रौतहटमा एमाले अधिवेशनका लागि प्रतिनिधि चयन कार्यमा तीव्रता

रौतहट । एमाले रौतहटको १०औँ जिल्ला अधिवेशनको लागि प्रतिनिधि चयन भएको छ । यही माघ २५ र २६ गते हुने गरुडास्थित पार्टी कार्यालय नजिकै हुने जिल्ला अधिवेशनको लागि शनिबार जिल्लाभरी नै प्रतिनिधि चयनको भएको हो ।

चन्द्रपुर नगरपालिकाले निर्विरोध रूपमा १० वटै वडाबाट ५७ जना प्रतिनिधि चयन छनौट गरेको नेकपा एमाले चन्द्रपुर नगर कमिटीका अध्यक्ष शिवप्रसाद आचार्यले जानकारी दिए ।

अधिवेशनका लागि चन्द्रपुरको प्रत्येक वडाबाट प्रतिनिधि चयन गरिएको थियो । महिला, युवा, दलित तथा खुल्लाबाट ५७ जना प्रतिनिधि चयन भएको अध्यक्ष आचार्यले बताए । चन्द्रपुरमा संघीय संसद् तथा प्रदेश कमिटी सदस्य बिना साहलाई निर्वाचन अधिकृतको रूपमा खटाएको थियो ।

रौतहटको अधिकांश पालिकामा सर्वसहमत रूपमा प्रतिनिधि चयन कार्य सम्पन्न भएको नेकपा एमालेका केन्द्रीय सदस्य उद्धबप्रसाद रेग्मीले जानकारी दिएका छन् । पालिकाहरूमा पनि एक÷दुई दिनभित्र प्रतिनिधि चयन हुने केन्द्रीय सदस्य रेग्मीले बताए ।

रौतहटको १६ नगरपालिका र दुई गाउँपालिका गरी जम्मा १८ वटा पालिकाबाट जिल्ला अधिवेशनको लागि ४ सय ३५ जना प्रतिनिधि चयन हुनेछन् ।

पार्टीका विभिन्न जनसंगठनले प्रतिनिधि चयन गरेर पठाएका छन् । रौतहटमा एमालेको जिल्ला अधिवेशन उद्घाटन गर्नका लागि पार्टीका अध्यक्ष केपी शर्मा ओली आउने कार्यक्रम तय भएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया