आयुर्वेदका ग्रन्थ चाहार्दा

प्राचीनकालमा न्वागी होम पनि अरू होमजस्तै नवान्न खान योग्य छ छैन भनी गुणस्तर परीक्षण गर्ने एक माध्यम थियो । अन्न होम गर्दा आउने बास्ना र त्यो बल्दा निस्कने ज्वालाको आकार एवं रंग हेरेर होम गर्न बसेका ऋषिमुनिहरूले नयाँ अन्न खान योग्य भए नभएको निर्णय दिने गर्दथे । प्रायः हरेक ऋतुपछि हुने होम र सामुहिक विवाह, व्रतबन्ध आदिजस्ता भोजमा पनि पहिले अन्नको गुणस्तरको होम गरेरै परीक्षण गर्ने प्रचलन थियो ।

मोहनप्रसाद सापकोटा

ज्वानुको झोल

समाजमा भ्रम छ । ज्वानुको झोल खाँदा दूध बढ्दछ भनिन्छ । तर ज्वानुको झोल दूध बढाउनका लागि खुवाउने होइन । यसले खाएको कुरा पचाउन मद्दत गर्दछ । यसको प्रमुख गुण शुक्र वा रज नाश गर्नु पनि हो । जनेन्द्रीयमा हुने सिकसिको नाश गर्न पनि यसको प्रयोग हुन्छ ।

ब्याडे बोका आदिलाई ज्वानु खुवाउने ग्रामीण चलन सम्झाउन चाहेँ । ज्वानुले पेटका विभिन्न रोग नाश गर्दछ । अर्थात् सुत्केरी हुँदा खाइने चिल्लोलाई ज्वानुले पचाउन मद्दत गर्दछ । दूध प्रशोधन गर्न र बढाउन खुवाउने ओखती भनेको विधिपूर्वक तयार पारिएको सुत्केरी मसला नै हो । यो तयार पार्दा हालिने बत्तीसा, सर्वौषधि आदिमा आयुर्वेदले तोकेका अधिकांश ओखती समावेश भएको हुन्छ । यो मसला पनि आजकल स्वादका लागि मिठो मात्र बनाउने चलन चलाइएको छ । ओखतीको नाममा गुँदपाक जस्तो मिठाई बनाउन खोजिन्छ । यो गलत छ । जिभ्रोलाई खुसी पार्न खोज्दा शरीर भने बिग्रन पुग्दछ ।

जसरी कुनै काम एक्लै गर्न नसक्दा अरूको सहयोग लिइन्छ । त्यसैगरी शरीरका आआफ्नै काम गरिरहेका विभिन्न अंगमा रहेका तेज, वायु आदि पनि कुनै अंगमा समस्या पर्दा मद्दत गर्न त्यही अंगमा एकत्रित हुने गर्दछन् । धेरै खाना खाएका बेलामा दिमागको तेजसमेत खाना पचाउन जाने गर्दछ त्यसैले आलस्य र निद्रा लाग्ने गर्दछ । यसैलाई भाते निद्रा लागेको भन्ने चलन छ । यसैले टन्न खान हुँदैन । एक भाग पेट खाली रहने गरी खानुपर्दछ । पश्चिमेली देशमा क्यालोरीले खानाको मापन गरिन्छ र ठिक्क मात्रामा खाना खाइन्छ ।

सुत्केरी हुँदा हुने दुःखमा मद्दत गर्न शरीरभरका वायु पीडा हुने भागमा एकत्रित हुने गर्दछन् । यस्तो अवस्थालाई आयुर्वेदका भाषामा वायु बढेको वा वायु विकृत भएको भनिन्छ । यस्तो विकृत वायु धेरै रोगको कारण हुने गर्दछ । यसैले विकृत र बढेको वायुलाई घटाई पूर्ववत् स्थानमा लैजानका लागि सुत्केरीलाई चिल्लो खुवाउनु पर्दछ । विधिपूर्वक चिल्लो खुवाउने विधिलाई आयुर्वेदिक भाषामा स्नेहन भनिन्छ । चिल्लो धेर खाएपछि पसिना निकाल्न सकिएन भने त्यसले उल्टो असर गर्दछ । सुत्केरीलाई पनि यसरी चिल्लो खुवाएर मात्र हुँदैन, चिल्लोले गर्ने असर मत्थर पार्न उनको शरीरबाट अत्यधिक मात्रामा पसिना निकाल्नु पर्दछ । पसिना निकाल्ने अनेकौँ विधि मध्येको एक सरल विधि भनेको तातोमा बसेर तातो तेल दल्नु हो । यसलाई आयुर्वेदका भाषामा स्वेदन भनिन्छ । बालकलाई सेकताप गर्नुको मूल कारण पनि स्वेदन गर्नु नै हो ।

काश्यप संहिता आदि ग्रन्थमा सुत्केरीलाई चिल्लो कुरा खुवाएपछि र नवजात बालकलाई अन्य परिश्रम आदिका माध्यमबाट पसिना निकाल्न नहुने हुँदा सेकतापको सरल विधि अपनाउनुपर्दछ भनिएको पाइन्छ । आमाले खाएको चिल्लो आमाको दूधमार्पmत बच्चामा पुग्ने गर्दछ, यसैले उसलाई पनि पसिना निस्कने गरी सेकताप गर्नुपर्दछ । यसबाहेक अंग सुदृढ बनाउन वा मिलाउन र चिसोबाट जोगाउन पनि सेकतापले मद्दत गर्दछ । चिल्लो लगाउँदा माड्न पुगेन भने रोमकूप (रौँका जरामा रहेका प्वाल) बन्द हुन्छन् । रोमकूप बन्द भएपछि शरीरभित्रको मल पसिनाका रूपमा शरीर बाहिर निस्कन पाउँदैन । अनेक थरी रोगमा पसिना निस्कने खालका व्यायाम आदि गर्न आधुनिक चिकित्सकले पनि सल्लाह दिने गरेको कुरा सम्झाउन चाहेँ ।

सरल तरिकाले सुत्केरी हुन नसकेका स्त्रीले उचित तरिकाले उचित मात्रामा चिल्लो र ओखती खाई प्रशस्त मात्रामा पसिना निकालेनन् भने तिनलाई अनेक रोग लाग्न सक्दछ भनी कश्यप संहितामा सचेत गराइएको छ । यस्ता रोगहरूमध्ये ढाड र कम्मर दुख्ने रोग पनि एक हो । आजकल कुतर्क गर्दै क्षणिक र देखावटी कुरामा बढी ध्यान दिँदै चिल्लो वा ज्वानुको झोल खाने वा तातोमा बसेर तातो तेल दल्ने चलन नमान्ने बानी बढिरहेको छ । आफ्नो शरीर रोगी बनाएर अरूलाई बाहिरी रूप राम्रो देखाउन खोज्ने यस्तो बानीले सुत्केरी र शिशु दुवैलाई नै हानि गरिरहेको छ । विकसित देशमा तेलको साटो विभिन्न किसिमका लोसन प्रयोग गरिन्छ र तापको मात्रा सन्तुलित राख्न भिटामिनको प्रयोग गरिन्छ । यो पनि आयुर्वेदका दृष्टिले सही होइन ।

ऋतु र आयुर्वेद

ओहो ! कस्तो जाडो, यसपाली त गर्मीले बसी टिक्नु गरेन । पानी नै पर्दैन त । फेरी धेरै पानी परे ‘रक्ति पनि कति ओइरिएको ?’ भनिन्छ । सिरेटो चलोस् वा हुरीबतास जस कहिल्यै पाउँदैन । बाजेले यसै भन्दछन् र पनाती बाजे हुँदा पनि यसै भन्नेछन् । प्रकृतिको यो नियमित प्रक्रियालाई हामीले कहिल्यै सराप्न छाडेनौँ । ऋतुका जे नाम छन् त्यो ऋतुको गुण त्यही नाम अनुसारको हुन्छ र हुनु पनि पर्दछ । तर, सधैँ यही अवस्था रहँदैन, विविध कारणले प्रकतिलाई पनि रोग लाग्दछ र ऋतुका पनि अस्वाभाविक लक्षण देखिने गर्दछन् ।

जुन ऋतुमा जे कुरा जति हुनुपर्ने हो त्यो कुरा त्यति भएन भने त्यसलाई ऋतुको ‘हीनयोग’ भनिन्छ । जस्तै ः जेठमा हुनुपर्ने जति गर्मी नहुनु ।

जुन ऋतुमा जे कुरा जति हुनुपर्ने हो त्यो कुरा बढी हुनुलाई ऋतुको ‘अतियोग’ भनिन्छ । जस्तै ः जेठमा सरदरभन्दा बढी गर्मी हुनु ।

जुन ऋतुमा जे कुरा हुनु पर्दथ्यो त्यो नभएर उल्टो हुनुलाई ऋतुको ‘मिथ्यायोग’ भनिन्छ । जस्तै ः ७२ सालको भूकम्प जाने बेलामा जस्तै जेठमा जाडो हुनु ।

जसरी मानिसमा यी योगले रोगी भएको संकेत दिन्छ, त्यसैगरी यी लक्षणले प्रकृति बिरामी भएको लक्षण दिन्छ । प्रकृति रोगी भनेको त्यसमा आश्रित सारा संसार रोगी हुनु हो । मानिसलाई जसरी प्रकृतिको रोगलाई तुरुन्त उपचार गर्न सकिन्न । समग्र मानव समाजले सामूहिक र दूरदर्शी प्रयाश गर्नुपर्ने हुन्छ । हलो बनाउन रुख ढाल्दा पिउने पानीको मूल सुकिरहेको हुन्छ । रुख रोपेर पुनः त्यो मूल फर्काउन एक शताब्दी लाग्दछ ।

प्रकतिका यी तीन गलत योग भएका बेलामा मानिसले आफ्नो शरीरलाई विशेष किसिमले जोगाउनुपर्ने हुन्छ । जस्तै ः जेठमा सरदर जति गर्मी हुनुपर्ने थियो त्यति भएन भने मानिसले शरीरलाई त्यो अनुसारको गर्मी पैदा गराउने कार्यमा लगाउनू । यसैगरी सबै योग र सबै ऋतुका बारेमा बुझ्नू ।

नयाँ अन्न र आयुर्वेद

कात्तिक वा मंसिरमा होम हाल्ने चलन थियो, छ पनि भनौँ । कसैले तुलसीको होम त कसैले न्वागी होम भनेर यो कर्म गरिरहेका हुन्छन् । मैले यो लेखमा यो होमको धार्मिक पक्षलाई भन्दा पनि आयुर्वेदिक पक्षलाई थोरै उठाउन खोजेँ ।

अहिलेको जस्तो अन्न जाँच्ने प्रविधि प्राचीनकालमा थिएन तर, अहिले जसरी अन्धाधुन्ध तरिकाले जहिले जे पनि आँखा चिम्लेर हसुर्ने समाज त्यतिखेर कमै थियो । प्रविधि छ ता नि तर व्यवहारमा पाँच प्रतिशत पनि लागू छैन । प्राचीनकालमा न्वागी होम पनि अरू होमजस्तै नवान्न खान योग्य छ छैन भनी गुणस्तर परीक्षण गर्ने एक माध्यम थियो । अन्न होम गर्दा आउने बास्ना र त्यो बल्दा निस्कने ज्वालाको आकार एवं रंग हेरेर होम गर्न बसेका ऋषिमुनिहरूले नयाँ अन्न खान योग्य भए नभएको निर्णय दिने गर्दथे । प्रायः हरेक ऋतुपछि हुने होम र सामुहिक विवाह, व्रतबन्ध आदिजस्ता भोजमा पनि पहिले अन्नको गुणस्तरको होम गरेरै परीक्षण गर्ने प्रचलन थियो । यससम्बन्धी विस्तृत कुरा आयुर्वेदका पुस्तकमा रहेछन्, आज त्यतातिर छिर्न चाहिन ।

नयाँ अन्न खानुपूर्व आयुर्वेदले केही सर्तसमेत राखेको रहेछ । अरू, मौसमी फलफूल, तरकारी पनि पहिलोपटक खाँदा यो नियम लागू गर्नु उपयुक्त हुन्छ भन्ने मेरो विचार छ ।

कात्तिक महिनाका अन्तिम आठ दिन पुरानो अन्न क्रमशः कम खाँदै जानु र मंसिर महिनाको सुरुका आठ दिन नयाँ अन्न क्रमशः बढाउँदै खान सुरु गर्नु, एकैपटक ह्वात्त पुरानो अन्न छाडी उत्ति नै मात्रामा नयाँ अन्न नखानु शरीरमा असर गर्दछ भनिएको रहेछ ।

आजकल पेट भर्न पाए पुग्छ, आफ्नै शरीर पनि तपसिलमा पर्दछ । खानपिनमा मात्र मानिसले अलिकति ज्ञान लिएर होस गर्ने हो भने औषधि खान आवश्यक नै पर्दैनथ्यो होला । पुस्तौँदेखि बानी बिगार्दै आयौँ, हामी पनि बिग्रियौँ र हामीभन्दा पछिका पुस्तालाई पनि बिगारिरहेका छौँ । यस्ता एकादेशका कथा जति लेखे पनि बेकार हुँदो रहेछ ।

पञ्चमहाभूत र आयुर्वेद

मानिसको शरीर मात्र होइन सबै चल, अचल जीव र वनस्पति आदिको निर्माण पञ्चमहाभूतबाट भएको हुन्छ । रहस्यमय तरिकाले बनेको यो संरचना जीर्ण भएपछि फेरी त्यो पञ्चमहाभूतमै गएर मिल्दछ । मानव शरीरमा पञ्चमहाभूतको प्राकृतिक मात्रामा तलमाथि हुनु भनेकै रोगी हुनु हो । मानिसको आफ्नै आदत र बाहिरी प्रभावले उसका शरीरमा रहेका पञ्चमहाभूतको मात्रामा तलमाथि हुने गर्दछ । आयुर्वेदका तलका वचन गम्भीर भएर अध्ययन गरौँ ।

पृथ्वी र जलको सम्मिश्रणबाट गुलियो रस, पृथ्वी र अग्निको सम्मिश्रणबाट अमिलो रस, जल र अग्निको सम्मिश्रणबाट नुनिलो रस, आकाश र वायुको सम्मिश्रणबाट पिरो रस,वायु र अग्निको सम्मिश्रणबाट तितो रस र पृथ्वी र वायुको सम्मिश्रणबाट टर्रो रस उत्पन्न हुन्छ । यसरी दुई–दुई महाभूतको सम्मिश्रणबाट एक–एक वटा रस उत्पन्न हुन्छ ।

विशेषतः पृथ्वीको गह्रौँ, जलको चिल्लो, अग्निको तिखो, वायुको रुखो र आकाशको हलुका गुण हुन्छ । यिनै प्रमुख गुणभित्र अन्य सहायक गुण पनि समाहित भएका हुन्छन् । खाएको पिएको कुरा शरीरभित्र गएर त्यसको मुख्य गुणलाई समाहित गरी अन्य रस बन्ने गर्दछ ।

गुलियो रसले कफ, अमिलोले पित्त र पिरोले वायु बढाउँदछ । आफूलाई स्वस्थ राख्न चाहने मानिसले नियमित मात्रामा सबै रसको सेवन गर्नुपर्दछ । प्रकृति प्रदत्त विभिन्न फलफूल, सागसब्जी र अनाजमार्फत शरीरको पञ्चमहाभूतको उपस्थितिलाई सन्तुलनमा राख्नु पर्दछ । जानी वा नजानी असन्तुलित हुँदा रोग लाग्दछ र रोग लागेपछि पनि त्यसको प्रकृति प्रदत्त कुराले नै उपचार गरिनुपर्दछ । हरेक रोग र त्यसको उपचार प्रकृतिसँग नै छ ।

(यि कुरा आयुर्वेदलाई पृथ्वीमा लेराउने क्रममा विभिन्न पुस्तकमा बताइएका कुराबाट अलिकति निचोरेर पस्केको हुँ । त्यतिबेला पृथ्वीभर अनेक महामारी फैलिई पशु, मानिस र चरा मरिरहेको कुरा उल्लेख गरिएको छ । भगवान् शिवबाट इन्द्रले, इन्द्रबाट अश्विनी कुमार, भरद्वाज आदिले र तिनबाट चरक, सुश्रुत, बाग्भट आदिले आयुर्वेदलाई पृथ्वीमा फिँजाएका विवरण छन् ।)

आयुर्वेद र मानसिक रोग

एक प्रतिशत पनि पढेको छैन जस्तो लाग्दछ । तै पनि आयुर्वेदका बारेमा केही कुरा लेख्न मन लाग्दछ ।

आयुर्वेदमा रोगको विभिन्न किसिमले वर्गीकरण गरिएको छ । त्यसमध्येको एउटा वर्गीकरणमा रोगलाई मानसिक र शारीरिक रोग भनी दुई भाग गरिएको छ ।

इन्द्रीयले गर्ने गतिविधि अर्थात यो खाने, सुन्ने, हेर्ने आदि विषयमा तोकिएका नियम पालना नगर्नाले शारीरिक रोग लाग्दछ । यसका पनि बाहिरी र भित्री गरी दुई कारण हुन्छन् । सबै कुरामा होस गर्दागर्दै पनि पेटीमा हिँडिरहेको मानिसलाई गाडीले आएर हानेजस्तै बाहिरी रोगले आएर हान्न सक्दछ ।

शारीरिक रोगका बारेमा मात्र नभई मानसिक रोगका विषयमा पनि आयुर्वेदले धेरै कुरा लेखेको रहेछ, जसमध्ये केही मूलभूत कुराहरु सेयर गर्दैछु ।

(क) मन र इन्द्रीयको संयोजन गराउन सकिएन भने मानसिक रोग लाग्दछ ।

(ख) यो आन्तरिक, बाह्य, वंशानुगत र पूर्वजन्मको गरी चार किसिमको हुन्छ ।

(ग) मनलाई संयमित बनाउन योग र धर्मबाहेक अरू कुनै पनि उपायले सम्भव हुँदैन ।

(घ) शरीरमा रोग लागेर अशान्त भए त्यसको उपचार विभिन्न ओखती, चिरफार आदिबाट हुन्छ । तर, मानसिक सोचको उपचार, योग र धर्मको संयुक्त प्रयासबाट मात्र सम्भव हुन्छ ।

(ङ) वंशाणुगत र पूर्वजन्मको भागभोग बाहेकको मानसिक रोग इन्द्रीय असन्तुष्ट हुनाले नै लाग्ने गर्दछ । यस्तो मानसिक रोग योग र धर्मका माध्यमबाट ठिक गर्न सकिन्छ ।

(च) अर्थात् धर्मको जन्मको भौतिक कारण मानवलाई निरोगी बनाउनु नै रहेको हुन्छ । यसैले मन हुने हरेक मानवमा धर्म हुन्छ । मन नभएको मानिस हुँदैन त्यसैले संसारमा कोही नास्तिक पनि हुँदैन । अमुक धर्मको अन्ध समर्थन वा अन्ध विरोध वा तटस्थता वा नास्तिकता आदिजस्ता कुरा सबै ढोंग वा भ्रम मात्र हुन् ।

(छ) धर्म विश्वासमा टिकेको हुन्छ । राम्रो नराम्रो जे भए पनि यसको परिणामलाई मापन गर्न सकिन्न अनुभव मात्र गर्न सकिन्छ । किनकी कसैको मनको शान्ति वा अशान्तिलाई कहिल्यै नाप्न सकिन्न, भाव हेरेर भावमार्फत नै बुझ्नुपर्ने हुन्छ । भाव प्रमाणित गर्न सकिन्न त्यसैले भावनामा आश्रित धर्मलाई पनि प्रमाणित गर्न सकिन्न ।

(ज) संसारको कुनै पदार्थ धर्ममा टिकेको हुन्छ, यसलाई अर्को शब्दमा सत्य भनिन्छ । आश्रितले धर्म छाडे आश्रय दाताले पनि छाड्दछ । जस्तै ः मानिसले धर्म छाडे पृथ्वीले पनि धर्म छाडेर मानिसलाई तह लगाउँदछ । पृथ्वीले धर्म छाडे सूर्यले पनि धर्म छोड्दछ र पृथ्वीलाई तह लगाउँदछ । यो नियम ‘आब्रस्तम्बपर्यन्त (ब्रह्मादेखि घाँससम्म)’ ब्रह्माण्डका हरेक पदार्थ र हरेक सृष्टिमा लागू हुन्छ ।

सात्म्य र आयुर्वेद

हिन्दू शास्त्रअनुसार यो संसारका सबै जीव महर्षि कश्यपकै सन्तान हुन् । मानव पनि यिनै जीवमध्येको एक हो । उनी भन्छन्ः

खाँदा र पिउँदा (आहार) वा घुमफिर र काम गर्दा (विहार)ः

(क) स्थान हेरेर गर्नू (देश) ः चिसो र गर्मी स्थानमा बस्ने व्यक्तिका लागि समान नियम कुनै पनि प्रयोजनका लागि हुँदैन । कर्मभूमि (आर्यावर्त) र भोगभूमी (अन्य देश) मा एउटै नियम लगाउन नखोज्नू ।

(ख) समय हेरेर गर्नू (काल) ः वैद्यलाई देखाउन (अस्पताल लैजान) हतार भएका विरामीलाई साइत कुरेर नबस्नू । प्राकृतिक रूपमा जतिसुकै स्वस्थ भएका खानपिन वा वातावरण पनि समय परिस्थितिले अस्वस्थ पारिदिएको हुन सक्दछ । सूर्य वा चन्द्रमाको शक्ति कमजोर भएका बेलामा (दुवै सन्ध्यामा वा ग्रहणमा) ध्यान र पूजापाठ बाहेकका कुनै पनि कर्म नगर्नू ।

(ग) ऋतु अनुसारका आचरण गर्नू ः गर्मी महिनामा ताता र जाडो महिनामा चिसा कुराबाट शरीरलाई जोगाउनू ।

शरीरले जे कुरा सहँदैन त्यसको प्रारम्भिक सूचना पहिले नै दिन्छ । हाच्छिउँ आउनु, रुघा लाग्नु, सामान्य जरो आउनु, दिसा लाग्नु, टाउको दुख्नु, झुँगी लाग्नु, अत्यधिक हाई आउनु, बाडुली धेरै आउनु, चक्कर लाग्नु आदि शरीरले केही कुरा नसहेका लक्षण हुन् । एउटै खानपिन वा आचरण पनि कसैको शरीरले सहन सक्दछ त कसैको शरीरले सहन सक्दैन । शरीरले सहने खालका खानपिन वा आचरणलाई ‘सात्म्य’ भनिन्छ ।

सात्म्यले शरीरका के के कुरालाई नियन्त्रण गर्दछ ?

(क) निरोगिता ः मानिस सात्म्य खानपिन र आचरण गर्दछ कि गर्दैन त्यसै अनुसार यसको शरीर रोगी अथवा निरोगी हुने गर्दछ ।

(ख) उन्नतिप्रगति ः सात्म्यले नै मानिसको उन्नति वा अवन्नतिमा प्रमुख भूमिका खेलिरहेको हुन्छ ।

(ग) मानिसले पाउने सन्तुष्टि पनि सात्म्यको अधिनमा हुन्छ ।

(घ) शरीरका हरेक अंग सात्म्य भए प्रसन्न र नभए अप्रसन्न हुने गर्दछन् ।

(ङ) जसको स्वर, वीर्य वा रज र शरीरको वर्णमा कुनै समस्या देखिन्छ, त्यसले सात्म्य आहारविहार गरिरहेको छैन भनी जान्नू ।

(च) दिमागको ग्रहण गर्ने क्षमता र मैथुन आदिबाट हुने चरम आनन्दसमेत सात्म्यका नियन्त्रण हुने गर्दछन् ।

अतः मानिसले आफ्नो शरीरले सहने किसिमका खानपिन र आचरण गर्नू । ‘यति खाँदा वा पिउँदा वा गर्दा के नै फरक पर्ला र ?’ भन्दै पेलेर शरीरलाई दुःख नदिनू । शरीरलाई हरदम नियमानुसार सक्रिय राख्नू तर नखियाउनू ।

प्रतिक्रिया