बारा । गाउँमा आएको प्रहरीको कुरा सुनेर बाराको कोल्हवी नगरपालिका–२ हनुमानगञ्जका तीन छक्क परे । आफ्नै श्रीमतीबाट बलात्कार मुद्दा खेप्न सक्ने कानुनी प्रावधान रहेको जानकारी पाएपछि गाउँका वृद्धहरू अचम्ममा परेका हुन् । श्रीमतीले श्रीमानसँग घरमा बस्न अस्वीकार गरेको अवस्थामा बलात्कार मुद्दा लाग्न सक्ने प्रावधानका बारेमा अस्थायी प्रहरी पोस्ट झुरझुरका प्रमुख प्रहरी सहायक निरीक्षक अशोक यादवले सुनाएपछि गाउँका वृद्धहरू केहीबेर अलमलिए ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत गाउँका महिला पुरुषलाई सचेतना फैलाउन ब्यानरसहित प्रसनि यादव हनुमानगञ्ज टोलमा आइतबार अपराह्न प्रहरी टोली लिएर पुगेका थिए । ‘अचम्भको कानुन छ बा बा श्रीमतीले कसरी बलात्कार मुद्दा गर्न सक्छिन्’, स्थानीय ६० वर्षीय खिमकुमार ठकुरीले भने, ‘श्रीमान श्रीमती घरजम गरी बस्नकै लागि त विवाह गरिन्छ नि ।’ श्रीमतिसँग बस्दा मुद्दा लाग्छ भने कुरा आफूलाई थाहै थिएन । श्रीमतीले बलात्कार मुद्दा गर्न मिल्छ र ?’ आफूले कानुन यस्तो रहेको कहिल्यै नसुनेको उनले बताए ।
वृद्धको यस्तो कुरा सुनेर कार्यक्रममा सहभागी महिलाहरू मुसुमुसु हाँसिरहेका थिए । आफूहरूले कहिल्यै नसोचेको कानुन बनेको रै’छ भन्दै उनीहरू मुस्कुराइरहेका थिए । तर यो कानुनको बारेमा सुनेर गाउँका पुरुषहरूको सातो उडेको थियो । उनीहरूको अनुहारबाट खुसीको रंग गायब भएको थियो । तर, केही अवस्थामा मात्र श्रीमतीले त्यो कानुन प्रयोग गर्न पाउने जानकारी पाएपछि राहत महसुस गरिएको उनीहरूले जानकारी दिए । श्रीमतीसँग बस्दा कसरी बलात्कार मुद्दामा परिन्छ भने जिज्ञासा स्थानीयले राखेपछि प्रहरी सहायक निरीक्षक यादवले त्यसको बारेमा प्रष्ट पारेका थिए । श्रीमती बिरामी परेको अवस्थामा श्रीमानले जबरजस्ती गर्न खोजेपछि मात्र कानुन लाग्ने व्यवस्था रहेको प्रसनि यादवले प्रष्ट पारेपछि वृद्धहरू राहत महसुस गरेका थिए ।
अहिलेसम्म आफूहरूले हामीले घरबाहिर निस्केकी महिला, किशोरीलाई एक वा एकभन्दा बढी पुरुषले मिलेर जबरजस्ती गर्न खोजेपछि वा गरेपछि मात्र बलात्कार मुद्दा लाग्ने जानकारी पाएको सोही कार्यक्रममा सहभागी बिपी पुष्पलाल वन सामुदायिक संस्थाका अध्यक्ष कपिलदेव राय यादवले बताए । आफ्नै घरमा बलात्कृत हुने महिलाको सुरक्षाका निम्ती कानुनले राम्रो प्रावधान ल्याएको उनले बताए । ‘यस्तो कानुन हुनुपर्छ हामीले पनि बिरामी श्रीमतीलाई जर्बजस्ती गर्नु हँुदैन भने विषयमा अबदेखि सचेत रहन्छौँ’, उनले भने, ‘अन्जानमा आफूहरूबाट पनि यस्तो गल्ती दोहोरिने गथ्र्यो ।’ अब यस्तो गल्ती आफूबाट नदोहोरिने प्रतिवद्धतासमेत सहभागी पुरुषहरूले व्यक्त गरेको उनले बताए । गाउँमा अहिलेसम्म यस्तो कार्यक्रम कहिल्यै भएको थिएन । यो कार्यक्रमले हाम्रो आँखा खोलीदिएको सहभागी पुरुषहरूले बताए ।
प्रतिक्रिया