मुगु । नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरले समाजमा हुने सबैखाले अपराध निर्मुल पार्न शान्ति सुरक्षा राज्यको उच्च प्राथमिकतमा रहेको बताएका छन् । जिल्ला प्रहरी कार्यालय मुगुको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा मुगु आएका महानिरीक्षक कुँवरले यस्तो बताएका हुन् ।
उनले स्थानीय नागरिकको साथ पाए प्रहरी अपराध अनुसन्धानमा सफल हुने भन्दै त्यसका लागि नागरिकको जागरुपता पनि आवश्यक रहेको बताए । ‘त्यसका लागि प्रहरी कटिबद्ध रहेको छ’, उनले भने, ‘प्रहरीभित्र पनि आन्तरिक सुदृढिकरण भइरहेको छ, एक–दुई जना गलत व्यक्तिहरुले गरेको गलत कार्यको भार समग्र संगठनले बोक्न सक्दैन , कोही कसैलाई पनि गल्ती गर्ने छुट छैन, गलत कार्यको संरक्षण पनि गर्नु हुँदैन ।’
उनले नेपाल प्रहरीले व्यक्तिगत लाभभन्दा पनि समग्र संगठनको हित हुने काम गर्न लागि प्रदेश र जिल्लालाई निर्देशन दिए । उनले भने, ‘हामी जनताका सेवक हौँ, हाम्रो काम जनताको सेवामा समर्पित हुने हो, त्यसका लागि कुनै पनि कसुर बाँकी नराख्ने गरी काम गर्नुहोस् ।’
कार्यक्रममा छायाँनाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भामले नेपाल प्रहरीले समुदायमा हुने अपराध न्यूनिकरणका साथै जिल्लाको शान्ति सुरक्षामा राम्रो काम भएको बताए । उनले गत कात्तिक ८ गते छायाँनाथ रारा नगरपालिका– ६ मन्दुमा एकै परिवारका चार जनाको सामूहिक हत्या घटनाको सफल अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन सफल भएकोमा सम्मान पनि गरे ।
प्रहरीको सुविधायुक्त भवन उद्घाटन
जिल्ला प्रहरी कार्यालय मुगुको सुविधा सम्पन्न भवन उद्घाटन गरिएको छ । आइतबार प्रहरी महानिरिक्षक बसन्तबहादुर कुँवरले उक्त भवनको उद्घाटन गरेका हुन् । २०२२ सालमा स्थापना भएको जिल्ला प्रहरी कार्यालय मुगु हालसम्म जिर्ण भवनमा सञ्चालनमा रहेको थियो ।
नेपाल सरकारबाट प्राप्त नियमित बजेटबाट २०७६ साल ठेक्का प्रक्रियामा गएको मुगु प्रहरीको भवन रोयल कन्टक्सन धनगडी कैलालीसँग भ्याटसहित ७ करोड ५६ लाख ६३ हजार रुपैयाँमा २०७६ साल माघ ६ गते निर्माण सम्झौता गरिएको थियो । जुन भवनमा कार्यालय भवन, ब्यारेक, कार्यालय प्रमुख तथा सिनियर अधिकृत निवास, हिरासत कक्ष, भान्छालगायतका सबै संरचनाहरु सुविधायुक्त निर्माण गरिएको छ ।
भौगोलिक रुपमा कर्णाली प्रदेशको अति नै विकट जिल्लाका रुपमा चिनिने मुगुस्थित जिल्ला प्रहरी कार्यालयको आधुनिक सुविधायुक्त भवनहरुले यस जिल्लामा कार्यरत प्रहरी कर्मचारीहरुको जिम्मेवारी निर्वाह गर्न थप उर्जा र हौसला थपिएको प्रदेश प्रहरी प्रमुख डिआइजी भिमप्रसाद ढकालले बताए । उनका अनुसार कर्णालीमा धेरै प्रहरी युनिटहरु जोखिमयुक्त भाडाका भौतिक संरचनामा सञ्चालन भइरहेका छन् ।
यसले प्रहरीको कार्य सम्पादनमा समस्या पार्ने गरेको छ । हाल कर्णालीमा स्वीकृत ३ सय १८ प्रहरी युनिटहरुमध्ये ७८ प्रहरी युनिटहरुको मात्र आफ्नै कार्यालय भवन रहेका छन् । बाँकी २ सय ३० प्रहरी युनिटहरु भाडामा सञ्चालन रहेर नागरिकहरुलाई सेवा प्रवाह गरिरहेका छन् ।
डिआइजी ढकालले भने, ‘प्रहरीको आफ्नै भवन नहुँदा सेवा प्रवाहमा कठिनाई महसुस भएको छ, कर्णालीको भौगोलिक विकटताका बाबजुत पनि गाँउ गाँउमा सचेतना अभियान चलाएर नागरिकहरुलाई सुरक्षामैत्री बनाउँदै गस्ती, पटेलिङ, आवश्यक ठाँउमा प्रहरी बिट र पोष्ट स्थापना, जनशक्तिको व्यवस्थित परिचालन, प्रविधिको प्रयोग, निगरानी जस्ता क्रियाकलापहरु प्रभावकारी रुपमा सञ्चालन गरिएको छ । कर्णालीमा शान्ति सुरक्षालाई मजबुत बनाउन नेपाल प्रहरी कार्ययोजना २०८०, सुरक्षित कर्णाली विशेष अभियानमार्फत १४ कार्यक्षेत्र र ७८ कार्यक्रम तयार गरी कार्यान्वयन गरिएको छ । हरेक परिवारले आफुलाई समस्या पर्दा प्रहरीसँग सहजै सम्पर्क गर्न सकुन भन्ने उद्देश्यले हरेक घरमा प्रहरीको नम्बरसहितको स्टिकर अभियानअन्तर्गत जम्मा ३ लाख ७१ हजार १ सय २५ घरधुरीमध्ये २ लाख ४० हजार १ सय ३३ घरमा स्टिकर टास गर्ने कार्य सम्पन्न भइसकेको छ ।’
उनका अनुसार नागरिकलाई प्रभावकारी सेवा सहज रुपमा प्रदान गर्न सबै प्रहरी युनिटहरुमा नागरिक सहजकर्ता प्रहरी परिचालन गरिएको छ । सबै प्रहरी युनिटमा निवेदन लेख्न नसक्ने नागरिकहरुलाई निःशुल्क निवेदन लेख्ने अभियान चलाइएको छ । लागुऔषधविरुद्ध लाल्टीन अभियानअन्तर्गत ३ सय ६७ लाल्टीन समूह गठन गरी सक्रिय रहेका छन् । यसबाट कर्णालीका सबै जिल्लामा अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम हुनुका साथै नागरिकमैत्री प्रहरी सेवाको सुनिश्चितता भएको छ ।
मुगु
प्रतिक्रिया