सडक बनेको तीन वर्ष बितिसक्दा पनि मुआब्जा नपाएको भन्दै पीडितहरु आन्दोलित

बारा । सरकारले सडक बनेको तीन वर्ष बितिसक्दा पनि बाराका तामागढी–सिमरौनगढ सडकखण्डको मुआब्जा वितरण नगर्दा उक्त सडक खण्डमा जग्गा परेकाहरू अहिले आन्दोलित भएका छन् ।

मुआब्जा पीडितहरुले बिहीबार बाराको निजगढमा आन्दोलन गरेका छन् । सहभागीहरूले बाटोको मुआब्जा ब्याजसहित दिलाइदेउ, अर्थमन्त्री मुर्दावाद, हाम्रो माग पूरा गर, नालायक सरकार मुर्दावादलगायतका नारा लगाएर विरोध प्रदर्शन गरिरहेकका छन् ।

तामागढी सिम्रौनगढ सहयोग तथा मुआब्जा संघर्ष समितिले निजगढमा सडक बन्द गरेर विरोध प्रदर्शन गरेका छन् । तामागढीको प्रस्थान बिन्दुमा हुलाकी सडक बन्द गरेर उनीहरुको आन्दोलन गरिरहेका छन् भने पूर्व–पश्चिम लोकमार्गसमेत अवरुद्ध गर्न सक्ने भन्दै ठूलो मात्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

संघीय सरकारअन्तर्गत हुलाकी मार्ग आयोजना वीरगञ्ज कार्यालयको कार्यक्षेत्रभित्र पर्ने यो सडक बन्दा दायाँबायाँबाट १५–१५ मिटर अधिग्रहण गरी सडक निर्माण भएको थियो ।

यो सडकले दक्षिणमा दसगजादेखि बीचमा हुलाकी मार्ग हुँदै उत्तरमा पूर्व–पश्चिम राजमार्ग तथा निजगढ–काठमाडौं द्रुतमार्गलाई जोड्छ । सिम्रौनगढ, कोल्हवी नगरपालिका र बारागढी, आदर्श कोतवाल गाउँपालिका गरी चार पालिकाअन्तर्गत पर्ने यो सडक सात मिटर चौडाइमा बनेको छ ।

नेपाल र भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको बाराको तामागढीदेखि सिम्रौनगढ हुलाकी सडकखण्डको निर्माण २०७७ चैत १९ हाते सम्पन्न भएको थियो । सडक खण्डको कोल्हबी नगरपालिकाको पूर्वनगरप्रमुख भरतबहादुर भण्डारी र हुलाकी आयोजनाको निवर्तमान प्रमुख दरोगा साहले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

तर, सरकारले निर्माण सम्पन्न भएको तीन वर्ष बितिसक्दा समेत मुआब्जा नदिएपछि उनिहरु आन्दोलित भएका हुन् । मुआब्जा पीडितहरुले यो भन्दा पहिला कोल्हवी र सिम्रौनगढमा विरोध प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया