अनलाइन पत्रकारिताको विश्वसनीयता र चुनौती

अहिले युट्युबरले बिगारे, अनलाइनका नाममा विकृति भयो भन्ने एउटा जार्गन बनेको छ । धेरैजसो त्यस्ता अनलाइन र अनलाइन टिभी भनेर चलाउने च्यानलहरू मूलधारका मिडिया विशेषगरी अनलाइनका समाचार, लेख र विश्लेषणहरूलाई भ्वाइसओभर गरेर फोटोलाई भिडिओमा खेलाएर सनसनी मच्चाएर भ्युज बढाइरहेका छन् । मूलधारले मल्टिमिडियामा राम्रो समाचार कन्टेन्टहरूमा खेल्ने हो भने उनीहरूको खेतीपाती बन्द हुन्छ । जहाँसम्म चुनौतीको कुरा हो, चुनौतीबिनाको कुनै क्षेत्र हुँदैन ।

मात्रिका पौडेल

रथीमा बढुवा हुन सकेको भए नौ महिनापछि ताराध्वज पाण्डे नेपाली सेनाको प्रधानसेनापति बन्ने थिए । तर दसैँको बिदाका बेला सबै रमझममा व्यस्त रहँदा नेपाल प्रेस अनलाइनले पाण्डेको नागरिकता किर्तेको प्रमाणसहित समाचार बाहिर ल्यायो । अन्ततः सोही समाचारका कारण रथी बढुवा सिफारिस भइसकेका पाण्डेले राजीनामा दिएर घर जानुपर्यो । ३८ वर्षअघिको बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणको समाचार उकालो र टक्सारले विस्तृतमा उधिनेपछि व्यापारी अरुण चौधरी सिआइबीको हिरासतमा पुगे ।

टेरामक्स प्रविधिमा अर्बौंको घोटाला भएको र यसको सबै प्रक्रियामा अनियमितता रहेको प्रमाणसहित नेपाल प्रेसले समाचार प्रकाशन गरेको महिनौँपछि अख्तियारले छानविन थालेर मुद्दा दर्ताको प्रक्रियामा छ । नेपाल प्रेसको समाचारलाई आधार बनाएर अन्य मूलधारका सबै मिडियामा टेरामक्स भ्रष्टाचारको सिरिज नै आउने क्रममा केही मन्त्रीहरू नै छानविनको दायरामा आएका छन् ।

बितेका केही दिन र महिनाभित्रका सामान्य घटनाक्रम हुन्, जसको समाचार उत्खनन् अखबार होइन अनलाइन मिडियाले गरेका थिए । पत्रिकामा नलेखेसम्म विश्वास नहुने जमाना अझै कायमै छ, तर अनलाइन मिडियाले नेपालमा मूलधारको नेतृत्व गरिसकेका छन् र नीति निर्माण अनि नियामक निकायलाई जवाफदेही बनाउन अनलाइन पत्रकारिता सबैभन्दा बलियो माध्यम बनिरहेको छ ।

मलाई दिइएको शीर्षक अनलाइनको विश्वसनीयता र चुनौती भन्ने छ । माथिका दुई उदाहरण नै काफी छन् अनलाइनको विश्वसनीयता पुष्टि गर्न । कुनै पनि माध्यमको विश्वसनीयता उसले गर्ने पत्रकारितामा निर्भर हुन्छ । पत्रकार र पत्रकारिता व्यावसायिक भयो भने माध्यम दोस्रो पक्ष हो ।

गल्ती सच्याउने तत्परता पत्रकारिताको सिद्धान्त हो । अखबारको गल्ती सच्याउन अर्को दिन वा अर्को मुद्रण पर्खिनुपर्छ तर अनलाइनले तत्कालै गल्ती सच्याउन सम्भव छ । यस हिसाबले विश्वसनीयताको कसीमा अनलाइन मिडिया नै प्रभावकारी माध्यम हो, यदि नियत नै गलत छैन भने ।

हरेक पत्रकार आफूले लेखेको वा खोजेको समाचारप्रति विश्वस्त हुनुपर्छ । खोजपत्रकारिताका लागि अनलाइन माध्यम नै बलियो मानिन थालेको छ, किनकी यसमा कुनै सीमा (पेज वा अक्षर)को हुन्न । तत्कालै विभिन्न माध्यमबाट जनताले हेर्न, बुझ्न र सार्वजनिक बहसमा समेत भाग लिन पाउने भएकाले अनलाइनको विश्वसनीयता अनलाइन पत्रकारहरूको लागि आफैँमा चुनौतीपूर्ण बन्दै पनि गएको छ ।

सञ्चारमाध्यमको विश्वसनीयता र चुनौती आफैँमा अन्त्यहीन बहस शृंखला हो । पत्रकारितामा यो बहस चलिरहनुपर्छ अनि मात्र मर्यादित, जिम्मेवार र जवाफदेही पत्रकारिता विकास हुँदै जान्छ । साप्ताहिक पत्रिका, दैनिक, म्यागेजिन, टेलिभिजन र अनलाइन समाचारकक्षको नेतृत्व गरेको २६ वर्षका मेरा केही अनुभवले भन्छ अनलाइनको विश्वसनीयता जोगाउने काम पनि पत्रकारको नै हो ।

विशेषगरी अनलाइन पत्रकारिता नेपालमा मूलधार बनेसँगै समाचारको प्रस्तुतिका बारेमा बहस थालिएको छ । कतिपयले साप्ताहिकको टेस्ट दिइरहेका छन्, कतिपय दैनिक पत्रकारिताको पनि औपचारिक अभ्यास हुनुपर्छ भनिरहेका छन् । कतिपयले म्यागेजिन स्टोरीमा जोड दिइरहेका छन् । अडिओ र भिडिओको समेत सुविधा भएकाले अनलाइन पत्रकारिता मल्टिमिडियाको उत्कृष्ट प्लेटफर्म बनेको छ ।

अहिलेका समाचार र अनलाइनको विश्ससनीयता

अनलाइन पत्रकारिता अहिले नेपालको सन्दर्भमा ब्रेकिङ समाचारका लागि मुख्य स्रोत बनेका छन् । पहिले रेडियो र टेलिभिजन थिए ब्रेकिङमा । अहिले त रेडियो र टेलिभिजनका समाचार अधिकांश अनलाइनका पढिन्छन् । म आफैँ गाडीमा रेडियो सुन्दै जाँदा मैले लेखेको समाचारको शब्द शब्द रेडियोमा सुन्छु । अनलाइन पत्रकारितको विश्वसनीयताको चुनौती भनेको चाँडो समाचार ब्रेक गर्ने होड नै हो । कसले चाँडो समाचार ब्रेक गर्ने भन्ने प्रतिस्पर्धा अस्वस्थ भइरहेको पनि छ । अपूरा र अपुष्ट ब्रेकिङले पाठकलाई अन्योल र अनलाइनप्रति जनआक्रोश पनि बेला बेला देखिन्छ । अनलाइन भन्यो सबै उस्तै भन्ने भ्रमबाट पाठकलाई मुक्त गर्न विश्वसनीयता जोगाउनुपर्छ ।

ब्रेकिङ भनेपछि अहिले हाम्रो आफ्नै पनि अभ्यास गरिरहेका छौँ । पहिले कम्तिमा हेडलाइन भने पनि पोस्ट गरेर सामाजिक संजालमा सेयर गरिहाल्ने, ताकी सबैभन्दा पहिले फलानो अनलाइनले यो समाचार ब्रेक गरेको भन्ने मानक स्थापित होस् । हेडलाइन सेयर गरेर लिड थप्ने अनि अरू थप्दै जाने अहिलेको समाचार स्टाइल हो । यो एक हदसम्म आवश्यक पनि छ, नत्र अर्कोले भ्याइदिन्छ । तर त्यो ‘भेरिफाइड’ हुनुपर्छ ।

कतिपय आज हुनेवाला अदालतका फैसला, मन्त्रिपरिषद्का निर्णय वा त्यस्तै कतिपय सन्दर्भमा पहिले नै समाचार नै रेडी बनाएर राख्ने र आदेश वा निर्णय आउनासाथ पब्लिस बटन थिच्ने अहिले अनलाइनको समाचार कक्षको शैली पुस्तिका जस्तै बनिसकेको छ । कहिलेकाहिँ एउटा पोस्ट हुनुपर्नेमा अर्को भइदिने खतरा भने यसमा छ ।

अहिलेका समाचारमा राजनीति, अपराध, क्रिकेट (खेल), अदालत बढी बिकाउ छन् । यसबाहेक अनलाइन समाचारमा खोजमूलक, अनुसन्धानात्मक र लङफर्म स्टोरी पनि पर्याप्त आइरहेका छन् तर ती कम चल्छन् । रेडियोमा प्रोफाइल स्टोरी र कुनै घटनाको विस्तृत रिपोर्टमा राम्रो छ ।

अनलाइनले मिहिनेत गरेका भ्रष्टाचार, अनियमितता वा सामाजिक विषयका स्टोरी भाइरल भएनन् भन्दैमा त्यसको महत्व घट्यो भन्ने होइन । अनलाइनले उत्खनन् गरेका विषयहरू इतिहासका अभिलेख मात्र होइन, अनुसन्धानकर्ताको लागि सन्दर्भ सामग्री पनि हुन् । त्यसैले भाइरल कन्टेन्ट मात्र खोज्ने होइन कि अनलाइनले विश्वसनीयताको कसीमा आफूलाई खरो सावित गर्न खोलमूलक स्टोरीमा ध्यान दिनैपर्छ ।
मिहिनेत गरेका समाचार सेयर तथा भाइरल नहुने भएकाले न्युजरुमको लिडर अनि लगानीकर्ता पनि भाइरल हुनेखालका समाचारमा जोड दिने प्रवृत्ति अहिलेको अनलाइन पत्रकारितको यथार्थ हो । जुन प्रेसर रेडियो, टिभी र पत्रिकाहरूमा कम छ । तर पत्रकारिता किन र कसका लागि भन्ने सोच राखेर गरिने कामले अन्ततः अनलाइनको विश्ससनीयता जोगाउने र मूलधारको पत्रकारिताको नेता बन्ने हो । अनलाइनमा ब्रेकिङ, फलोअप अनि त्यसैको लङ फर्म स्टोरी वा विश्लेषण अहिलेको समाचारको ट्रेन्ड अनि पाठक स्रोता दर्शकको रुची पनि हो । उदाहरणका लागि एउटा गठबन्धन टुटेर अर्को बन्छ त्यो लगातार अपडेटपछि पाठकले स्थापित कलमबाट इनसाइड स्टोरी खोज्छ । जुन पत्रिकाभन्दा अनलाइनप्रतिको विश्वास हो ।

अहिलेको अनलाइन समाचार हिजोका साप्ताहिक र दैनिक पत्रिकाको कक्टेल हो अनि हल्का म्यागेजिन र ऐना अभिसारिका तथा सत्यकथा तथ्यकथाको फ्लेबरवाला मसलाको स्वाद पनि हो । मूलधारका अनलाइन टेलिभिजनमा भाइरलमेनहरूका अन्तर्वार्ता उदाहरण हुन् । भ्रष्टाचारका समाचारचाहिँ अनलाइनमा पनि बिकाउ छन् । अझ फिगर र त्यसलाई इन्फोग्राफिक्स गर्ने प्रयास भइरहेका छन् । अहिले समाचारमा विविधता थपिएको छ र न्युजरुमहरू समावेशी हुँदा अनलाइन कन्टेन्टमा पनि विविधता बढेका छन् ।

डाटालाई राम्रोसँग प्रस्तुति गर्न सकिएन भने मान्छे अड्याउन सकिन्न । इन्फोग्राफिक्स बुझ्नेगरी बनाउन अब हरेक पत्रकारले समाचार लेख्न, बोल्न मात्र होइन मल्टिमिडिया चलाउन सक्ने हुनुपर्छ । जुन अभ्यास अनलाइनहरूले गरेका छन् । अबका अनलाइन समाचार मूलधारको मिडियाभन्दा बाहिरका भिडिओ कन्टेन्टहरूमा इंगेज भइरहेका युवा पुस्ता, गृहिणी र लेम्यानहरूलाई पनि जिम्मेवार मिडियातिर तान्ने खालका हुनुपर्छ ।

मिडिया लिट्रेसी भनेर मात्र हुँदैन, जिम्मेवार मिडियाले मूलधारको समाचारभन्दा बाहिरका कन्टेन्टबाट धारणा बनाउने बहुसंख्यक जमातलाई आफ्ना समाचार प्रस्तुतिबाट मूलधारमा तान्न अब मिहिनेत गर्नुपर्छ । त्यो सम्भव छ, अबको नयाँ पुस्ताका पत्रकारबाटै सम्भव छ र अनलाइन पत्रकारिता नै त्यसको बलियो माध्यम हो ।

मिसन समाचारबाट व्यावसायिक पत्रकारिताको युगमा दोस्रो पुस्ताका पत्रकारको समाचारले धेरै काम गरेको छ । अब मल्टिमिडियाबाट वैकल्पिक मिडियामा भर पर्ने र भ्रामक सूचनाको सिकार बन्ने अवस्थालाई अन्त्य गर्ने आँट गर्न सकिन्छ । मल्टिमिडिया नै अबको समाचारको धमनी हो । अब पत्रकारितामा आउने पुस्तालाई मल्टिमिडिया समाचारका बारेमा प्रशिक्षित गर्ने काम अनलाइनले गरिरहेका छन् ।
अहिले युट्युबरले बिगारे, अनलाइनका नाममा विकृति भयो भन्ने एउटा जार्गन बनेको छ । धेरैजसो त्यस्ता अनलाइन र अनलाइन टिभी भनेर चलाउने च्यानलहरू मूलधारका मिडिया विशेषगरी अनलाइनका समाचार, लेख र विश्लेषणहरूलाई भ्वाइसओभर गरेर फोटोलाई भिडिओमा खेलाएर सनसनी मच्चाएर भ्युज बढाइरहेका छन् । मूलधारले मल्टिमिडियामा राम्रो समाचार कन्टेन्टहरूमा खेल्ने हो भने उनीहरूको खेतीपाती बन्द हुन्छ ।

जहाँसम्म चुनौतीको कुरा हो, चुनौतीबिनाको कुनै क्षेत्र हुँदैन । अनलाइनको चुनौती भनेको पहिलो लगानी नै हो । ठूला लगानीका अनलाइनले व्यावसायिक पत्रकारिताका लागि योगदान दिएका छन् तर विज्ञापन बजार साँघुरिनु र बजार विस्तार नहुने कारण ठूला लगानीका अनलाइन टिक्न चुनौती बन्दै छ । स्वरोजगारमूलक अनलाइनहरूका लागि धेरै आर्थिक भार नपर्ने भएकाले उनीहरू टिक्न सहज छ तर सीमित साधन स्रोत र जनशक्तीका कारण उनीहरूले व्यावसायिक पत्रकारिता गर्न सहज छैन । यो चुनौतीका बीच पनि टिक्ने अनलाइनले नै अबको व्यावसायिक पत्रकारिताको नेतृत्व गर्दै विश्वसनीयता कायम गर्ने हुन् ।

(पौडेल नेपाल प्रेस अनलाइनका सम्पादक हुन्)

प्रतिक्रिया