मुख्यमन्त्री यादवले तेस्रोपटक विश्वासको मत लिँदै

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रोपटक विश्वासको मत लिने भएका छन् । मधेस सरकारमा सहभागी जनमत पार्टीले माघ ९ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आइतबार तेस्रोपटक विश्वासको मत लिने भएका हुन् । आइतबार २ बजे प्रदेशसभाको बैठकसमेत बोलाइएको छ ।

संघीय गठबन्धनको बैठक सम्पन्न भएसँगै मधेस प्रदेशका मुख्यमन्त्री यादवले ६ गते विश्वासको मत लिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

२०८० जेठ १ गते मधेस सरकारमा रहेको नेकपा (एमाले) ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले ३०औँ दिनमा जेठ ३० गते दोस्रोपटक विश्वासको मत लिएका थिए ।

सरकारलाई दिएको समर्थन कुनै दलले फिर्ता लिएमा पुनः ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने कानुन नेपालको संविधान २०७२ को धारा १८८ को २ मा मुख्यमन्त्रीले जुनसुकै बेला संसद् बैठक आह्वान गरी विश्वासको मत लिन सक्ने प्रावधान छ ।

मधेस प्रदेश सरकारमा १ सय ७ प्रदेशसभा सदस्यमध्ये बहुमतका लागि ५४ सदस्यको समर्थन चाहिन्छ । मधेस प्रदेशसभामा सबैभन्दा ठूलो दलको रूपमा रहेको नेकपा (एमाले) को २३ सिट, नेपाली कांग्रेसको २२ सिट र जनता समाजवादी पार्टी नेपालको १८ सिट रहेको छ ।

सभामा जनमत पार्टीको १३, लोकतान्त्रिक समाजवादी पार्टीको नौ, नेकपा (माओवादी केन्द्र) को नौ र नेकपा (एकीकृत समाजवादी) पार्टीको सात, नेपाल संघीय समाजवादी पार्टी एक, नागरिक उन्मुक्ति पार्टी एक, राष्ट्रिय प्रजातन्त्र पार्टी एक सिट र तीन स्वतन्त्र रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता अरुणकुमार झाले बताए । उनका अनुसार स्वतन्त्र निर्वाचित प्रदेशसभा सदस्यहरू कुनै पार्टीमा प्रवेशको आधिकारिक रूपमा सचिवालयमा कुनै जानकारी नभएको बताए ।

मधेस प्रदेश सरकारमा जसपा नेतृत्वको सरकारमा नेपाली कांग्रेस, लोसपा, माओवादी केन्द्र र नेकपा (एस) रहेका छन् । चार दल मिलाउँदा ६५ जनाको समर्थन देखिएको छ ।

प्रतिक्रिया