जीतपुरमा रहेको सल्हेस बाबा मन्दिर संरक्षणको चिन्ता !

बारा । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–७ जीतपुरमा रहेको सल्हेस बाबाको मन्दिर व्यक्तिले कब्जा गरेका छन् । जीतपुरका पासवान जातिहरूले करिब ८० बर्षदेखि पूजा गर्दै आइरहेको मन्दिर एक जनाले कब्जा गरेपछि अहिले पासवान जाति चिन्तित बनेका छन् ।

आफ्नो बाजेको बेलादेखि नै आफूहरूले कुलदेवता सल्हेस बाबाको मन्दिरमा पूजा गर्दै आएको तर एक्कासि अरूले आएर सल्हेस बाबाको मन्दिर निजी भएको दाबी गरेपछि पासवान जाति अहिले चिन्तित बनेका हुन् । आफ्नो कुलदेवतालाई संरक्षण गर्नका लागि जीतपुरका पासवान जातिहरूले जीतपुरसिमरा उपमहानगरदेखि लिएर वडालाई समेत जानकारी गराए । तर आफूहरूको प्रयासमा सम्बन्धित निकायले पहल नगरेको महेन्द्र पासवानले बताए । बर्षौंदेखि पासवान जातिले पूजा गर्दै आएको मन्दिर कसैको निजी नभएर सार्वजनिक रहेकोले यस मन्दिरलाई संरक्षण गर्नु जरुरी रहेको समेत पासवानले बताए ।

जीतपुरमा करिब १४ सय पासवान जातिको बासोबास रहेको र पासवान जातिहरूले आफ्नो कुल देवताको रूपमा सल्हेस बाबाको पूजा गर्दै आइरहेका छन् । तर मन्दिरमाथि नै एक व्यक्तिले गिद्धे नजर लगाएपछि आफूहरू कहाँ पूजा गर्ने भनेर पासवान जातिले प्रश्नसमेत गर्न थालेका छन् । पासवान जातिले सल्हेस बाबाको मन्दिर बचाउनका लागि सल्हेस बाबाको मन्दिर संरक्षण अभियानको सुरुआत नै गरेर मन्दिर बचाउनमा लागि परेको छ ।

शनिबार जीतपुरका दलित पासवान जातिले सल्हेस बाबाको मन्दिर संरक्षणका लागि जीतपुरमा नगर परिक्रमा गर्दै विरोध प्रदर्शन गरेका छन् । भूमाफिया मुर्दावाद, सल्हेस बाबाको मन्दिर घेर्न मिल्दैन, सल्हेस बाबाको मन्दिर पुनर्निर्माण गर्ने, जस्ता नारा लगाउँदै उनीहरूले विरोध प्रदर्शन गरेका थिए ।

सल्हेस बाबाको मन्दिर संरक्षण अभियानको संयोजक रहेका चन्देश्वर पासवानले आफूहरूले पटकपटक सम्बन्धित निकायमा मन्दिर संरक्षणका लागि खबरदारी गरे पनि अहिलेसम्म मन्दिर संरक्षण गर्नका लागि कुनै पहल नभएको बताए । त्यस्तै उनले आफूहरूले मन्दिर संरक्षणका लागि पुरै नेपालको दलित मिलेर क्रान्तिकारी आन्दोलन गर्ने र आफ्नो ज्यान गए पनि मन्दिर कसैलाई नदिने बताए । पासवान जातिले उक्त मन्दिरमा पूजा गर्न जाँदा कुटपिटसमेत गर्ने गरेको आरोप लगाएको छ ।

सल्हेस बाबा मन्दिरको छेउमा घर भएको नवल किशोर साहले सल्हेस बाबाको मन्दिर अतिक्रमण गरी पर्खाल लगाउन लागेको पासवान समुदायका अगुवाहरूको आरोप रहेको छ । मन्दिरको जग्गा छोड्न पासवान समुदायले पटकपटक साहसँग आग्रह गर्दा साहले उक्त जग्गा किनेकोले कुनै पनि हालतमा नछोड्ने अडान लिएपछि अहिले पासवान जातिहरू आन्दोलित बनेका छन् ।

यता नवलकिशोर साहसँग उक्त जग्गाको लालपूर्जा माग गर्दा उनले देखाउन मानेनन् । बारामा बढी सार्वजनिक जग्गा रहेकोले यहाँ भूमाफियाहरूले सार्वजनिक जग्गामा गिद्धे नजर लगाएर निजीकरण गर्ने गरेको छ ।

प्रतिक्रिया