कांग्रेस पर्साले विभिन्न कार्यक्रम गरी मनायो सहिद दिवस

वीरगञ्ज । सहिद दिवसको अवसरमा नेपाली कांग्रेस पर्साले वीरगञ्जमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपाली कांग्रेसले सहिदहरूको शालिकमा माल्यार्पण कार्यक्रम गरेर सहिद दिवस मनाएको हो ।

वीरगञ्जस्थित गण्डक चोकमा रहेको सहिद तेजबहादुर अमात्य र नारायणी अस्पतालमा रहेको सहिद थीरबम मल्लको शालिकमा नेपाली कांग्रेस पर्साले माल्यार्पण गरी सहिद दिवस मनाएको छ । माल्यार्पण कार्यक्रमका प्रमुख अतिथि रहेका संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सहिदहरूकै बलिदानी र त्यागले देशमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र प्राप्त भएको बताए ।

प्रजातन्त्र र लोकतन्त्र रहे मात्र नागरिकले स्वतन्त्रतापूर्वक बाँच्न पाउने भएकाले लोकतन्त्रलाई बचाउनु हरेक नागरिकको दायित्व भएको उनले बताए । अहिले पनि लोकतन्त्रमाथि प्रहारको प्रयास भइरहेकाले यसतर्फ सबै जना सजग हुनुपर्ने उनले बताए ।

त्यस्तै नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीले प्रजातन्त्र, बहुदल, मधेसका अधिकार र गणतन्त्र प्राप्तिका लागि भएका आन्दोलनमा सहादत दिएका सहिदको बलिदानी र त्यागकै कारण अहिलेसम्मका राजनीतिक उपलब्धि हासिल भएको भन्दै यसलाई जोगाउन लोकतन्त्रवादीहरू सजग हुनुपर्ने बेला आएको बताए ।

यस्तै नेपाली कांग्रेस पर्साका सचिव तथा वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले जनताको जीवनस्तर उकास्न गरिने सम्पूर्ण इमानदार प्रयत्नहरू नै वास्तवमा सहिदहरूप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताएका थिए ।

कांग्रेसका कार्यवाहक क्षेत्रीय सभापति अनिल सिंहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कांग्रेस पर्साका सभापति तथा प्रदेशसभा सदस्य जनार्दन सिंह क्षेत्री, पूर्व सांसद अनिल रुंगटा, कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी लगायतका नेताकार्यकर्ताको सहभागिता थियो ।

प्रतिक्रिया