‘हनी ट्रयाप’ मा पार्ने महिला थुनामा

काभ्रे । जिल्लाको धुलिखेल नगरपालिका–२ घर भएका धु्रवप्रसाद घोरसाइनेलाई आफैँ फकाएर बोलाउने अनि ‘हनी ट्रयाप’ अर्थात महिलासँग अनैतिक सम्बन्ध राख्न खोजेको बाहना बनाएर सर्वसाधारणलाई ठगी गर्ने गिरोहका केही सदस्य पुर्पक्षका लागि जेल चलान भएका छन् । केहीलाई पक्राउका लागि जिल्ला अदालत काभ्रेपलाञ्चोकले आदेश दिएको छ ।

नेपाल सरकार बादी र रमा कार्कीसमेत प्रतिवादी भएको ठगी मुद्दामा काभ्रेपलाञ्चोक जिल्ला अदालतले माघ २२ गते थुनामा राखेर थप अनुसन्धानका लागि आदेश गरेको छ । सूचना अधिकारी हिराकुमारी भण्डारीका अनुसार रमा कार्कीलाई थुनामा राख्न र उनीसँगै पक्राउ परेकी रमा कार्कीको दिदी रुपा कार्कीलाई धरौटीमा छाड्ने आदेश भएको छ । रुपा कार्कीलाई १ लाख ३० हजार धरौटी माग गरिएको थियो । उनीहरूसँगै धुलिखेल नगरपालिका–१ घर भएका यादव घोरसाइने र साविक दामन गाविस–१ घर भई परिवर्तित थाहा नगरपालिका–३ घर भई हाल ललितपुर महानगरपालिका–२ बस्ने विष्णुबहादुर कार्कीलाई पक्राउ आदेश जारी भएको छ । रमा र रुपा उनै विष्णुबहादुर कार्कीका छोरीहरू हुन् ।

धुलिखेल घर भएका यादव घोरसाइने पटकपटक ठगी घटनामा पक्राउ परेका व्यक्ति हुन् । केही वर्षअघि जेलसमेत बसेर छुटेका यादवले पुनः जेलबाट छुटेर सोही पेसा व्यवसायलाई निरन्तरता दिएका थिए । उनले आफन्तका रकमहरू लिएर ठग्ने तथा विभिन्न मुलुक पठाउँछु भन्दै गिरोहका सदस्यहरूसँग मिलेर ठगी गर्दै आएका थिए । उनी आफ्नै आमाको निधन हुँदासमेत किरिया गर्न आएनन् । रमा कार्की र यादव घोरसाइनेले हनी ट्रयापको माध्यमबाट ठगी गरेका थिए ।

ललितपुर महानगरपालिका–२ बस्ने ३१ वर्षीया रमा कार्कीसमेत लेनदेन मुद्दामा लिखत बदर र जालसाझी मुद्दामा पक्राउ परेका थिए । २०८० भदौ ३१ गते धु्रव घोरसाइनेलाई दिनुपर्ने रकम दिन्छु आउनु भनेर ललितपुर जिल्ला अदालतअगाडि बोलाई पाँच–सात जना व्यक्ति मिलेर बाटोमा हतियारसमेत देखाई हातपात गरी मुद्दा फिर्ता लिन धम्की दिएका थिए । विष्णुबहादुर कार्की, रमा कार्की र यादव घोरसाइनेले धु्रवप्रसाद घोरसाइनेसँग पटकपटक अमेरिका पठाउँछु भनेर लिएको नगद तथा सुनका गरगहनासमेत गरी करिब डेढ करोड ठगी गरेका थिए ।

अमेरिका पनि नपठाउने र पैसा पनि फिर्ता नदिने भएपछि धु्रवप्रसाद घोरसाइनेले जालसाझी र लेनदेन विषयमा मुद्दा दायर गरेका थिए । रमा कार्की लगायतले ग्लोबल आइएमइ बैंकको ५२ लाखको चेक दिएका थिए । सोही दिन सोही बैकको एटिएम कार्ड, तीन तोलाको सिक्री, आधा तोलाको आँैठी र दुई तोलाको ब्रासलेटसमेत उनीहरूले धु्रवप्रसाद घोरसाइनेबाट लुटेर लगेका थिए । २०८० भदौ १० गतेका दिन उक्त घटना भए पनि घोरसाइनेले शान्ति सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा निवेदनसमेत दिएका थिए । ध्रुवप्रसाद घोरसाइनेजस्ता थुप्रै व्यक्तिहरुलाई यादवमार्फत रमा कार्की र उनका बाबु विष्णुबहादुर कार्कीले ठगी गरेका थिए ।

प्रतिक्रिया