ट्रम्पले सार्वजनिक गरे आफ्नै ब्रान्डको जुत्ता

न्युयोर्क । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प हालै ठगी मुद्दामा दोषी ठहरिएका थिए । उनलाई न्युयोर्कको एक अदालतले गत शुक्रबार मात्र ३५ करोड अमेरिकी डलर क्षतिपूर्ति भराउन आदेश दिएको छ । यति मात्र नभएर अदालतले ट्रम्पलाई न्युयोर्कमा कम्पनीको निर्देशकका रूपमा काम गर्न तीन वर्षका लागि प्रतिबन्धसमेत लगाएको छ । वास्तवमा ट्रम्प र उनका छोरामाथि बैंक, बीमा कम्पनी र अन्य मानिसलाई झुक्याएर घरजग्गाको साम्राज्य खडा गरेको आरोप लागेको थियो ।

लाभ लिनका लागि उनीहरूले आफ्नो सम्पत्ति विवरण बढाइचढाई गरी पेस गरेका थिए । यसरी अदालतको कारबाहीमा परेको भोलिपल्टै ट्रम्पले भने आफ्नै ब्राण्डको जुत्ता सार्वजनिक गरेका छन् । ट्रम्पले भिक्ट्री ४७ नामको स्निकर जुत्ता र एउटा पर्फ्युम सार्वजनिक गरेका हुन् ।

सुनौलो रङको ट्रम्पको जुत्ताको मूल्य ३ सय ९९ अमेरिकी डलर र पर्फ्युमको मूल्य ९९ डलर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ट्रम्प आफैँले जुत्ता सार्वजनिक गरेका हुन् । उनको जुत्तामा अमेरिकाको झण्डा पनि देख्न सकिन्छ । ट्रम्पले यसै वर्षको नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकन पार्टीको तर्फबाट चुनाव लड्दै छन् ।

प्रतिक्रिया