्यक्रममा वडाका हाइल्यान स्कूलका विद्यार्थीहरुले बालश्रम नामक नाटक प्रस्तुत गरेका थिए भने विभिन्न विद्यालयका विद्यार्थीहरुको सांगीतीक प्रस्तुतीसमेत रहेको थियो । पनौती नगरपालिकामा यसअघि पनौती नगरपालिका वडा नम्बर ११ बालश्रममुक्त वडा घोषणा भइसकेको थियो । पनौती पाँच दोस्रो पनौती पाँच दोस्रो वडाको रूपमा मंगलबार घोषणा भएको हो ।

प्रतिक्रिया