स्वास्थ्य संस्थामा आउँदैनन् कुष्ठरोगका बिरामी

कालिकोट । कुष्ठरोगका बिरामीहरु चेकजाँच गर्न स्वास्थ्य संस्थामा आउन नमान्ने गरेको पाइएको छ । स्वास्थ्य सेवा कार्यालय कालिकोटले सोमबार जिल्लामा कुष्ठरोगसम्बन्धी गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो बताइएको हो ।

कुष्ठरोगीहरु आफ्नो स्वास्थ्य अवस्थाबारे चेकजाँच गर्न नमान्ने जिल्लाभन्दा बाहिर गएर जाँच गर्ने गरेको स्वास्थ्य सेवा कार्यालयका स्रोतव्यक्ति जगदिश नेपालीले बताए । उनका अनुसार परम्परागत रुपमा गाउँ समाजमा कुष्ठरोगीलाई गरिने अवहेलना र विभेदका कारण सजिलै तरिकामा स्वास्थ्य चेकजाँच गर्न आउन मान्दैनन् । अन्तिम अवस्था भइसकेपछि बाध्य भएर बाहिर जिल्ला जाने गरेका छन् ।

उनका अनुसार अहिले कालिकोटमा नर्मल खालका ७ जना मात्र बिरामी आफ्नो सम्पर्कमा आएर औषधि खाइरहेका छन । गत साउन महिनादेखि दुई जना कुष्ठरोगका बिरामी फेला परेको र पहिला ५ जनाले नियमित औषधि सेवन गरिरहेका थिए ।

अहिले जम्मा ७ जना मात्र रहेको नेपालीले बताए । अहिले पनि मानिस सजिलै तरिकाले स्वास्थ्य संस्थामा चेकजाँच गर्न आउन मान्दैनन् । चेकजाँच गरे पनि जिल्ला बाहिरका अस्पतालमा गर्ने गरेको पाइएको छ । गत वर्ष जिल्लाका ३ वटा ठाउँमा स्वास्थ्य शिविर राखेर चेकजाँच गरेको नेपालीले बताए ।

अहिले जिल्लाका सबै स्वास्थ्य संस्थामा कुष्ठरोगको औषधि निःशुल्क पाइने गरेको नेपालीले बताए । जिल्ला अस्पतालमा उपचार गर्न आए पनि भाडास्वरुप रकम दिने गरिएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालयले अहिले नियमित अनुगमन र अनुशिक्षण गर्ने गरेको छ । कार्यक्रममा डाक्टर रोहित गुरुङको अध्यक्षतामा कार्यक्रम गरिएको थियो ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया