जनकपुरधाम । संघीयता कसैले भन्दैमा खारेज नहुने मधेशप्रदेश प्रमुख हरिशंकर मिश्रले बताएका छन् । मधेस प्रदेशसभाको छैटौँ वार्षिकोत्सवलाई आइतबार सम्बोधन गर्दै मिश्रले मधेस प्रदेश संघीयताको जननी भएकोले सरकारले जनताको चाहना अनुसारको कार्य गरेर देखाउनुपर्ने आग्रह गरे ।
मुख्यमन्त्री सरोजकुमार यादवले सरकार र संसद् एकै रथका दुई पांग्रा भएको भन्दै गठबन्धनहरू फेरिँदै गएको विभिन्न निर्वाचनले गर्दा जुन गतिमा कामहरू हुनुपथ्र्याे हुन नसकेको स्वीकार गरे ।
मुख्यमन्त्री यादवले आफ्नो नेतृत्वमा सबै दल सामेल भएको र आफूले मन्त्रीज्यूलाई विकास केन्द्रित असल कामहरू गर्न मात्र भनेको स्पष्ट पारे । यादवले संघीयतालाई बलियो बनाउने सन्दर्भमा पटकपटक प्रधानमन्त्रीसँग संवाद भएको प्रसंगमा प्रधानमन्त्रीलाई आफूले सकारात्मक पाएको अनुभव पनि सुनाए । भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवले यो प्रदेश बनाउँदै पूर्वाग्रही भएर बनाइएको चर्चा गर्दै ढिला भए पनि विकृति चिरेर आफूहरू अघि बढेको बताए ।
सभामुख रामचन्द्र मण्डलको अध्यक्षतामा भएको वार्षिकोत्सव समारोहमा प्रतिपक्षी दल नेकपा एमाले मधेस प्रदेश संसदीय दलका उपनेता दीपेन्द्र ठाकुर, लोकतान्त्रिक समाजवादी पार्टीका संसदीय दलका उपनेता उपेन्द्र महतो, जनमत पार्टीका सांसद अनिता साह, नेकपा माओवादीका सांसद माला कर्ण, नेपाल संघीय समाजवादी पार्टीका सांसद बिमला अंसारी, नागरिक उन्मुक्ति पार्टीका सांसद उर्मिलादेवी सिंह, जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज साह, जिल्ला समन्वय समितिका प्रमुख राजनन्दन मण्डल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
प्रतिक्रिया