राजविराज । सप्तरीको बोदेबरसाइन नगरपालिका वडा नं १ देबहारीमा बैल (गोरु)गाडा दौड प्रतियोगिता सम्पन्न भएको छ । श्रीपन्चमीको अवसरमा हरेक वर्ष आयोजना हुँदै आएको गोरुदौड प्रतियोगिता सप्तरी जिल्लाको पूर्वी तथा पच्छिम भेगमा हरेक वर्ष आयोजना हुँदै आएको छ । धार्मिक मान्यताका आधारमा बैलगाडासहित प्रतियोगितामा भाग लिने गोरुलाई वर्षौंदेखि खानपिनमा गोरु धनीहरुले विशेष ध्यान दिएका हुन्छन् ।
कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य मधेस प्रदेश इन्चार्ज तथा राष्ट्रिय सभा सदस्य मृगेन्द्रकुमार सिंह यादव, बोदेबरसाइन नगरपालिकाका कार्यवाहक नगर प्रमुख रेणुकुमारी साह, समाजवादी महिला संघका केन्द्रीय सदस्य तथा मधेस प्रदेश प्रशिक्षण तथा तालिम केन्द्रको महिला विज्ञ डा. बाबी सिंह, वौद्धिक पेशाकर्मी महासंघको मधेस प्रदेश अध्यक्ष तथा पत्रकार महासंघ सप्तरीका पूर्व सभापति जितेन्द्र खडका लगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै, जसपा नेता अमरेन्द्र यादव, वडा १ का अध्यक्ष रबिन्द्र साह, पूर्व वडाध्यक्ष धिरेन्द्र यादवलगायत हजारौंको संख्यामा दर्शकको उपस्थित रहेको थियो ।
समाजमा तत्कालीन अवस्थामा गोरु धनीहरुले गोरुलाई नावैर (स्थानीय भाषा) मा खर सहितको खानपिन गराएर गोरुलाई वर्षौं पालेर प्रतियोगिताको दिनमा गोरुलाई सिङमा तेल लगाएर सिंगार–पटार गरिन्छ त्यसपछि गोरुको नाकमा थोरै तेल हालेर घाँटीमा घण्टी बाधेर गाडासहित प्रतियोगिता स्थलमा लगिन्छ ।
प्रतियोगितामा बोदेबरसाइन नगरपालिका वडा नम्बर १ देवहारीका महिन्द्र यादवको गोरु प्रथम, बलान बिहुल गाउँपालिका वडा नं २ दिघियाको जिवछ यादवको गोरु दोस्रो र बलान बिहुल गाउँपालिका वडा ४ बेल्हीका शिव नारायण यादवको गोरु तृतीय भएको छ । बिजेताहरुलाई प्रमुख अतिथी , बिशिस्ट अतिथि र आयोजकबाट नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरिएको थियो ।
सप्तरी
प्रतिक्रिया