धनुषा । जिल्लाको धनुषाधाममा माघे संक्रान्तीको अवसरमा लाग्ने एक महिने मकर मेला सोमबारदेखि सुरु भएको छ । प्रत्येक वर्ष माघ १ गतेदेखि लाग्दै आएको धनुषाधामको मकर मेला यस क्षेत्रको सबैभन्दा प्रख्यात मेला रहेको छ । जनकपुरधामदेखि करिब १९ किलोमिटर उत्तरपूर्वमा रहेको धनुषाधामको मेलामा नेपाल तथा छिमेकी देश भारतका गरी लाखौँको संख्यामा दर्शनार्थीको सहभागिता रहने गर्दछ ।
धनुषाधाम मन्दिरमा अरू दिन पनि भक्तजनहरू आउने गरेको भए पनि अन्य दिनको तुलनामा मेलामा बढी दर्शनार्थी आउने गरेको मन्दिरका पुजारी स्वामी भरत दासले बताए । धनुषाधाम मन्दिरमा भगवान् शिवको पिनाक धनुषको पूजापाठ गरी भाकल गरेको खण्डमा चिताएका कुरा पूरा हुने भएकाले दर्शनार्थीहरूको अत्यधिक भिड लाग्ने गरेको छ ।
त्रेतायुगमा राजा जनकले छोरी जानकीको विवाहका लागि आयोजना गरेको सीता स्वयंवरमा श्रीरामले वाण चलाउँदा तीन टुक्रा भएको थियो । त्यसमध्ये एक टुक्रा आकाश, अर्को पाताल तथा तेस्रो टुक्रा धनुषाधाममा खसेको धार्मिक मान्यता छ । धनुषाधाममा खसेको धनुषको कालो रङको शिलामाथि अहिले पीपलको रुख छ ।
उक्त रुख साढे पाँच सय वर्ष पुरानो रहेको विश्वास गरिन्छ । पीपलको बोटमुनि नागको बास रहेको बताइन्छ । अमावस्या तिथिका दिन मध्यरातमा मणिसहितको नाग देखिने र पूरै मन्दिर हरियो रंगले रंगिने गरेको जनविश्वास छ । धनुषको मध्य टुक्रा झरेको स्थानमा धनुषबाबाको मन्दिर निर्माणपछि माघमा मकर मेला लाग्ने गरेको छ । भक्तजनले धनुषको टुक्रामा पुष्पजल अर्पण गर्छन् । यहाँ बर्सेनि धनुषको आकार बढ्दै गएको मन्दिरका महन्थ दासले बताए ।
यहाँ मंसिरमा रामजानकी विवाहपञ्चमी महोत्सव, फागुनमा मध्यमा परिक्रमा र चैतमा रामनवमीका दिन मेला लाग्छ । शताब्दियौँदेखि जनविश्वासले गर्दा स्वस्फूर्तरूपमा अध्यात्मिक केन्द्रबिन्दु रहँदै आएको धनुषाधामलाई पर्यटकीय गन्तव्यको रूपमा अगाडि सार्ने काम स्थानीय युवाले गरिरहेका छन् । धनुषाधाममा रहेको धार्मिक महत्वको सरोवरहरूको सरसफाइ गरिएको छ ।
प्रतिक्रिया