मृत फेला परेका राधेकी श्रीमतीको समेत मृत्यु !

जनकपुरधाम । धनुषामा सोमबार बिहान मृत फेला परेका महोत्तरीको लोहारपट्टी नगरपालिका–३ महदैयाका २२ वर्षीय राधे सहनीको श्रीमती अस्मिताको पनि मृत्यु भएको छ । गम्भीर घाइते अवस्थामा फेला परेकी उनको २० वर्षीया श्रीमती अस्मिता शर्माको सोमबार राती ११ बजे प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।

इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक दीपक कार्कीका अनुसार श्रीमान राधे सोमबार बिहान धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ पकडियास्थित सडक छेउको गहुँ खेतमा मृत फेला परेका थिए । चार महिनाअघि राधे र पकडियाकी अस्मिताबीच प्रेम विवाह भएपछि दम्पति क्षिरेश्वरनाथ नगरपालिकाकै महेन्द्रनगरमा डेरा गरी बस्दै आएका थिए ।

आइतबार राती १० बजेतिर केही साथीसँगै ससुराली घर पकडियाबाट महेन्द्रनगर डेरामा रमाइलो गर्नुपर्छ भन्दै ज ५ प ७८०० नम्बरको मोटरसाइकलमा अस्मितालाई लिएर हिँडेका राधे डेढकिलोमिटर टाढा दुर्घटनामा परेका थिए । राधेका साथीहरू दुर्घटनामा परेका राधेलाई छाडेर र अस्मितालाई गम्भीर घाइते अवस्थामा माइत पुर्याएर भागेका थिए । माइती पक्षले राधेले नै अस्मितालाई मरासन्न हुनेगरी कुटपिट गरेर भागेको भन्दै प्रहरीमा खबर गरेका थिए । अस्मितालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो ।

रातभर राधेलाई खोजविन गर्दा सोमबार बिहान उनी मृत अवस्थामा फेला परेका थिए । प्रहरीले भागेका तीनै जना युवकलाई सोमबार दिउँसो नियन्त्रणमा लिएर सोधपुछ गरेपछि मोटरासइकल दुर्घटना भएको खुलेको हो । राधे मृत फेला परेका ठाउँमा मोटरसाइकल दुर्घटना भएको जस्तो केही पार्टपुर्जा फेला परेको थियो । राधेले चलाउने मोटरसाइकल अन्य साथीको रहेको खुलेको प्रहरी निरीक्षक कार्कीले बताए । कार्कीका अनुसार राधेले अत्यधिक मदिरा सेवन गरेर मोटरसाइकल चलाउँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार घाइते अवस्थामा राधेलाई उपचारका लागि भर्ना गराएको भने बाँच्न सक्थे । तर, गम्भीर अवस्थामा रातभर कठ्यांग्रिएर उनको मृत्यु भएको प्रहरीको भनाइ छ । उनका साथीहरूले राधे नशामा रहेकाले आफैँ उठेर आउन सक्ने अनुसमानसहित अस्मितालाई माइत पुर्याएर भागेका थिए ।

प्रतिक्रिया