चन्द्रा नमुना मावि बोदेबरसाइनमा संस्थापककाे शालिक अनावरण

सप्तरी । बोदेबरसाइन नगरपालिकाको मुटुमा रहेको श्री चन्द्रा नमुना माध्यमिक विद्यालयमा विद्यालयका संस्थापककाे शालिक तथा शिलालेख अनावरण गरिएकाे छ । बसन्त पञ्चमीको पावन अवसवरमा विद्यालयका संस्थापक स्व. शत्रुध्नप्रसाद सिंह र उनकी आमा चन्द्रावतीदेवी यादवको शालिकको अनावरण गरिएको हाे । श्री चन्द्रा नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, दाता परिवारका सदस्य तथा मधेस प्रदेश अन्तरगत, सप्तरी जिल्ला निर्वाचन क्षेत्र ४(ख) का प्रदेश सभा सदस्य अनिरुद्रकुमार सिंह यादवको अध्यक्षतामा विद्यालयमा स्थापना गरिएको विद्यालयका संस्थापकको शालिक तथा शिलालेख अनावरण कार्यक्रम बुधबार सम्पन्न भएको हाे ।

कार्यक्रममा बोल्दै प्रमुख मधेस प्रदेशका अर्थमन्त्री संजय यादवले वि.स. २०१३ सालमा विद्यालय स्थापना गरेर स्व. शत्रुघ्नप्रसाद सिंह यादवले साे भेगका जनताका लागि ठूलो योगदान गरेको बताए । साथै उनले पञ्चायतको धरोहरको रूपमा समेत रहेका स्व.शत्रुध्नप्रसाद सिंह यादवले विद्यालय भवन निर्माणमा करोडौंको जग्गा उपलब्ध गराएको र छोरीलाई पनि विद्यालय पठाउनुपर्छ भन्ने अभियान सञ्चालन गरी सामाजिक परिवर्तनमा ठूलो योगदान दिएको चर्चा गरे ।

कार्यक्रममा बोदेबरसाइन नगरपालिकाका कार्यवाहक नगरप्रमुख रेणुकुमारी साहले नगरपालिकाले विद्यालयकाे बृत्तिविकासमा चासो दिइरहेको बताइन् । नगरपालिकाले सबै विद्यालयलाई समान दृष्टिकोणले व्यवहार गरिरहेको बताउँदै उनले विद्यालय सुधारका लागि अभिभावक र शिक्षकको मुख्य भूमिका हुने बताएन् । कार्यक्रममा बोल्दै प्रमुख साहले विद्यालयको शैक्षिक विकासका लागि विभिन्न व्यक्तित्वहरुले खेलेको भूमिकाको खुलेर प्रशंसा गरिन् ।

कार्यक्रममा दाता परिवारका सदस्य तथा जसपा नेपालका महिला नेत्री डा. बबी कुमारी सिंह यादव, अन्य अभिभावकलगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो । सहयोगी दाताहरुको नाम शिलालेखमा लेखिएको र विद्यालय व्यवस्थापन समितिको पनि नामावली शिलालेखमा राखिएको प्रधानाध्यापक गौरीशंकर चौधरीले बताए । उनले यो अभियान अझैँ जारी रहेको बताउँदै सहयोगी सबैलाई धन्यवाद व्यक्त गरे । कार्यक्रमको अवसरमा सहयोगी दाताहरुलाई कदरपत्रले सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गौरीशंकर चौधरीले स्वागत गरेका थिए, भने कार्यक्रममा विद्यार्थीहरुले स्वागत गीत तथा नृत्यसमेत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया