जनकपुरधाम । महोत्तरीको लोहारपट्टी नगरपालिका–३ महदैयाका राधे सहनी मृत फेला परेका छन् । उनकी श्रीमती अस्मिता सहनी गम्भीर घाइते भएर ब्रेन डेथ भएको अवस्थामा रहेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक दिपक कार्कीले जानकारी दिए ।
प्रहरी निरीक्षक कार्कीका अनुसार धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ पकडियास्थित गहुँको खेतमा आइतबार बिहान राधे मृत फेला परेका थिए । श्रीमतीको भने प्रादेशिक अस्पताल जनकपुरधामको भेन्टीलेटरमा उपचार भइरहेको छ । सहनीको ससुराली क्षिरेश्वरनाथ नगरपालिका–३ मा रहेको छ ।
६ महिनाअघि मात्र राधे र अस्मिताले प्रेम विवाह गरी क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरमा डेरा गरी बस्दै आएका थिए । केही साथीहरूसँगै ससुराली घर पकडियाबाट महेन्द्रनगर डेरामा रमाइलो गर्नुपर्छ भनेर श्रीमती अस्मितालाई लिएर राधे निस्केका थिए । त्यही क्रममा राधे मोटरसाइकल दुर्घटनामा परेको जस्तो देखिएको प्रहरीको भनाइ छ ।
स्थानीयहरूको भनाइअनुसार घटना रहस्यमय रहेको बताएका छन् । यता राधेसँगै गएका दुई जना साथीहरू भने फरार भएका छन् र उनीहरूको खोजीकार्य भइरहेको प्रहरी निरीक्षक कार्कीले बताए ।
प्रतिक्रिया