मधेसको राजधानी कि प्राचीन मिथिलाको राजधानी ‘जनकपुरधाम’

प्राचीन समयमा मिथिलाको राजधानीको रूपमा रहेको जनकपुरधाम हजारौँ वर्षपछि फेरि राजधानी हुने गौरव केही वर्षअगाडि प्राप्त भयो । मधेस प्रदेशको प्रदेशसभाबाट दुईतिहाइ बहुमतका साथ मधेस प्रदेश स्थायी राजधानी जनकपुरधाम बनेको थियो । प्रदेशसभामा राजधानी बनाउने पक्षमा ७८ मत परेको थियो ।

जनकपुरधामले राजधानी बन्ने गौरव मिथिलाको राजनीतिक रूपमा देशको अस्तित्व समाप्त भएको हजारौँ वर्षपछि यो गौरव प्राप्त गरेको छ । त्रेतायुगमा यो भूभागको नाम मिथिला थियो । जहाँ शिरध्वज जनकले शासन गर्ने गर्थे । उनले शासन गर्ने मिथिलाको राजधानी जनकपुरधाम नै थियो । तर जनकवंशको अन्तिम राजा कराल जनकको शासन अन्त्य भएपछि मिथिलाका लागि अन्धकार युग नै सुरुआत भएको मानिन्छ । राजनीतिक रूपमा देशको रूपमा अस्तित्व समाप्त मिथिला कमजोर हुँदै गइरहेको थियो तर जनकपुरधामको भूमिका भने कुनै न कुनै रूपमा मजबुत नै थियो । मिथिला कमजोर हुँदै गएपछि जनकपुरधामले राजधानीको गौरव मात्रै होइन मिथिलाको भू–भाग पनि दुई देशमा विभाजित हुन पुगेको थियो । भू–भाग विभाजन भएपछि मिथिलाको शक्ति पनि क्षिण हुँदै गयो । यद्यपि जनकपुरधामले कुनै पनि राजनीतिक निर्णयमा आफ्नो भूमिका, राजनीतिक आन्दोलनमा भूमिका, ऐतिहासिक महत्व भने गुमाएको थिएन । जनकपुरधामले पटकपटक आफ्नो ऐतिहासिकता र विभिन्न राजनीतिक आन्दोलनमा आफ्नो भूमिका दर्शाउँदै आइरहेको छ । जनकपुरधामले त्रेतायुगदेखिको विरासत अझैसम्म बचाएर राखेको छ भन्दा अतिशयोक्ति नहोला ।

हुन त जनकपुरधामबारे ऐतिहासिक साक्ष्यहरू न्यूनतम एक हजार वर्षसम्मको पाइन्छ । तर आधुनिक जनकपुरधामको सुरूआत १७औँ शताब्दीदेखि भएको हो । जतिबेला सुरकिशोर दास जनकपुरधाम आए र अहिले जानकी मन्दिर भएको ठाउँमा एउटा नीमको रूखमुनि आफ्नो सधुक्कडी चिम्टा गाडे । त्यतिबेला त्यहाँ जंगल थियो । तर, ऐतिहासिक साक्ष्यहरूले जनक र जानकीसँग जोडिएको र घनाजंगलबीचको यो ठाउँ नजिकका क्षेत्रहरूमा परिचित रहेको थियो र सम्भवतः रामनवमीको सानोतिनो तीर्थालु जमघटसमेत सुरू भइसकेको थियो । यसबारे विद्यापतिको भूपरिक्रमा ग्रन्थलाई साक्ष्य महत्वपूर्ण छ । यस पुस्तकमा मैथिली भाषाका महाकवि विद्यापतिले विद्वतजनले जनकपुरधामलाई वैदेहहरूको ‘पुर’ नमानेको भनेका छन् । विद्यापतिको भनाइमा विद्वतजनले यस जनकपुरधामलाई ‘वैदेहहरूको नगर’ स्वीकार नगरे पनि लोकजनले यसै जनकपुरधामलाई राजा जनकको राजधानी र तीर्थ मान्ने गरेको भाव उत्पन्न गराउँदछ । यसले अरू जे भने पनि त्यतिबेला (१४औँ शताब्दीको प्रारम्भ) जनकपुरको अस्तित्व रहेको र यसप्रति जनविश्वास त निश्चितरूपमै प्रमाणित हुन्छ ।

जनकपुरधामबारे पहिलो ऐतिहासिक अभिलेख इन्द्रविधाता सेनले सन् १७११ मा रामचन्द्र मन्दिर (राममन्दिर)लाई कुशीवर्ता जग्गादान गरेको लिखत हो । यो लिखत हाल उपलब्ध छैन, तर यसबारे विभिन्न श्रोतहरूमा उल्लेख भएको पाइन्छ । यसपछिको दोस्रो अभिलेख सन् १७२७ मा मकवानपुरका राजा मानिकसेनले रामदासलाई जानकी मन्दिरको महन्थ घोषणा गरेको लिखत हो । रामदास आधुनिक जनकपुरका संस्थापक सुरकिशोर दासका चौथो पुस्ताका शिष्य थिए । यहाँ उल्लेखनीय के छ भने रामदास जानकी मन्दिरका पहिलो महन्थ हुन् र उनीभन्दा पहिलेका सुरकिशोरदास, प्रयागदास र जनकवैदेही दासलाई सन्त भनिएको छ ।

सन्त सुरकिशोर दासले जनकपुरधामको खोजी गरेको सम्बन्धमा अनेक कथाहरू प्रचलित छन् । जस्मा आफूलाई सीताको पिताको भावमा तन्मय रहेको सुरकिशोर दासलाई सीताले आफ्नो मूर्ति भेटिने ठाउँ नै आफ्नो माइती अर्थात जनकपुर हुने कुरा सपनामा भनेर जनकपुर जान प्रेरित गरेको कथा बढी लोकप्रिय छ । तर ऐतिहासिक साक्ष्यहरूको आलोकमा के देखिन्छ भने हालको जनकपुरदेखि सीतामढीको क्षेत्र मिथिला र जनकपुर वैदेहको नगरी (केही ठाउँंमा जानकी जन्मभूमि भनिएको छ)को रूपमा परिचित तर दुर्गम वन्य क्षेत्र रहेको देखिन्छ । सुरकिशोर दास रसिक सम्प्रदायका साधु थिए, जो सीताको भक्तिमा आध्यात्मिकरूपमा लीन थिए । र यसले नै उनलाई मिथिला क्षेत्र र जनकपुर आउन प्रेरित गर्यो ।

जनकपुरधामको राजनीतिक इतिहास

जनकपुरधामले नेपालको विभिन्न परिवर्तनको आन्दोलनमा समेत आफ्नो अग्रणी भूमिका निर्वाह गरेको छ । नेपालमा अहिले संघीय शासन प्रणाली छ । विभिन्न आन्दोलनको बलमा नेपालमा संघीय व्यवस्थाका साथै गणतान्त्रिक व्यवस्था लागू भएको छ । यसमा जनकपुरधामले अग्रणी भूमिका निर्वाह गरेको छ ।

तमलोपाका बरिष्ठ नेता डा. विजयकुमार सिंहले मधेस प्रदेशले राजधानीको रूपमा समृद्ध इतिहास बोकेको जनकपुरधाम पाउनु गौरवको विषय हो । ज्ञान विज्ञानको दृष्टिले त्रेतायुग र द्वापरयुगमै समृद्ध रहेको जनकपुरधाम राजनीतिक भूमिकाको दृष्टिले पनि पहिलेदेखि नै समृद्ध रहँदै आएको छ ।
मिथिला भूमिमा वौद्ध तथा जैन धर्मको प्रभाव बढेको समयमा जनकपुरधामको राजनीतिक प्रभाव कम हुँदै गयो । आदि गुरु शंकराचार्यको मिथिला भ्रमण, शंकराचार्यसँगको मण्डन मिश्रको शास्त्रार्थले फेरी जनकपुरधामलाई प्रकाशमा ल्याएको नेता सिंह बताउँछन् ।

नेपालमा भएको प्रत्येक परिवर्तनको आन्दोलनको अगुवाइ जनकपुरधामले गरेको दावी मैथिलीका साहित्यकार परमेश्वर कापडी गर्छन् । संसारमै पहिलोपटक संघीयताको अभ्यास गर्ने यही भूमि रहेको दावी गर्दै कापडीले नेपालको आधुनिक इतिहासमा समेत जनकपुरधामको राजनीतिक महत्व विशिष्ट रहेको बताए । आधुनिक नेपालमा समेत संघीयताको आवाज यही भूमिबाट उठेको र गणतन्त्रका लागि जनकपुरधामबाटै पहिलोपटक आवाज उठेको उनको भनाइ छ । कापडीले भने, ‘जनकपुरधामस्थित जानकी मन्दिरको प्रांगणमा सहिद दुर्गानन्द झाले तत्कालीन राजा महेन्द्रमाथि बम प्रहार गरेर गणतन्त्रको आन्दोलनमा बल पु¥याएका थिए ।’ यसका साथै २००७ सालमा प्रजातन्त्रका लागि भएको आन्दोलनमा यो भूमिको भूमिकालाई नकार्न नसकिने कापडी बताउँछन् । २०३६ सालमा जनकपुरधाममै पहिलोपटक पञ्चायती शासनविरुद्ध जुलुस निस्केको स्मरण गर्दै कापडीले २०६२ सालमा भएको दोस्रो जनआन्दोलनको अगुवाई जनकपुरधामले नै गरेको दावी गरे । जनकपुरधामको भूमिबाट सुरु भएको मधेस जनविद्रोहकै बलमा नेपालमा संघीयताले स्थान पाएको राजनीतिज्ञहरू बताउँछन् ।

जनकपुरधामको इतिहास

श्रीमद्भागवत, वाल्मीकि रामायण, बृहदारण्यकोपनिषद्, गन्धारक सुरुचि जातक, शक्ति संगम तन्त्र, बृहत् विष्णुपुराण आदि पौराणिक ग्रन्थहरूमा मिथिला र विदेह विषयमा चर्चा रहेको पाइन्छ । वाल्मिकी रामायणमा त जनकपुरधामलाई मिथिलाको राजधानीको रूपमा चर्चा गरिएको छ । यस हिसाबले जनकपुरधामको इतिहास हजारौँ वर्ष पुरानो रहेको प्रमाणित हुन्छ । मिथिलामाथि शासन गरेका शिरध्वज जनक आध्यात्मवादी थिए । आफ्नो आध्यात्मिक चेतनाकै कारण राजर्षिको उपाधि पाएका थिए । उनलाई विदेह को उपमा समेत दिइएको थियो । त्यसैले मिथिलालाई विदेह नामले समेत चिनिन्छ । जनकपुरधाम माता सीताको जन्मथलोसमेत हो । यसका साथै तत्कालीन समयका विद्वानहरू याज्ञवल्क्य, अष्टाबक्र, शुकदेवजस्ता ऋषिमुनिहरू सत्संगको थलोसमेत जनकपुरधाम नै रहेको विभिन्न ग्रन्थहरूमा उल्लेख पाइन्छ ।

मिथिला हिन्दूहरूका लागि मात्र नभई जैन धर्मावलम्बीहरूका लागि पनि त्यति नै आस्थाको केन्द्र रहेको छ । जैन धर्मका १९औँ तीर्थंकर मल्लिनाथ र २१औँ तीर्थंकर नमिनाथको जन्म र उनीहरूका चार कल्याणक यही सम्पन्न भएको भारतको दिगम्बर जैन तीर्थमा उल्लेख छ ।

विभिन्न स्रोतहरूलाई आधार मान्ने हो भने मिथिलालाई देशको रूपमा इसापूर्व ६०० वर्षसम्म अस्तित्व प्राप्त थियो । त्यसपछि मगधका राजा अजातशत्रुले मिथिलामाथि आक्रमण गरी आफ्नो राज्यमा मिलाइदिए । कालान्तरमा मिथिलामा हर्षवद्र्धन र अरुणाश्वको अधिकार कायम भयो । विसं ११५४ मा कर्नाटवंशीय न्यान्यदेवले सिमरौनगढलाई आफ्नो राजधानी बनाई राज्य स्थापना गरेपछि पुनः मिथिला विश्व पटलमा उदाएको देखिन्छ । (प्रस्तुत लेख जनकपुरधामको इतिहास प्रस्तुत गरेका विभिन्न विद्वानको टिपनटापनबाट पनि लिइएको छ ।)

प्रतिक्रिया