वीरगञ्ज । जिल्लाका पुराना पत्रकार एवं राजनीतिकर्मी स्वर्गीय गोपाल गिरीको स्मृतिमा स्थापना गरिएको क्रियाशील पत्रकारिता पुरस्कार वीरगञ्का पत्रकार बृजलाल पासवानलाई प्रदान गरिएको छ ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाले वीरगञ्जमा एक कार्यक्रम गरी पत्रकार पासवानलाई सम्मान गरेको हो । कार्यक्रममा पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य अजय चौरसियाले नगद ५० हजार राशिसहित कदरपत्रबाट पत्रकार पासवानलाई सम्मान गरेका थिए । पुरस्कृत पासवान राष्ट्रिय सहारा दैनिकका कार्यकारी सम्पादक तथा राष्ट्रिय दलित पत्रकार संघ पर्साका सल्लाहकारसमेत हुन् । नेपाल पत्रकार महासंघको बैठकले उक्त पुरस्कार पासवानलाई दिने यसअघि निर्णय गरेको थियो ।
उक्त पुरस्कार वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान, पर्सा अध्यक्ष अनुप तिवारी, पूर्वअध्यक्ष अशोक तिवारी, स्व. गिरीका सुपुत्र गिरिश गिरी, पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाल, नेपाल प्रहरी उपरीक्षक कोमलविक्रम शाह, सशस्त्र प्रहरी उपरीक्षक किशन कर्मचार्य लगायतले पुरस्कृत पासवानलाई सम्मानित गरेका थिए ।
स्व. गिरी २०४७ सालमा पत्रकार महासंघ पर्सा शाखाको अध्यक्ष थिए । तत्कालीन वीरगञ्ज उपमहानगरको मनोनीत मेयर रहँदा २०६० माघ १ गते तत्कालीन माओवादीले गोपाल गिरीको हत्या गरेको थियो । उनै गिरीको सम्झनामा नेपाल पत्रकार महासंघ पर्साले यो पुरस्कार वितरण गर्दै आएको अध्यक्ष अनुप तिवारीले जानकारी दिए ।
प्रतिक्रिया