मधेश प्रदेशमा सार्वजनिक विदा दिन माग

राम मन्दिरको प्राण प्रतिष्ठाका दिन मधेश भरी बल्दै

बारा । भारतको अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठाका दिन माघ ८ गते सोमवार मधेश प्रदेशभरी नै दिपावली गर्ने भव्य तयारी भइरहेको छ ।
बीरगंज महानगरपालिका सहित मधेश प्रदेशका एक सय ३६ औं पालिकाहरुले छुट्टाछुट्टै सूचना जारी गरी छिमेकी राष्ट्र भारतको अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठान हुने दिन भव्य दिपावली गर्न नगरवासीसँग आग्रह गरेका छन् । पालिकाको आहवान तथा स्वस्फुर्तमै सर्वसाधारणले गाउ गाउमा भब्य दिपावली गर्ने तयारी गरेको स्थानीयले वासिन्दाले बताएका छन् ।

पालिकाद्वारा जारी सूचनामा सोमवारका दिन माछामासु, मदिराजन्य पदार्थ सेवन तथा त्यसको विक्री वितरणमा पूर्णरुपले रोक लगाइएको छ । सूचनाको अवज्ञा गरी माच्छामासु तथा मदिरा जन्य पदार्थ सेवन वा बिक्री वितरण गर्ने पसले व्यक्तिलाई कानुनी कारवाही सहित जरिवाना गर्ने चेतावनी पालिकाहरुले दिएका छन् । कलैया उपमहानगरपालिका प्रमुख विनोदप्रसाद साहले पनि सूचना जारी गरी नगरवासीलाई आ–आफ्नो घर तथा गाउ टोल समुदायमा दिपप्रज्वलन गरी उत्सव मनाउन अनुरोध गरेका छन् ।

यस्तै महागढीमाई नगरपालिकाका मेयर उपेन्द्रप्रसाद यादवले विश्व प्रसिद्ध गढीमाई मन्दिरमा एक लाख ५१ दिप प्रज्वलन गर्ने तयारी गरेका छन् । छिमेकी मित्र राष्ट्र भारतको अयोध्यामा नवनिर्मित भगवान श्रीराम मन्दिरको प्राण प्रतिष्ठाको उपलक्ष्यमा महागढीमाई मन्दिरको प्रांगणमा एक लाख ५१ हजार दिपप्रज्वलन गर्न सर्बदलिय बैठकबाटै निर्णय भएको मेयर यादवले जानकारी दिए । भारतको अयोध्यामा भगवान श्री राम मन्दिरको प्राण प्रतिष्ठालाई मध्यनजर गर्दै माघ ८ गते सोमबारको दिन गढीमाई मन्दिर परिसरमा एक लाख ५१ हजार दिप प्रज्वल गर्ने निर्णय गरिएको उनले बताए ।

‘मर्यादा पुरुषोत्तम भगवान श्रीरामको मन्दिरको प्राण प्रतिष्ठामा सरिक हुनु हाम्रो लागि शौभाग्यको कुरा हो,’ उनले भने, ‘पाँच सय वर्ष पछि भगवान राम आफ्नो घरमा पाल्नु हुनेछ ।’ हिन्दुहरुको अराध्य देव मर्यादा पुरुषोत्तम भगवान श्रीरामको भव्य मन्दिरको प्राण प्रतिष्ठा हुने भएकोले महागढीमाई नगरपालिकाको सर्वदलिय बैठकबाट सो दिन हर्षोउल्लासका साथ दिपावली गर्ने निर्णय गरेको उनले बताए ।

दिपप्रज्वलन तयारीको लागि विभिन्न समिति गठन गरी तयारीको काम अगाडि बढाइएको उनले बताए । महागढीमाई नगरपालिकाको आर्थिक सहयोगमा दिप प्रज्वलन कार्य गरिने उनको भनाई छ । दिप प्रज्वलनका दिन मर्यादा पुरुषोत्तम राम र माता जानकी सहितको रथ यात्रा निकालिने तयारी समेत गरिएको उनले बताए । महागढीमाइ मंन्दिरमा रामसीताको दिपको आकृती चित्र बनाइन् उनले सुनाए । महागढीमाई नगरपालिका–१ देखि मन्दिरसम्म बाटोको दुबै छेउमा दिप प्रज्वलन गरिने तयारी गरिएको छ ।

हिन्दु तथा सनातन धर्मको सबै भन्दा ठूलो दिन रहेकोले महागढीमाई नगरपालिका सबै वडाका स्थानीयहरु आ–आफ्नो घरमा सरसफाइ गरेर दिपावाली पर्व जस्तै दिप प्रज्वलन गर्नको लागि नगरप्रमुख यादवले आग्रह गरेका छन् ।
हिन्दुहरुको अराध्य देव मर्यादा पुरुषोत्तम भगवान श्रीरामको भव्य मन्दिरको प्राण प्रतिष्ठा हुने सोमवार दिन हिन्दु तथा सनातन धर्मको सबै भन्दा ठूलो दिन रहेकोले सो दिन मधेश प्रदेशमा सार्वजनिक विदा दिन जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले ध्यानाकर्षण पत्र सहित मुख्यमन्त्री सरोज कुमार यादवलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया