मधेस कृषि विश्वविद्यालयमा जनमतको ताला

जनकपुरधाम । कृषि विश्वविद्यालयमा जनमत पार्टीका नेता कार्यकर्ताले तालाबन्दी गरेका छन् । जसपा अध्यक्ष उपेन्द्र यादवले सोमबार विश्वविद्यालयको भवनको शिलान्यासको तयारी भएपछि जनमतले सप्तरीको राजविराजमा रहेको विश्वविद्यालयमा तालाबन्दी गरेका हुन् ।

राजनीतिकरण रोक्नुपर्ने, डिपिआरमा भ्रष्टाचार भएकाले छानबिन गर्नुपर्ने, परीक्षा बोर्डबिनै लिइएको परीक्षाको छानबिन गर्नुपर्नेलगायत माग राखेर जनमतका कार्यकर्ताले विश्वविद्यालयमा ताला लगाएका छन् ।

२०७९ को निर्वाचनको मुखमा मधेस प्रदेश सरकारले भाडाको घरमा स्थापना गरेको कृषि विश्वविद्यालयको भवन राजविराज नगरपालिका–१३ स्थित १२ बिघा क्षेत्रफलमा बन्ने तयारी छ । जसको लागि जसपा अध्यक्ष उपेन्द्र यादवले सोमबार शिलान्यास गर्नेछन् । तर भवन शिलान्यासकै विषयमा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादवबीचसमेत मतभेद देखिएको छ ।

मुख्यमन्त्री यादवले आफ्नै अध्यक्ष उपेन्द्र र शिक्षामन्त्री यादवले पनि आफ्नै अध्यक्ष सिके राउतलाई प्रमुखअतिथि बनाउने पक्षमा छन् । मन्त्री यादवले आफूले विनासमन्वय शिलान्यास नगर्न विश्वविद्यालयका रजिस्ट्रार भगवान ठाकुरलाई निर्देशन दिएको बताए । तर मुख्यमन्त्री यादवको निर्देशन मानेर विश्वविद्यालय भवन शिलान्यास कार्यक्रम उनले राखेका छन् ।

यो विश्वविद्यालयको भवन उपेन्द्र यादव र सिके राउतकै क्षेत्र (सप्तरी–२) मा शिलान्यास हुँदै छ । राजविराज नगरपालिका–१३ मा बन्ने विश्वविद्यालय भवनको शिलान्यास उपेन्द्रले प्रमुखअतिथि भएर हुने भएपछि जनमत पार्टी रोक्न लागिपरेको छ ।

प्रतिक्रिया