शुभकामना

आजबाट हामीले प्रकाशनको १२औँ वर्ष पूरा गरेका छौँ । १२ वर्षमा खोलो पनि फर्कन्छ भन्ने नेपाली उखान छ । नेपाली मिडियामा भने १२ वर्षमा पनि खोलो फर्किएन । बरु मिडियामा अनेक अनेक संकट घुमीघुमी फर्र्किए । संकटलाई जीवनशैलीको एउटा अंग बनाउन सामथ्र्य राख्नेहरू अघि बढदैछन्, त्यो ताकत नहुनेहरू क्रमशः यो पेसाबाट विमुख हुँदैछन् ।
हामीले पनि सन्निकट संकटको राम्रै अनुभूत गरेका छौँ । र, प्रिन्ट मिडियासामु उत्पन्न भएका र जबर्जस्त निम्त्याइएका संकटको सामना गर्न आफ्नो बन्दोबस्ती सुरु गरेका छौँ ।


यस्तै कठिनाइबीच हाम्रो यात्राले आज १२ वर्ष पूरा गरेको छ । यस अवसरमा सम्पूर्ण पाठक वर्ग, सहकर्मी, विज्ञापनदाता एवं समस्त शुभचिन्तकहरूमा बधाई तथा शुभकामना व्यक्त गर्न चाहान्छौँ । वर्षौंदेखि चलिरहेका स्थापित र लोकप्रिय प्रकाशनहरूसमेत अहिले खुम्चिन विवश भएका छन् । आर्थिक संकटको सामना गरेर चलेका कैयन् प्रकाशन गृहहरूलाई आफ्नो प्रतिष्ठा जोगाउन धौ धौ छ । यो अवस्थाको सामना गरेर आफूलाई टिकाइराख्नकै लागि संघर्ष गर्नुपर्ने अवस्थाबाट अहिले नेपाली प्रकाशनगृहहरू गुज्रिरहेका छन् । यो परिस्थिति कसरी बन्यो ? मुलुकभर समग्र मिडियाको अवस्था कस्तो छ ? यो संकटको सामना गर्न सरकारले कस्तो भूमिका खेलिरहेको छ ? यो अवस्था आउनुमा स्वयं मिडियाकर्मीहरू कति जिम्मेवार छन् ? वार्षिकोत्सवको अवसरमा हामीले यी विषय खोतल्ने प्रयास गरेका छौँ ।

यस्तो परिस्थितिमा आमजनताको सुसूचित हुन पाउने अधिकारको ग्यारेन्टी गर्दै व्यावसायिक र जिम्मेवार पत्रकारितासँगसँगै अघि बढ्न सक्छ कि सक्दैन ? भन्ने बहस थप टड्कारो बनेको छ । लोकतन्त्रका लागि लडेका दलहरूका गतिविधिका कारण पे्रस स्वतन्त्रता तथा मुलुकको समग्र अवस्था संकट उन्मुख हुँदै छ भन्ने भाष्य जबर्जस्त स्थापित हुने अवस्था हुँदै छ । यो अत्यन्त दुःखद् हो ।


यो परिस्थितिमा पत्रकारिताको माध्यमबाट आफ्नो जिम्मेवारीलाई अझै परिष्कृत गर्दै लैजानुपर्ने आवश्यकता हामीले महसुस गरेका छौँ । हाम्रो यो प्रयासमा पाठक वर्ग तथा विज्ञापनदाताबाट प्राप्त सहयोग तथा हौसला अत्यन्त उत्साहजनक छ । त्यो नै हाम्रो शक्ति, सामथ्र्य तथा पुँजी हो । सौर्य राष्ट्रिय दैनिकको १३औँ वार्षिकोत्सवका अवसरमा हामी हाम्रा पाठक वर्ग, शुभचिन्तक तथा विज्ञापनदाताप्रति हार्दिक आभार प्रकट गर्दछौँ । यो परिस्थितिमा आफ्नो कर्ममा इमानदारीपूर्वक लागि आफ्नो संस्थाको प्रतिष्ठा कायम राख्न योगदान दिने सम्पूर्ण पत्रकार तथा कर्मचारीहरू धन्यवादका सही पात्र हुन् ।

प्रतिक्रिया