बारा । कलैयाको सेकुवा भन्ने बित्तिकै जो कोहीको मुख रसाउँछ । सेकुवाका पारखीहरूले कम्तीमा एकपटक कलैयामा सेकुवा खानकै लागि आउँछन् । कुनै समयमा एक रुपैयाँमा प्रतिझिर सेकुवा पाइन्थ्यो । अहिले त्यो रेट ५० रुपैयाँ पुगेको छ । तर पनि सेकुवा खाने पारखीहरूको संख्यामा कमी आएको छैन । बारामा पाइला टेक्ने बित्तिकै अधिकांशको रोजाइमा पर्छ ‘कलैयाको सुकदेव सेकुवा’ । कलैयाको सेकुवाको नाम सुनेर राजधानी काठमाडौं मात्र होइन । पोखरा, चितवन, हेटौँडा, वीरगञ्ज, जनकपुरलगायत भारतको मोतिहारी, पटना, बेतिया, सीतामढी लगायतका सहरबाट सेकुवाका पारखीहरू कलैया भरतचोकको यात्रा गर्छन् । बारा सदरमुकाम कलैयाको मुख्य चोक अर्थात भरतचोकमै खडा भएर दक्षिणतिर हेर्दा कलैया उपमहानगरपालिका–५ स्थित ठडिएको पक्की घरमा सुकदेव पसलको बोर्ड देखिन्छ । त्यो नास्ता पसलकै मुख्य परिकार सेकुवामा सबैको पहिलो नजर पर्छ । नजर पर्ने बित्तिकै ‘आहा ! सुकदेव सेकुवाको स्वाद चाखौँ’ सबैले भन्छन् । एकपटकमा कम्तीमा ७० जना अटाउने सुकदेव सेकुवा पसललाई अहिले स्वर्गीय सुकदेव साहका नाती कलैया उपमहानगरपालिका–६ निवासी ३४ वर्षीय मुकेस साहले धानिरहेका छन् ।
शुक्रबार बिहानै सेकुवा परिकार बनाउँदै गरेको अवस्थामा उनी भेटिएका थिए । मुकेससँग पसलमा अरू कुनै नयाँ ब्रान्ड छैन । उनका हजुरबुबाले झण्डै एक सय वर्षअगाडि बनाएको सेकुवा ब्रान्डलाई नै उनले बिक्री गरिरहेका छन् ।
खाना होटल सञ्चालन गरेका स्वर्गीय सुकदेवले पहिलोपटक कलैयामा सेकुवा परिकार बनाएर बिक्री सुरु गरेका थिए । ‘मेरै बाजेले कलैयामा सेकुवा परिकारको ब्रान्ड बनाएका हुन्’, मुकेसले भने, ‘त्यो बेला एउटा मात्रै सेकुवा पसल कलैयामा थियो ।’ अहिले त कलैयामा एक सयभन्दा बढी सेकुवा पसल खुलेका छन् । कलैया भरतचोकमा मात्रै डेढ दर्जन बढी सेकुवा पसल अहिले सञ्चालनमा रहेको उनले बताए । ‘कलैयामा थुप्रै सेकुवा पसल छन् तर ग्राहकले सुकदेवको सेकुवा पसल खोज्दै आइपुग्छन,’ उनले भने, ‘ग्राहकलाई भगवान् ठानेर आफ्नो पसलमा स्वागत गर्ने गर्छौं ।’ ग्राहकलाई सन्तुष्ट र खुसी पारेर पठाउनु नै आफ्नो मुख्य कर्तव्य भएको उनले बताए ।
ग्राहकको मागअनुसार तास फ्राई, कटिया, कुखुराको सेकुवाजस्ता परिकार थपिए पनि आफूकहाँ सबैभन्दा बढी खसीको सेकुवा नै बिक्री हुने गरेको उनले सुनाए । मुकेसका अनुसार, एक झिर सेकुवामा कम्तीमा ४० ग्राम खसीको मासु खपत हुन्छ । ४० ग्राम मासु गजमा झुण्ड्याउँदा आठ वटा पिस हुने गर्छ । गजमा सेकुवा सेक्नुभन्दा अगाडि एउटा स्टिलको ठूलो भाँडोमा मासुलाई टुक्रा पारेर राखिन्छ । त्यसपछि त्यसमा पिँधेको काली मिर्च र नुन छरेर मुछिन्छ । केही समय निरन्तर मुछेर सेकुवाको लागि मासु तयार पार्ने गरिएको मुकेससँगै व्यवसायमा हात बटाएका उनका भिनाजु वीरगञ्ज निवासी प्रेम गुप्ताले जानकारी दिए ।
विगत तीन वर्षदेखि सालो मुकेससँगै नास्ता पसल सञ्चालनमा आफू निरन्तर लागेको गुप्ताले बताए । ‘कोरोनाकालपछि व्यापारमा मन्दी छाएको छ,’ उनले भने, ‘बजार मन्दी भए पनि सुकदेव सेकुवा पसलमा ग्राहक पुगेकै छन् ।’ सुकदेव सेकुवाकै ब्रान्डले पसल चलायमान अवस्थामा रहेको उनले जानकारी दिए । अरू पसलको तुलनामा हामीकहाँ ग्राहक बढी नै आएको उनले बताए ।
उनका अनुसार, आगोको भट्टीमा एकपटकमा कम्तीमा २४ गज सेकुवा राखिन्छ । त्यसरी राखिएको सेकुवा पोल्न कम्तीमा पाँच देखि सात मिनेट समय खर्च हुने गर्छ । सेकुवा तयार पार्नका लागि सधैँ दाउराको कोइलाको व्यवस्था गर्नुपर्छ । कोइलाको रापमाथि पाँच देखि ६ इन्चको फरकमा राखेर पकाउने गरिन्छ । सेकुवाको लागि नेपालकै विभिन्न स्थानबाट कलैया बजारमा ल्याइएको खसी काटेर मासु तयार गर्ने गरिएको गुप्ताले बताए ।
बाजेको पालामा बाँसले बनाइएको हाते पंखाको मद्दतले सेकुवा तयार पारिन्थ्यो । तर अहिले प्रविधिको विकाससँगै यसमा पनि परिवर्तन आएको छ । अहिले बिजुलीको मद्दतले इलेक्ट्रोनिक पंखा चलाएर सेकुवा सेक्ने गरिएको उनले बताए । सेकुवाको लागि मासु तयार गर्दा हड्डी निकालेर फालिन्छ । हड्डी फालिएपछि मासुलाई ससाना टुक्रा पार्ने गरिन्छ । यसरी सानो पारिएको मासु सजिलै पाकोस् र ग्राहकको गुनासो आउन नदिन सावधानी अपनाउने गरिएको सुकदेव सेकुवा पसलका सञ्चालक मुकेसले बताए ।
बाजेको पालामा सुरु भएको व्यवसाय पछिल्लो समय बुबा धुरुप साहले धानेका थिए । बुबालाई सघाउन आफू करिब १२ वर्ष अगाडि यो पेसामा आएको उनले बताए । व्यवसायकै लागि आफूले कक्षा ११ सम्म पढेर बीचमै पढाइ छाडेको उनले सुनाए । सेकुवाका जन्मदाता हजुरबुबा सुकदेवको २०५९ सालमा निधन भएपछि बुबाले पसलको जिम्मेवारी सम्हालेका थिए । करिब ८० वर्षको उमेरमा हजुरबुबा बित्नुभयो । हजुरबुबा बितेपछि बुबा धुरुपले व्यवसाय सम्हाल्दै आएका थिए ।
बुबाको पनि २०७७ फागुन २ गते ६० वर्षको उमेरमा निधन भएपछि आफूले पुख्र्यौली पेसालाई सम्हाल्दै आएको उनले बताए । बुबाको निधनपछि आफू एक्लैले पेसा धान्ने अवस्था नदेखेपछि ज्वाइँ प्रेमको मद्दत लिएको उनले सुनाए ।
हजुरबुबाको पालामा दिनमा ८० किलोसम्म मासु खपत हुने गथ्र्यो । तर, अहिले पहिलाजस्तो मासु बिक्री हुन सकेको छैन । बढदो महँगीको कारण सेकुवा पसलमा सामान्य आम्दानी हुने ग्राहक पस्न छाडेको कारण पछिल्लो समय मासुको खपत घटेको उनले बताए । अर्कोतिर कलैयामा एक सय बढीको संख्यामा खुलेको सेकुवा पसलले ग्राहक तानेपछि आफूकहाँ सेकुवा मासुको खपत घटेको उनको ठम्याइ छ । अहिले पनि पैसावालाहरू सेकुवासँगै मदिरामा रमाउने दर्जनौँ समूह आफ्नो पसलमा आउने गरेको उनले बताए ।
सेकुवा पसलबाटै आफ्नो परिवारको गुजारा चलिरहेको छ । सेकुवा व्यवसाय फस्टाएकै कारण उनले आफ्नो सेकुवा पसलमा मात्र आधा दर्जन काम गर्ने मान्छेले रोजगारी पाएका छन् । यसरी हेर्ने हो भने कलैयाको सेकुवा व्यवसायकै कारण प्रत्यक्ष रूपमा कम्तीमा पाँच सयभन्दा बढी मजदुरले रोजगारी पाएको उनले जानकारी दिए । यो व्यवसायले आश्रित परिवारको गुजारा चलाइरहेको छ ।
सरकारले यस्ता व्यवसायलाई प्रवर्धन गर्ने हो भने नेपाली युवाहरू खाडी मुलुकमा गएर रोजगारी खोज्नुको सट्टा गाउँघरमै रोजगारी पाउने अवस्था सिर्जना हुने सुझाव जानकारहरूले दिएका छन् ।
प्रतिक्रिया