जनकपुरधाम । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले संगठन बिस्तार, शुद्धीकरण, पुनर्गठन लगायतका अभियानलाई तीव्रता दिएको छ ।
मंगलबारदेखि जसपा नेपालको भ्रातृ संगठन समाजवादी महिला संघ मधेस प्रदेशका महिला नेतृका लागि प्रशिक्षक प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । माघ १६ र १७ गतेका लागि जनकपुरधामको रमण टावरमा ‘संघीयता, सुशासन, सामाजिक न्याय र समाजवाद’ मुख्य नाराका साथ आयोजना हुन लागेको दुई दिवशीय कार्यक्रममा जसपा निकट मधेस प्रदेशका महिला नेतृहरूको सहभागिता रहनेछ ।
मंगलबार हुने कार्यक्रममा समाजवादी महिला संघका केन्द्रीय पदाधिकारी, मधेस प्रदेशका महिला पदाधिकारी, पार्टीका जिल्ला समिति, महिला सांसद र प्रदेशअन्तर्गत जसपा निकट स्थानीय जनप्रतिनिधि महिला नेताहरू सहभागी हुनेछन् । यो कार्यक्रममा भने महिला नेतृहरू मात्रै सहभागी हुने जनाएको छ । केन्द्रदेखि प्रदेशसम्मको विभिन्न समितिबाट सयभन्दा बढी महिला नेतृहरूको सहभागी हुनेछ ।
समाजवादी महिला संघको मधेस प्रदेश समिति अध्यक्ष सञ्जीला यादवका अनुसार राष्ट्रिय राजनीतिमा महिला सहभागिता, उनीहरूको भूमिका, नेपालको संविधान एवं ऐनकानुनमा महिला अधिकारको उल्लिखित प्रावधान, सामाजिक लोकतन्त्र, समसामयिक राजनीतिक परिवेश लगायतका एजेन्डामा प्रशिक्षण दिइनेछ । जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव लगायतका शीर्ष नेतृत्वहरूले प्रशिक्षण दिने कार्यक्रम छ ।
प्रतिक्रिया